भर्खरै :

नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिको बैठक सुरू

भक्तपुर, २५ चैत । नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिको बैठक शुक्रबार भक्तपुरमा सुरू भयो ।
बैठकमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले साम्राज्यवादविरूद्धको सङ्घर्ष चालु राख्नुपर्नेमा जोड दिँदै नेपालका कम्युनिस्ट दाबी गरेका सरकारमा गएकाहरूले अमेरिकी साम्राज्यवादको पृष्ठपोषण गरेकोतर्फ नेपाली जनता सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बैठकमा पार्टी सचिव प्रेम सुवालले केन्द्रीय समितिको प्रतिवेदन पेश गर्नुभयो ।
प्रतिवेदनमा अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने प्रावधान भएको एमसीसी सम्झौता संसद्को बहुमतबाट पारित गरिए पनि कार्यान्वयन गर्न नदिने नेपाली जनताको सङ्घर्षलाई जोड दिइएको छ ।
नेपाल मजदुर किसान पार्टीबाहेक संसद्मा भएका कम्युनिस्ट दाबी गरेका पार्टीहरू, राप्रपा, जसपा, लोसपालगायत पार्टीहरूले नेपाली काङ्ग्रेससँगै एमसीसी सम्झौतालाई समर्थन गरेको सरकारी दस्तावेजबाट पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ ।
अमेरिकी साम्राज्यवादले रूसको छिमकी देश युक्रेनलाई नाटो सदस्य बनाउन खोजेको हुँदा युक्रेन सङ्कटमा अमेरिकी साम्राज्यवाद नै दोषी भएको प्रतिवेदनमा उल्लेख छ ।
चैत २६ गते पनि चालु रहने पार्टीको बैठकमा स्थानीय तहको निर्वाचन घोषणापत्रबारे छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *