बलले विचारलाई दबाउन नसकिने
- बैशाख २७, २०८३
रामेछाप जिल्लाको ठोसे बजारमा रहेको शारदा माध्यमिक विद्यालय जिल्लाकै पुरानो विद्यालयमध्ये एक हो । त्यसबेला जिल्लाभरिमै ३ ओटामात्रै माध्यमिक विद्यालयहरू थिए । सदरमुकाम रामेछाप, ठोसे बजार र साघुँटारमा । म ठोसे बजारको शारदा माध्यमिक विद्यालयमा पढ्थेँ । २०३४ सालदेखि मैले अध्यापन गर्न थालेँ । प्रवेशिका परीक्षा दिएर २०३५ भाद्र महिनामा मैले सोही विद्यालयमा अस्थायी नियुक्ति पाएँ ।
हाम्रो विद्यालयमा कुनै कक्षामा कोही शिक्षक अनुपस्थित भएमा कक्षा खाली राखिँदैनथ्यो, बरु माथिल्लो कक्षाका विद्यार्थीहरूद्वारा तल्लो कक्षाका विद्यार्थीहरूलाई पढाउने गरिन्थ्यो । मलाई पहिलेदेखि बालबालिकाहरूलाई सिकाउन–पढाउन रमाइलो लाग्थ्यो । त्यही भएर ९–१० कक्षामा पढ्दा नै मैले तल्ला कक्षाहरूमा गएर पढाउने गरेकी थिएँ । त्यसैले पहिलो पटक शिक्षकको रूपमा काम गर्दा मलाई गा¥हो अनुभव भएन ।
करिब ४ वर्ष शारदा माविमा अध्यापन गरेपछि २०४१ साल चैत महिनामा भक्तपुरस्थित वागीश्वरी माध्यमिक विद्यालयमा म सरुवा भएर आएँ । २०४१ सालदेखि २०७७ सालसम्म निरन्तर मैले वागीश्वरी स्कूलमै अध्यापन गरेँ । सुरुमा अध्यापनको क्रममा भाषाका कारण मैले कठिनाइ महसुस गरेकी थिएँ । गाउँको विद्यालयमा अध्ययन–अध्यापन गरेकोले मलाई पढाउन सहज लाग्थ्यो । भक्तपुरमा भने विद्यार्थीहरूसँगको संवाद, उनीहरूलाई पढाउने–सम्झाउने माध्यम नेपालभाषा थियो । ठोसेमा नेपालभाषा बोले पनि त्यहाँको र भक्तपुरको नेपालभाषामा भएको भिन्नताले गर्र्दा पढाउने क्रममा मलाई निकै गा¥हो भएको थियो । बिस्तारै बानी पर्दै गयो, मैले पनि सिक्दै गएँ र विद्यार्थीहरूसँगको अन्तरक्रिया सहज बन्दै गयो । यस विद्यालयमा कार्यरत रहँदा विद्यार्थीहरूलाई सिकाउनुका साथै म आफैले पनि धेरै कुराहरू सिक्ने अवसर प्राप्त गरेँ । एक हिसाबले यो विद्यालय मेरो अध्ययन केन्द्र नै बन्यो । त्यसैले सिक्ने र सिकाउने क्रम निरन्तर चलिरह्यो । त्यसैले एक शिक्षकले पनि आफ्ना विद्यार्थीहरूबाट धेरै कुरा सिक्न सक्छन् । शिक्षक र विद्यार्थी एक–अर्काका अभिन्न अङ्ग हुन् । यी दुईको मिलनबाट नै नयाँ नयाँ कुराको सिर्जना हुन्छ ।
२०४१ सालमा तत्कालीन नेपाल मजदुर किसान सङ्गठनको सहयोगमा विभिन्न शिक्षक साथीहरूसँगै मैले पनि लक्ष्मण राजवंशी सरको विद्यालय सिद्धार्थ वनस्थलीमा भएको तालिममा सहभागी हुने अवसर प्राप्त गरेँ । तालिममा सिकेको पाठ योजना मेरो लागि नयाँ विषय थियो । मैले सो तालिममा धेरै कुराहरू सिक्न पाएँ । सिकाइ–शिक्षणमा शिक्षाशास्त्रको आवश्यकता र महत्वबारे मैले बुझ्ने मौका पाएँ । यसले गर्दा विद्यार्थीहरूलाई पढाउन अझ सहज भएको मैले महसुस गरेँ । सो तालिमका बेला सिद्धार्थ वनस्थली विद्यालयमा शिक्षकहरूको सङ्ख्यामात्रै सय–डेढसय ह’न्थ्यो र तीमध्ये कतिले एक–अर्कालाई नचिनेको स’न्दा हामीलाई अचम्म लागेको थियो । ‘एउटै संस्थामा काम गर्नेहरूले पनि एक–अर्कालाई नचिन्ने हुन्छ र ?’ भन्ने प्रश्न मनमा थियो । समयक्रममा अहिले हाम्रै वागीश्वरी परिवार पनि निकै ठूलो भइसकेको छ । शिक्षक–कर्मचारीहरू सबैले सबैलाई चिन्न कठिन हुने परिस्थिति आइसकेको छ ।
मैले गाउँ र सहर दुवैतिर अध्यापन गर्दा एउटा कुरा अनुभव गर्न पाएँ । एउटै पाठ्यपुस्तक दुवैतिर पढाउन आफ्नै कठिनाइहरू थिए । जस्तै, त्यतिबेला गाउँमा बिजुली–बत्ती, सडक, ट्राफिक नियम, ट्राफिक चिह्नजस्ता कुराहरू पढाउन निकै गा¥हो हुन्थ्यो । कतिपय अवस्थामा त पढाउने शिक्षकले समेत यी कुराहरू देखेका हुँदैनथे, अनि कसरी विद्यार्थीलाई बुझाउन सक्थे होलान् त ? त्यस्तै यता सहर–बजारका विद्यार्थीलाई बाढी–पहिरो, भूक्षय आदिबारे बुझाउन समस्या हुन्थ्यो । अहिले त विद्युतीय सञ्चार सामग्री, श्रव्य–दृश्य प्रविधिले गर्दा शिक्षण धेरै सहज भएको छ ।
हालको स्थानीय पाठ्यक्रमले विद्यार्थीहरूको चौतर्फी विकासमा मद्दत पु¥याएको छ । आफ्नो पहिचान भुलेर पश्चिमा मुलुक–समाजको सिको गर्ने, भाइबहिनीहरूलाई स्थानीय पाठ्यक्रमले आफ्नो गाउँ–ठाउँको पहिचान, विभिन्न चाडपर्व, रीतिरिवाज, भाषा, त्यसको संरक्षणमा संलग्न ‘सादा जीवन उच्च विचार’ बोकेका स्थानीय व्यक्तित्वहरूको परिचय आदिबारे अध्ययन गराउँदा ती बाल–बालिकाहरूले आफ्नो जन्मथलोलाई माया गर्न सिक्छन्, आफ्नो ठाउँलाई चिन्छन् ।
हरेक शिक्षकहरू आफूले पढाएका विद्यार्थीहरूले जीवनमा राम्रो गरून्, सफलता प्राप्त गरून् भन्ने चाहना राख्छन् । शिक्षकहरूले आफ्नो विद्यार्थी बाल–बालिकाहरूलाई सक्षम, अनुशासित, इमानदार र देशभक्त नागरिक बनाउने आफ्ना दायित्व सम्झन्छन् । आफ्ना विद्यार्थीहरूलाई सरल तरिकाले यी कुराहरू सिकाइन्छ । विद्यार्थीहरूको भविष्य कोर्नमा हामी शिक्षकहरूको भूमिका ठुलो हुन्छ । समय परिस्थितिअनुसार कहिले आमा, कहिले बुबा, कहिले अभिभावक त कहिले मित्र भएर विद्यार्थीहरूलाई सम्झाईबुझाई गर्नुपर्ने हुन्छ । यसो गर्दा विद्यार्थीहरूले आफ्ना कुरा निर्धक्कसँग राख्न सक्छन् । शिक्षकहरूलाई पनि उनीहरूको भावना, परिस्थिति बुझ्न सजिलो हुन्छ । साथसाथै शिक्षक र विद्यार्थीबीच आत्मीयता बढ्छ ।
तर, कुनै–कुनै विद्यार्थीहरूले जानेर नजानेर बिराउँछन् । उनीहरूलाई अनुशासनको दायरामा ल्याउने हाम्रो हरेक कोसिस असफल हुँदा भने निकै दुःख लाग्छ । विद्यालय विद्यार्थीको चौतर्फी विकास गर्ने थलो हो । यहाँ हामी पढाइ सँगसँगै व्यक्तित्व विकास, देशभक्ति भावना, समाजप्रतिको आफ्नो जिम्मेवारीजस्ता कुराहरू पनि सिकाउने गर्छौँ । यसमा हामी शिक्षकहरू सफल पनि भएका छौँ ।
वागीश्वरी मावि हाम्रो गौरव हो । हामी कहीँकतै जाँदा वागीश्वरीको प्रशंसा सुन्न पाउँदा हामीलाई खुसी लाग्छ र आफूले अध्यापन गरेको विद्यालय भनेर गर्वको अनुभूति हुन्छ । तर राम्रो काम, विकास र निःस्वार्थ सेवालाई सहन नसक्ने, हेर्न नसक्ने तत्व पनि यही समाजमा छन् । ती विकासविरोधी तत्वहरू जसरी भए पनि हाम्रो उपलब्धि र कामलाई छिन्न–भिन्न गरी समाप्त पार्ने कार्यमा उद्यत भइरहन्छन् ।
२०४५ सालका घटनाहरू यसका दृष्टान्त हुन् । २०४५ साल भाद्र ९ गते तत्कालीन नेपाल मजदुर किसान सङ्गठन (हाल नेमकिपा) लाई समूल नष्ट गर्ने उद्देश्यले राज्यस्तरको पञ्चायती व्यवस्थाका शासकहरूले राज्यस्तरको षड्यन्त्र बुने । त्यस षड्यन्त्रको जालोमा नेमकिपाका धेरै नेता, कार्यकर्तालाई फसाइए, धेरै गिरफ्तार गरिए । यो षड्यन्त्रबाट वागीश्वरीका शिक्षकहरू पनि अछुतो रहन सकेन । विद्यालयका धेरै शिक्षकहरू गिरफ्तारीबाट बच्न भूमिगत हुनुभयो । यता केही शिक्षकहरूले भने पञ्चे–मण्डलेहरूसँग घाँटी जोडेर विद्यालयमा हालीमुहाली गर्न थाले ।
प्रत्येक दिनजसो विद्यालयमा प्रहरीहरू आएर शिक्षक–विद्यार्थीहरूलाई मानसिक तनाव दिन्थे । यसले विद्यार्थीहरूको पढाइमा असर प¥यो, धेरैको पढाइ बिग्रियो । नयाँ–नयाँ शिक्षकहरू विद्यालयमा आउँथे तर एक हप्ता पनि टिक्न सक्दैनथे । यसरी हप्ता–हप्तामा शिक्षकहरू फेरिरहन्थे । यस्तो अन्योलको अवस्थामा विद्यार्थीहरूले पढ्ने वातावरण नै पाउँदैनथे ।
विद्यालयको आर्थिक कारोबार हात पार्न र आर्थिक काम कारबाहीमा ढलीमली गर्न पञ्चे–मण्डलेहरूले विद्यालयका लेखापाल विश्वराम प्रजापतिलाई विद्यालयबाटै गिरफ्तार गराए । अनि पञ्चे–मण्डले शिक्षकहरू भान्छाकोठामा कुकुर पसेभैmँ विद्यालयको सबै नगद–सम्पत्ति मनोमानी ढङ्गले सिध्याउन थाले । यसरी विद्यालयमा २० महिना पञ्चेहरूले कब्जा गरे । जब देशमा प्रजातन्त्र आयो, तब विद्यालयमा पनि प्रजातन्त्र आयो र मण्डले पञ्चेहरू भागा–भाग भए । विद्यालय पहिलेकै अवस्थामा फर्कियो र बिस्तारै फेरि राम्रो हुँदै गयो । विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक र स्थानीय व्यक्तिहरू सबै मिलेर विद्यालयको उन्नयनका लागि दिन–रात खट्न थाले । यसरी सबै क्षेत्रको निःस्वार्थ र सामूहिक मेहनतको परिणामस्वरूप आज वागीश्वरी माध्यमिक विद्यालय देशकै एउटा नमुना विद्यालय बन्न सफल भएको छ ।
मैले शिक्षक भएर धन नकमाए पनि इज्जत भने कमाएकी छु । अहिले जुनसुकै ठाउँ–सङ्घ–संस्था, अस्पताल, कार्यालय, पसलजस्ता ठाउँमा जाँदा आफूले पढाएका विद्यार्थीहरूसँग मायाले, आत्मीयताले ‘मिस’ भनेर बोल्ने गर्छन् । विद्यार्थीहरूबाट पाइने यो माया, आत्मीयता र शिष्टाचार–यही नै हाम्रो अटल, सबैभन्दा ठूलो धन हो, इज्जत हो र सम्पत्ति हो ।
वागीश्वरी स्मारिका २०७८ बाट
Leave a Reply