भर्खरै :

सार्वजनिक यात्रुबाहक यातायातमा १० प्रतिशत भाडावृद्धि

काठमाडौँ, २० चैत । सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामो दूरीका यात्रुबाहक र मालबाहक सवारी साधनको यातायात भाडादरमा १० देखि १५ प्रतिशतसम्म वृद्धि गरेको छ ।
पेट्रोलिमय पदार्थमा भएको मूल्य वृद्धिका कारण सरकारले स्वचालित भाडा निर्धारणको अवधारणाअनुरूप भाडादर वृद्धिका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो । यातायात व्यवस्था विभागका अनुसार, यात्रुवाहक सवारीमा १०, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १३ र तराईमा सञ्चालन हुने मालवाहक सवारी साधनमा १५ प्रतिशतले भाडा वृद्धि गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेतको सहमतिका आधारमा आइतबारदेखि लागु हुने गरी दुई वा दुईभन्दा प्रदेश भई सञ्चालन हुने सार्वजनिक यातायात भाडादर समायोजन गरिएको विभागको सूचनामा उल्लेख छ ।
पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा इन्धनको बजार मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालितरूपमा अन्तरप्रदेश सार्वजनिक यातायातको भाडादर बढ्ने वा घट्ने व्यवस्था लागु गरिएको छ ।
विभागद्वारा जारी सूचनामा छोटो, मध्यम र लामो दूरीका अन्तरप्रदेश रुटमा कायम गरिएको सार्वजनिक यातायातका भाडादर, रुटको नाम, दूरी, साविकको भाडादर र लागु गरिएको भाडादरको सूची समावेश गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *