बलले विचारलाई दबाउन नसकिने
- बैशाख २७, २०८३
यो वर्ष (२०७८) वागीश्वरी कलेज बीबीएसका विद्यार्थी बबिता ग्वाछा नेपाल प्रथम भइन् । त्यस्तै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङ सिभिलका विद्यार्थी त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विद्यार्थीहरूमध्ये नेपाल प्रथम भए । ख्वप इन्जिनियरिङ कलेजलाई पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ११७ वटा कलेजहरूमध्ये उत्कृष्ट ठहर भएपछि पूर्वाञ्चल विश्वविद्यालयको रजत जयन्तीको अवसरमा पुरस्कृत गरियो । कलेजहरूसँगै भक्तपुरमा सञ्चालित अधिकांश सामुदायिक विद्यालयहरूको शैक्षिकस्तरमा पनि विगतको तुलनामा निकै सुुधार भएको छ । शैक्षिक स्थिति आजको अवस्थासम्म ल्याई पु¥याउन यहाँका अगुवाहरूको महत्वपूर्ण योगदान छ । उहाँहरूले शिक्षाको विकासको लागि निकै चुनौतीको सामना गर्नुप¥यो तर हरेश खानुभएन । २०३६÷०३७ सालसम्म भक्तपुरको शिक्षा निकै कमजोर अवस्थामा थियो । त्यसबेला चोरेर पास गर्नुलाई सामान्य मानिन्थ्यो. विद्यार्थीहरू पास गराउन एसएलसीमा आफन्तहरू गार्ड बस्थे । परीक्षा दिनेलाई सहयोग गर्नेको समूह नै हुन्थ्यो । परीक्षा नाउँ मात्रको हुने गथ्र्यो । शिक्षकहरू पनि कक्षामा राम्रो पढाउनुभन्दा विद्यार्थीहरूलाई एसएलसीमा चोरेर पास गर्ने तरिका सिकाउँथे । राम्रो पढाउने र पढ्ने भन्ने भावना त्यति थिएन ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) २०३६ सालमा १० वर्षको भारत प्रवासबाट नेपाल फर्किनुभयो । उहाँले शिक्षकहरूको बैठक राखेर शिक्षामा सुधार ल्याउने प्रयास गर्नुभयो । चोरेर पास गर्ने प्रवृत्तिको चर्को आलोचना गर्नुभयो । ‘चिट चोराएर विद्यार्थीहरूलाई पास गर्नुको अर्थ विद्यार्थीको जीवन बर्बाद गर्नु हो, त्यो एकप्रकारको अपराध हो’ भनेर शिक्षकहरूलाई सम्झाउनुभयो । कतिपय शिक्षकहरूले उहाँको सल्लाह, सुझाव वा निर्देशनलाई त्यतिबेला राम्रो मानेका थिएनन् । बिस्तारै पढाइमा सुधार आउन थाल्यो । झण्डै एक दशक लामो प्रयासपछि भक्तपुर नगरभित्रका विद्यालयहरूमा चोरी गर्ने काम प्रायः समाप्त भयो । विद्यालयहरूबीच गुणस्तरीय शिक्षाको लागि प्रतिस्पर्धा चल्न थाल्यो । आजको गुणस्तरीय शिक्षा त्यसैको परिणाम हो ।
२०५६ सालमा का. नारायणमान बिजुक्छेँ (रोहित) ले एउटा विशेष कार्यक्रममार्फत १५ वर्षभित्र भक्तपुरमा एक घर एक स्नातक बनाउने घोषणा गर्नुभयो । शिक्षामा अत्यन्त पछाडि परेको भक्तपुरमा १५ वर्षभित्र एक घर एक स्नातक बनाउने कुरा सुनेर धेरैले आश्चर्य व्यक्त गरे । आफूलाई विद्वान ठान्ने कतिपय प्राध्यापकहरूले एक घर एक स्नातक कार्यक्रमलाई महत्वाकाङ्क्षी योजना, असम्भव र चर्चामा आउनकै लागि गरिएको घोषणा भनी सार्वजनिक रूपमा आलोचनासमेत गरे । त्यतिबेला भक्तपुर क्याम्पसबाहेक अन्य क्याम्पसहरू थिएनन् । विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्न काठमाडौँ जानुपर्ने बाध्यता थियो । त्यस्तो बेला भक्तपुरमा एक घर एक स्नातकको नारा सार्थक बनाउनु कम चुनौतीपूर्ण थिएन । नेपाल मजदुर किसान पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले त्यसको अगुवाइ गर्नुभयो । २०५६ सालमा भक्तपुर नगरपालिकाले ख्वप उच्च मावि (हाल मावि) स्थापना ग¥यो । २०५८ सालमा ख्वप कलेज र ख्वप इन्जिनियरिङ कलेज, २०६०।०६१ सालमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान र २०६५ सालमा ख्वप कलेज अफ इन्जिनियरिङ कलेजको स्थापना तथा त्यसपछि शारदा कलेज र मावि गरी नगरपालिकाबाट हाल ७ वटा शैक्षिक संस्थाहरू सञ्चालित छन् । नगरपालिकाद्वारा सञ्चालित ती शैक्षिक संस्थाहरूमा मात्र अहिले ७२ जिल्लाका ७ हजारभन्दा बढी विद्र्यीर्थीहरू अध्ययनरत छन् भने मनाङबाहेक सबै जिल्लाका केही न केही विद्यार्थीहरूले भनपाद्वारा सञ्चालित कलेजहरूबाट अध्ययन पूरा गरिसकेका छन् । दुई वटा इञ्जिनियरिङ कलेजबाटमात्रै भक्तपुर नगरपालिकाभित्र करिब १२०० जनाले पढाइ पूरा गरिसकेका छन् । १० वटा वडा भएको भक्तपुर नगरमा औसतमा एउटा वडामा १२० जना इञ्जिनियर भएको दाबी गर्न सकिन्छ । अहिले भक्तपुर विभिन्न जिल्लाका विद्यार्थीहरूको शैक्षिक गन्तव्य बन्दै गएको छ । यो राजनैतिक नेतृत्वको सोच र चिन्तनबाट आएको परिवर्तन हो । नेतृत्वमा बस्नेहरूले सुधार गर्न चाहेमा समाज परिवर्तन गर्न कुनै गाह्रो छैन भन्ने एक उदाहरण हो भक्तपुर ।
का. बुद्धिकुमार गोसाईले भक्तपुरका विभिन्न विद्यालयहरू स्थापना गर्न महत्वपूर्ण योगदान गर्नुभयो । उहाँहरूको योगदानले अहिले शैक्षिक क्षेत्रमा भक्तपुर नेपालको अगाडि बढेको ठाउँको रूपमा परिचित भएको छ । अहिले भक्तपुर नगरभित्र एक दर्जनभन्दा बढी कलेज सञ्चालनमा छन् । भक्तपुरबासीहरूमात्रै होइन देशका विभिन्न जिल्लाका विद्यार्थीहरूले भक्तपुरमा उच्च शिक्षा हासिल गर्ने अवसर पाएका छन् । विभिन्न विषयमा स्नातक र स्नातकोत्तर शिक्षाको लागि भक्तपुरमै सम्भव भएको छ । सस्तो र गुणस्तरीय शिक्षा अहिले भक्तपुरको विशेषता बनेको छ । नेपाल सरकारले ख्वप विश्वविद्यालय विधेयक स्वीकृत गरेको अवस्थामा मेडिकल कलेज स्थापना गरी सस्तोमा गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्ने नगरपालिकाले लक्ष्य लिएको छ । ढिलो या चाँडो त्यो पनि पूरा हुने आशाका साथ भक्तपुर नगरपालिकाले काम गरिरहेको छ ।
भक्तपुर नगरमा अहिले ९२ वटा विद्यालयहरू सञ्चालनमा छन् । ३५ वटा सामुदायिक र बाँकी निजी छन् । कक्षा १ देखि १० सम्म कूल २३,३३७ जना विद्यार्थीहरू र कक्षा ११ र १२ मा गरी ३,०७८ गरी कूल २६,४१४ विद्यार्थीहरू अध्ययनरत छन् । त्यसैगरी नगरभित्र सञ्चालित ६ वटा कलेजमा कूल ७,३९८ विद्यार्थीहरू अध्ययनरत छन् ।
विद्यालय शिक्षाको स्तर विकासको लागि कक्षा ५ र ८ का विद्यार्थीहरूको पनि नगरस्तरीय परीक्षाको बन्दोबस्त गरिएको छ । भक्तपुर नगरपालिकाले आर्थिक रूपले कमजोर नगरबासी कुनै पनि विद्यार्थी उच्च शिक्षाबाट वञ्चित नहोस् भनी रु. ५ लाखसम्म शैक्षिक ऋणको व्यवस्था गर्दै आएको छ भने नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा गरिब तथा जेहनदार विद्यार्थीको लागि वार्षिक करोडौँको छात्रवृत्तिको व्यवस्था पनि गर्दै आएको छ । विद्यालयको भौतिक सुधारको लागि आवश्यक अनुदानको व्यवस्था गर्दै स्थानीय विषयमा पठनपाठनको लागि स्थानीय पाठ्यक्रमको व्यवस्था गरिएको छ । इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषा पढ्ने विद्यार्थीहरूको लागि उच्च शिक्षा पढ्न पूर्ण छात्रवृत्ति व्यवस्था गरिएको छ । जनतामा यसको सकारात्मक प्रभाव परेको पाइएको छ ।
कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्क्रम बनाई लागू गर्ने भक्तपुर नै पहिलो नगरपालिका हो । स्थानीय पाठ्यक्रममा भक्तपुरको सांस्कृतिक, ऐतिहासिक महत्वका सम्पदाहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको जीवनी, स्थानीय खेल, संस्कृति आदिबारे विद्यार्थीहरूलाई जानकारी दिने प्रयास गरिएको छ ।
सामुदायिक र निजी विद्यालयहरूबीच आपसी प्रतिस्पर्धा, गुणस्तरमा समानता ल्याउने प्रयत्न गरिएको छ । कतिपय अभिभावकहरू केही वर्ष पहिलेसम्म आफ्नो सन्तान सामुदायिक विद्यालयहरूमा पढाएको भन्न लजाउँथे र निजी विद्यालयमा पढाउन सकेकोमा गर्व गर्थे । अब क्रमशः त्यो स्थितिमा कमी आएको छ । सामुदायिक विद्यालय र कलेजहरूको शैक्षिक गुणस्तर राम्रो भए किन धेरै पैसा तिरेर आफ्नो सन्तानलाई निजी विद्यालयमा भर्ना गर्छन् ?
केही वर्षअघिको कुरा हो, ललितपुरको नाम चलेको एक निजी विद्यालयका प्रिन्सिपल हामीलाई भेट्न आउनुभयो । शिक्षाको बारेमा लामो छलफल भयो । उहाँले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर नभएको कुरा बारम्बार दोहो¥याउनुभयो । हामीले भक्तपुरका अधिकांश सामुदायिक विद्यालयहरूको शैक्षिकस्तर राम्रो भएको बतायौँ तर उहाँले हाम्रो कुरामा विश्वास गर्नुभएन । उहाँले आफ्नो विद्यालयमा मासिक ६ हजारमात्र लिएर पनि अत्यन्त गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो । उहाँले विद्यालय हेर्ने नै चाहना व्यक्त गर्नुभयो । हामी सिधैँ वागीश्वरी माविमा पुग्यौँ । स्कुलका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापति भेट भयो । गेटमा भेट्ने बित्तिकै उहाँ प्रिन्सिपलले कति विद्यार्थी पढ्छन् भनी सोध्नुभयो । ज्ञानसागर प्रजापतिले ३३०० भनेर सहजरूपमा उत्तर दिनुभयो । उहाँले सरकारी विद्यालय नै हो भनेर पटक पटक सोध्नुभयो । सबै कक्षाहरू हेर्नुभयो र आश्चर्य मान्दै भन्नुभयो, भक्तपुरमा यस्तो पनि सामुदायिक विद्यालय होलान् भनी सोचेको पनि थिइनँ । उहाँले आफ्नो विद्यालयमार्फत शिक्षकहरूलाई तालिम दिने बचन दिनुभयो । वागीश्वरीका शिक्षकहरूलाई एक प्याकेज तालिमको व्यवस्था गर्नुभयो । भक्तपुरका सामुदायिक विद्यालय र कलेजबाट उत्कृष्ट शिक्षा प्रदान गर्न सफल हुँदै आएको छ । अझ यसलाई अगाडि बढाउनु शिक्षक, कर्मचारी, अविभावक, विद्यार्थी र स्थानीय तह सबैको जिम्मेवारी हो ।
भक्तपुरको शैक्षिक व्यवस्था बुझ्न र अध्ययन गर्न देशका विभिन्न नगरपालिकाका प्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधिहरू निरन्तर आइरहनुभएको छ र त्यो क्रम जारी छ । यहाँको शैक्षिक गुणस्तर, शिक्षक साथीहरू र विद्यार्थीको अनुशासन देखेर धेरै प्रभावित भएको पाएका छौँ । भक्तपुरको शिक्षालाई मोडलको रूपमा लिएर विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरूले आ–आफ्नो पालिकामा पनि यस्तै प्रकारका कलेजहरू बनाउने बताउनुहुन्छ र कतिपयले सञ्चालन थालिसकेको पनि जानकारी हामीले पाएका छौँ । देशका विभिन्न पालिकाका जनप्रतिनिधिहरूलाई पनि शिक्षामा नमुना प्रस्तुत गर्न सक्नु हामी सबैको खुशीको कुरा हो ।
(प्रजापति भक्तपुर नपाका प्रमुख तथा बागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ ।)
वागीश्वरी स्मारिका २०७८ बाट
Leave a Reply