भर्खरै :

पुस्तक संस्कृति बढावा दिन पुस्तक प्रदर्शनी

(आरम्भ समूहको आयोजनामा सोमबारबाट भक्तपुरको लामगालमा तीनदिने पुस्तक प्रदर्शनी हुँदै छ । प्रदर्शनीको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले गर्नुहुने आयोजकले बताएको छ । विभिन्न प्रकाशकका पुस्तक प्रदर्शनका साथै विभिन्न अन्य रचनात्मक गतिविधि पनि हुने कार्यक्रमको तयारीबारे पुस्तक प्रदर्शनी तयारी समितिका संयोजक लक्ष्मीप्रसाद चवालसँग लिइएको अन्तर्वार्ता प्रस्तुत छः)
आरम्भ नेपालको परिचय दिनुहोस् ।
– हरेक कुरा नयाँ ढङ्ग र सिर्जनशील सकारात्मक सोचका साथ समाजमा अघि बढ्न र त्यसलाई पूर्ति गर्ने प्रयास नै आरम्भ नेपाल हो, यो सामाजिक उत्तरदायित्व पनि हो । युवाहरूलाई स्थानीय स्रोत–साधन प्रयोग गरी विभिन्न सीपमूलक तालिमहरू दिई दक्ष र आत्मनिभर बनाउने सोचलाई सार्थक बनाउन नै आरम्भ नेपालले आरम्भ गरेको हो । यो २०७६ पुस ९ गते दर्ता भएको हो ।
 आरम्भका विगतका कार्यक्रमहरू के कस्ता थिए ?
– आरम्भ नेपालले सर्वप्रथम आधारभूत फोटोग्राफी तालिम सञ्चालन गरेको थियो । त्यससछि २०७६ सालमा पहिलो पटक तीनदिने आरम्भ पुस्तक प्रदर्शनी गरियो । घर–जग्गा नाप जाँच र टोनर रिफिलिङ्ग तालिमका साथै पुस्तक समीक्षा, अन्तरक्रिया र प्रस्तावना लेखन कार्यशाला पनि गरियो ।
 पुस्तक प्रदर्शनी नै किन ?
– समाजका अनेक सोच, दृष्टि, विज्ञका विचार यावत कुरा पुस्तकमा पाइन्छ । मानिसको दृष्टिकोण फराकिलो पार्न, ज्ञानका क्षितिज बढाउन पुस्तक प्रदर्शनी आयोजना गरिएको हो । पुस्तक प्रदर्शनीले पुस्तक संस्कृतिको विकासमा टेवा पु¥याउँछ । भाषा, साहित्य, संस्कृति तथा अन्य विभिन्न पक्षबारे जानकारी दिन या अध्ययनको विकास गर्न पुस्तक प्रदर्शनीको खाँचो हुन्छ ।
 पुस्तक प्रदर्शनीबाहेक प्रदर्शनीमा अरू के के कार्यक्रमहरू हुन्छन् ?
– पुस्तक प्रदर्शनीबाहेक चैत १७ गते काठमाडौँ उपत्यकामा रहेका चित्रकलाका कलाकारहरूले क्यानभासमा भक्तपुरलाई समेट्ने प्रयास गरे । सामाजिक, राजनैतिक, विकृति–विसङ्गतिविरूद्व सञ्चारमाध्यममा छापिएका कार्टुनहरूको प्रदर्शन हुनेछ, नवदुर्गाको मुकुन्दो प्रदर्शन, नाटक मञ्चन तथा भक्तपुरका पुराना फोटोहरूको प्रदर्शनी हुनेछ । देशमा तरङ्गित ख्वप मोडलबारे वार्ता हुनेछ । प्रदर्शनी स्थलमा नेवारी खाजा हुनेछ । प्रत्येक साँझ साहित्यिक साँझ हुनेछ ।
प्रदर्शनीका विशेषताहरू केके हुन् ?
– सर्वसाधारणलगायत हरेक व्यक्तिले प्रदर्शनी अवलोकन निःशुल्क गर्न पाउनेछन् ।
– सामूहिक वार्ता र छलफलमा सहभागी हुन पाउनेछन् ।
– पुस्तकसम्बन्धी अवलोकनकर्ताहरूलाई प्रश्न सोधिनेछ र सही उत्तर दिनेहरूलाई पुरस्कारको बन्दोबस्त हुनेछ ।
– कलाकारहरूको कला, विज्ञहरूका विचार सुन्न र हेर्न पाउनेछन् ।
आरम्भ पुस्तक प्रदर्शनी २०७८ को अवसरमा यो वर्ष दुईवटा किताबको विमोचन हुनेछ । एक, ‘दामोदर सुवालका सय कार्टुन’ र दोस्रो, पुण्यराम कवांका ‘ह्युपा निति’ नेपालभाषा कवितासङ्ग्रह ।
प्रदर्शनीले पुस्तकका पाठकहरूको सङ्ख्या कसरी बढ्छ ?
– कुनै पनि व्यक्तिले हरेक दिन लाउन लुगा कोही कसैसँग मागेर लगाउँदैन । विशेष दिन र फरक समयमा लगाउन हरेक व्यक्तिसँग फरक–फरक लुगा हुन्छन् । पुस्तक मेला प्रदर्शनी ठाउँठाउँमा गरेपछि स्वतः पाठकहरू बढ्नेछन् । अध्ययन संस्कृतिको स्तर माथि उठ्ने हाम्रो विश्वास छ ।
पुस्तकबाहेक अरू कुनै संस्थाहरू सहभागी हुँदै छन् कि ?
– ‘स्याटर डे प्लेन एयर ग्रुप, शिल्पी थिएटर र नेपाली हस्तकला पनि सहभागी हुनेछन् ।
पुस्तक बिक्रीमा छुटको व्यवस्था के छ ?
– प्रदर्शनीमा बजार मूल्त्र्न्दा सस्तोमा पुस्तक पाउनुहुनेछ ।
 कार्यक्रम गर्न आर्थिक स्रोत कसरी व्यवस्था गर्नुहुन्छ ?
– एउटा उखान छ, ‘जनताबाट सिक र जनतालाई देऊ’ । सत्कर्म गरे जनता तपाईँ हाम्रो साथमा हुनेछन् । कोरोना महामारीको बेला भक्तपुर नगरपालिकाको आह्वानमा अक्सिजन प्लान्ट स्थापनाको लागि ६ करोड रुपियाँभन्दा बढी रकम नेपाललगायत विदेशमा बस्ने नेपालीहरूले सहयोग गरेका थिए । हामी यहीँका जनातामा आश्रित छौँ । आर्थिकरूपमा सहयोगी संस्थाहरू गोर्खा इको प्यानल, अरनिको कन्सल्टान्ट, प्राविधिक सहयोगमा शुभ कम्प्युटर, सञ्चार सहयोगीहरूमा भक्तपुर एफ.एम., जनसञ्चार टीभी तथा एफ.एम., भादगाउँ टेलिभिजनका साथै साहित्य पोस्ट संस्थाहरू रहेका छन् ।
केही भन्नैपर्ने कुराहरू छन् कि ?
– आरम्भ पुस्तक प्रदर्शनीमा सहभागी हुनुहोस्, अवलोकन गर्नुहोस्, कमी कमजोरी हामीलाई बताउनुहोस्, राम्रा कुराहरू साथी र छरछिमेकमा भन्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *