भर्खरै :

शिक्षकको सम्मान गर्ने समाजको भविष्य उज्ज्वल

भक्तपुर, २५ चैत । सेवा निवृत्त शिक्षक समाज भक्तपुरको आयोजनामा शुक्रबार समाजको अर्धवार्षिक पुस्तिका ‘शैक्षिक अनुभव’ को दसौँ अङ्क विमोचन तथा सेवा निवृत्त वरिष्ठ शिक्षकहरूको सम्मान कार्यक्रम सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईको आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले संसद्बाट बहुमतले पारित गरे पनि एमसीसीको जनस्तरबाट निरन्तर विरोध भइरहनुपर्नेमा जोड दिनुभयो ।
देश विकासको लागि एमसीसीको नाममा संरा अमेरिकी सहयोग आवश्यक नभएको बताउँदै उहाँले भइरहेको आर्थिक भ्रष्टाचारमात्र नियन्त्रण गरे पनि एमसीसीको भन्दा बढी रकम हुने जम्मा हुने प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “यहाँ विकास केवल बहाना हो, मुख्य कुरा अमेरिकाले नेपालमाथि कब्जा जमाई चीनलाई घेर्ने नै हो । यसले नेपाल अमेरिकी सैन्य सङ्गठनमा आबद्ध हुँदा असंलग्न परराष्ट्र नीति त्यागेको पुष्टि हुने र भोलि नेपाल शक्ति राष्ट्रहरूको क्रिडास्थल बन्न सक्नेतर्फ हामी सचेत हुनुपर्छ ।”
नागरिकहरू सचेत भए देश सानो भए पनि कुनै शक्तिको अगाडि झुक्न नपर्ने यथार्थ प्रजग कोरिया र क्युवा हेरेर सिक्न सकिन्छ भन्दै देश बचेमात्र हामी बच्ने हो, उहाँले भन्नुभयो ।
पुँजीवादी व्यवस्था हरेक कुरामा नाफा हेर्छ तर समाजवादी व्यवस्था नाफाभन्दा बढी नागरिकको सेवामा समर्पित हुन्छ भन्दै उहाँले सेवा निवृत्त शिक्षकहरूले समाजमा आल्मलिरहेका सर्वसाधारण जनतालाई बाटो देखाउने काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
जुन देशमा शिक्षालाई उच्च प्राथमिकता दिन्छ र शिक्षक–शिक्षिकाहरूको उच्च सम्मान हुन्छ त्यो देश भविष्य उज्ज्वल हुने कुरामा कुनै विवादै हुँदैन भन्दै उहाँले राज्यले गर्न नसकेको निवृत्त शिक्षक सम्मान यो समाजले गरेकोमा प्रशंसा गर्नुभयो ।
कार्यक्रममा विभिन्न ६ जना निवृत्त शिक्षकहरूलाई दोसल्ला ओढाइ प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा पूर्व जिल्ला अधिकारी शङ्कर मानन्धरले निवृत्त जीवनलाई निरन्तर सक्रिय बनाउन सके बुढोपन नआउने चर्चा गर्दै चिन्तामुक्त जीवन अहिले हाम्रो आवश्यकता हो भन्नुभयो ।
सम्मानित शिक्षकहरूको प्रतिनिधित्व गर्दै सरोजकुमार दत्तले सेवामा समर्पित हुँदा कहिल्यै कुनै ओखति नियमितरूपमा सेवन गर्न नपरेको ज्यान सेवा निवृत्त भएपछि अनेक रोगले घेर्न थालेको अनुभव सुनाउनुभयो ।
जीवन आफै अनेक अभुवको सँगालो हो† यो अवस्थामा गम्भीर रोग लागेमा जीवन भरको कमाइ पनि नपुग हुने हुँदा समाजले निवृत्त शिक्षक उपचार कोष खडा गर्नेतर्फ ध्यान दिनुपर्ने देखिन्छ, उहाँले भन्नुभयो ।
समाजका अध्यक्ष अम्बिकामान मानन्धरको सभापतित्वमा भएको उक्त कार्यक्रममा संयुक्त परीक्षा समितिका प्रतिनिधि गणेशराम थुसा र समाजका रत्नकेशकरी कक्षपति, विश्वराम कवांले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा समाजका सचिव शेरबहादुर ङाकुसीले समाजको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सम्पादक मण्डलका ज्ञानसागर प्रजापतिले ‘शैक्षिक अनुभव’ को दसौँ अङ्कबारे जानकारी दिनुभएको थियो ।
सम्मानित भएका शिक्षकहरूमा सरोजकुमार दत्त, कृष्णभक्त जोशी, चन्द्रबहादुर गोसाई, माधुरी श्रेष्ठ, रत्नदेवी प्रजापति र शिवकुमार कर्माचार्य रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *