भर्खरै :

नेक्राविसङ्घको केन्द्रीय अध्यक्षमा प्रकाश गुरुङ निर्वाचित

काठमाडौँ, चैत २० । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध गरौँ, समाजवादी शिक्षा व्यवस्थाको निम्ति सङ्घर्ष गरौँ भन्ने मूल नाराका साथ सम्पन्न नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको तेह्रौँ राष्ट्रिय सम्मेलनले सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरुङको अध्यक्षतामा २६ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।
सम्मेलनको बन्द सत्रको अन्तिम दिन प्रतिनिधि एवम् पर्यवेक्षकहरूलाई प्रशिक्षण दिँदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विद्यार्थीहरू आफ्नो जीवनको उद्देश्यमा स्पष्ट हुनुपर्ने बताउनुभयो । व्यक्तिलाई फाइदा हुनेभन्दा पनि समाजलाई फाइदा हुने कार्यमा व्यापक दृष्टिकोणका साथ समर्पित हुनुपर्ने र निरन्तर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “व्यक्ति गौण हो, समाज महत्वपूर्ण हो ।”
सङ्गठनमा काम गर्ने विद्यार्थीहरूमा अनुशासित र सहयोगी भावना हुनुपर्नेमा जोड दिँदै उहाँले समय परिस्थितिसँगै व्यापक हितको निम्ति आफ्ना दैनिक काममा फेरबदल गर्नुपर्ने हुनाले विद्यार्थीहरू हरेक परिस्थितिको लागि तम्तयार रहनुपर्ने बताउनुभयो । यसका लागि विद्यार्थीहरूले विषयवस्तुमा दखल राख्न, भाषाको ज्ञान राख्न र कुनै न कुनै विषयमा विज्ञता हासिल गर्न अध्यक्ष रोहितले मार्गदर्शन गर्नुभयो ।
उहाँले एक योग्य कार्यकर्ताले सबै भाषाभाषी र कला संस्कृतिलाई समान महत्व दिनुपर्ने बताउनुभयो । कार्यक्रममा अध्यक्ष रोहितले विद्यार्थीहरूले युक्रेन युद्ध, तिब्बत समस्या, नेमकिपाका उपलब्धि र भविष्यबारे सोधेका जिज्ञासाहरूको उत्तर दिनुभएको थियो ।
बन्द सत्रमा नेक्राविसङ्घका पूर्व केन्द्रीय अध्यक्ष रवीन्द्र ज्याख्वले आफ्नो साङ्गठनिक अनुभवबारे चर्चा गर्नुभयो । बन्द सत्रमा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाइँको अध्यक्षतामा तीन सदस्यीय अध्यक्ष मण्डल गठन भएको थियो । केन्द्रीय सदस्य गोसाइँले नेक्राविसङ्घका विभिन्न सम्मेलनहरूबारे आफ्ना अनुभवहरू राख्नुभयो । उहाँले केन्द्रीय समितिबाट बिदा लिने नेतृत्वकर्ताहरूले पार्टीका अन्य जिम्मेवारीहरू सम्हाल्ने बताउनुभयो । बन्द सत्र नेक्राविसङ्घका पूर्व केन्द्रीय सदस्य सविन ख्याजुले सञ्चालन गर्नुभएको थियो ।
बन्द सत्रमा नेक्राविसङ्घ मातहतका विभिन्न जिल्ला समितिका प्रतिवेदनसहित तयारी समितिको प्रतिवेदन पारित गरिएको थियो । सम्मेलनले १२ बुँदे राष्ट्रिय, ७ बुँदे अन्तर्राष्ट्रिय, ७ बुँदे शैक्षिक प्रस्ताव र ६ बुँदे भावी नीति तथा कार्यक्रम संशोधनसहित पारित गरेको थियो । सम्मेलनले नेक्राविसङ्घको विधान – २०३९ मा समयानुकूल संशोधन गरेको छ । सम्मेलनमा प्रतिनिधि र पर्यवेक्षकहरूले समाजवादी शिक्षाबारे अध्ययन सामग्रीहरू र समयसान्दर्भिक प्रश्नहरूबारे समूहगत छलफल गरी समूह नेताहरूले प्रस्तुतिहरू राखेका थिए ।
बन्द सत्रलगत्तै बसेको नेक्राविसङ्घको नवनिर्वाचित केन्द्रीय समितिले ९ सदस्यीय सचिव मण्डल गरेको छ । साथै आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्ण अतिथि, बुद्धिजीवी, अग्रज, पूर्वविद्यार्थी कार्यकर्ता, पार्टी र जनवर्गीय सङ्गठनका नेता तथा कार्यकर्ता, समर्थक, शुभचिन्तक, शिक्षक, विद्यार्थी, पत्रकार, सञ्चारकर्मी, सुरक्षाकर्मी, व्यवसायी, सङ्घसंस्थालाई धन्यवाद ज्ञापन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *