नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
२०७२ सालमा सुरू भएको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत हालसम्म २० प्रतिशत नेपालीलाई मात्र समेटिएको छ । स्वास्थ्य बिमा बोर्डको तथ्याङ्कअनुसार हालसम्म ५३ लाख चार हजार २७० जना नेपालीको मात्र स्वास्थ्य बिमा भएको छ । त्यही बीस प्रतिशतको पनि ३९.३९ प्रतिशतले मात्र बीमा सेवा लिएका छन् । बिमा गरेकामध्ये ७० प्रतिशतले मात्र नवीकरण गरेको देखिएको छ । सरकारी निकायले प्रभावकारिताको दाबी गरे पनि तथ्याङ्कले स्वास्थ्य बिमा कार्यक्रमबाट निकै थोरै नेपालीमात्र लाभान्वित भएको देखिन्छ । झन्डै ६ वर्षको अवधिमा भर्खर बीस प्रतिशत र त्यसमा पनि सीमित सङ्ख्याले यो सुविधा उपभोग गरिरहेको तथ्याङ्क खास सुखद् होइन ।
गरिब तथा न्युन आयका नेपालीको निम्ति स्वास्थ्य बिमा सेवा तुलनात्मक रूपमा लाभदायक कार्यक्रम हो । स्वास्थ्य बिमाले तोकिएका स्वास्थ्य सेवा र औषधि निःशुल्क प्रदान गर्दा सर्वसाधारण जनताले अस्पताल जान बगली छाम्नुपर्ने अवस्थाको केही हदसम्म अन्त्य भएको छ । रक्तचाप, मधुमेहजस्ता दीर्घ स्वास्थ्य समस्या भएका व्यक्तिको निम्ति स्वास्थ्य बिमाले सहज बनाएको छ । स्वास्थ्य बिमाकै कारण आज सरकारी र समुदायले सञ्चालन गरेको स्वास्थ्य निकायहरूमा चहलपहल बढेको छ । फलतः स्वास्थ्य सेवा तुलनात्मक रूपमा विस्तार भएको छ ।
तर, स्वास्थ्य बिमाभित्रको अन्तरकथा पनि सुखद् पक्कै छैन । पहिलो कुरा त स्वास्थ्य बिमा कार्यक्रम ६ वर्षको अवधिमा भर्खर बीस प्रतिशत जनतामा पुगेको र तिनमा पनि सीमित सङ्ख्याले मात्र यो सेवा पाउनु सन्तोषजनक होइन । दोस्रो, स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा रहेका स्वास्थ्य केन्द्र र अस्पतालहरूले बिमा सेवावापत सरकारले दिनुपर्ने सुविधा नदिँदा सेवाप्रवाह प्रभावित बनेको छ । स्वास्थ्य निकायले जसोतसो जोहो गरेर स्वास्थ्य बिमामा लगाएको पैसा सरकारले सोधभर्ना समयमै नदिँदा त्यहाँको सेवामा प्रभाव पारेको छ । कतिपय स्वास्थ्य निकायले बिमाअन्तर्गत पाइने औषधि न्यून गुणस्तरको उपलब्ध गराउँदा सेवाग्राहीको स्वास्थ्य अझ खराब बनेको छ ।
नेपालमा राजनीतिक अस्थीरतासँगै आउने गरेको नीतिगत अस्थीरताको कारण पनि स्वास्थ्य बिमा कार्यक्रम प्रभावित छ । शासक दलहरू आफू सरकारमा छँदा गरेको कुनै कामको आजीवन जस लिइरहने सोच र एउटा दलले ल्याएको नीतिलाई अर्को दलले निस्क्रिय बनाउने होडबाजीको कारण स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनसकेन ।
नेपालको संविधानमा देशलाई ‘समाजवादउन्मुख’ भनी लेखिएको छ । समाजवादको अर्थ बहुल र व्यापक भए पनि कम्तीमा शिक्षा, स्वास्थ्य, आवाज, गाँस–बास–कपासको राज्यले सुनिश्चित गर्नु पनि हो । त्यसको अर्थ नेपाल सरकारले नेपाली जनताका यी आवश्यकताको जिम्मेवारी लिनुपर्छ । स्वास्थ्य बिमा कार्यक्रम समाजवादी कार्यक्रम नभए पनि नवउदार व्यवस्थाभन्दा यो सकारात्मक कार्यक्रम हो । राजनीतिक र आर्थिक व्यवस्थाको हिसाबले अझै पनि अस्पष्ट नेपालमा स्वास्थ्य बिमाले स्वास्थ्य क्षेत्रमा सीमित जनतालाई राहत दिएको छ । यसलाई अझ व्यापक बनाउन जरूरी छ । यसलाई राज्य आफ्नै अगुवाइमा अघि बढाइनुपर्छ । स्वास्थ्य बिमाअन्तर्गत दिइने सेवा गुणस्तरीय छ वा छैन भन्ने विषयमा पनि नियमित अनुगमन जरूरी छ । सबैतिर भद्रगोलको अवस्थामा कम्तीमा सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई देशभर फैलाएर गुणस्तरीय स्वास्थ्य सुनिश्चित गर्नुपर्छ ।
Leave a Reply