भर्खरै :

परम्परागत खाना किन छ स्वस्थकर ?

परम्परागत नेपाली खाना स्वस्थकर छ । यसमा भिटामिन, कार्बोहाइड्रेड, प्रोटिन, सूक्ष्म पोषण तत्व पर्याप्त छ ।
खाना पकाउँदा लसुन, प्याज, अदुवा, बेसार, खुर्सानी, धनियाँ, जीरा, मरिच, दालचिनी, टिम्बुर, जिम्बु, कागती आदि औषधीय गुण भएका वस्तुको प्रयोग गरिन्छ । स्वाद र स्वस्थता दुवै पाउनु नेपाली परम्परागत खानाका विशेषता हुन् । यसरी पकाएको भोजनमा रोगसँग लड्ने शक्ति छ भन्ने कुरा विभिन्न अध्ययनले देखाएको छ ।
चामल, दाल, गहुँ, कोदो, फापर, जुनेलो, उवा, तरुल, चुकन्दर, सखरखण्ड, कर्कलो, सिस्नुजस्ता खाद्यवस्तु पौष्टिकताले भरिपूर्ण छन् । चेपाङहरूले खाने गिठ्ठा, भ्याकुर आदि ऊर्जाका स्रोत हुन् । यिनमा रेसादार पदार्थका साथै सूक्ष्म पोषक तत्व पनि हुन्छ ।
यसको साथै हाम्रा वर्षभरिका परम्परागत चाडपर्वहरू पनि पौष्टिक भोजनसँग जोडिएका छन् । वैशाखको अक्षय तृतीयामा खाइने जौको सातु र सर्वत गर्मीमा लाभदायक छ । असार १५, साउने सङ्क्रान्ति, साउन १५, जनैपूर्णिमा, ठूलो एकादशी, दसैँ, तिहार, छठ, ल्होसार, माघे सङ्क्रान्ति आदि चाडपर्वमा खाने भोजन समयअनुसार आवश्यक पर्ने पौष्टिक खानासँग सम्बन्धित छन् । पहिले कर्णालीको गेडागुडी, फापर, जौ, कोदो अपहेलित थियो भने अहिले धेरै माग छ । अहिले त कर्णालीको ‘मार्सी चामल’ पनि काठमाडौँको बजारमा पाइन्छ । आमसञ्चारमा भएको प्रचारकै कारण यसो भएको हो । त्यसैले कृषि मन्त्रालयले तयार गरेको जानकारी आममानिसमा पु¥याउन जरुरी छ ।
कोदो, फापर मधुमेहका लागि स्वस्थकर हुन्छ भन्ने प्रमाणित भएपछि अहिले यी खाद्यवस्तु पाँचतारे होटल, ठूला मलहरूमा पनि पाइन थालेको छ । आममानिसले अहिले कोदोको मम, रोटी, पिज्जा, चाउमिन खोजेर खान थालेका छन् ।
हाम्रो परम्परागत ज्ञान बीचमा हराएको थियो । अहिले वैज्ञानिक अध्ययनले सिद्ध गरेपछि तिनको पुनः खोजी हुन थालेको हो । म त कोदो, फापर, सुप हरेक हप्तामा दुई–तीनचोटि खान्छु । कोरोना महामारीको समयमा धेरै नेपालीले बेसार, मरिच, दालचिनी आदि मसलाको बारेमा धेरै चासो दिए र प्रयोग गरे, जुन हाम्रो परम्परागत भान्सामा प्रयोग हुँदै आएको छ ।
परम्परागतरूपमा गर्भवती तथा सुत्केरी अवस्थामा खुवाइने मसला पनि विशेष किसिमको हुन्छ । यसमा शरीरलाई चाहिने सूक्ष्म पोषक तत्वहरू जस्तो ः क्याल्सियम, लौहतत्व आदि भरपुररूपमा पाइन्छ । साथै ज्वानोमा पनि पर्याप्त क्याल्सियम हुन्छ । आमाले खाएपछि शिशुलाई पनि पुग्छ, दूध पनि बढी आउँछ ।
विभिन्न जातजाति तथा समुदायले चाडपर्वहरूमा खाने खानाहरू पनि पौष्टिकताले भरिपूर्ण छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पाइने खानाहरू र तिनमा पाइने पौष्टिक तत्वका बारेमा कृषि मन्त्रालयले सूची प्रकाशित गरेको छ । तर, यो जानकारी समुदाय र आममानिससमक्ष पु¥याउन सकेको छैन ।
खान नजानेर रोगी नबनौँ
विभिन्न समुदायमा परम्परागतरूपमा गर्भवतीलाई दही, चिउरालगायत विशेष किसिमका खाना खुवाउने चलन छ । तर, कतिपय जातजातिमा परम्परागतरूपमा गर्भावस्थामा र सुत्केरी भइसकेपछि पनि जाँडरक्सी खाने, धूमपान गर्नेे अनि शिशु राम्रोसँग सुतोस् भनेर जाँडरक्सी दिने गर्छन् । यसले गर्दा भ्रुण तथा शिशुको मस्तिष्कका कोषहरूको विकासमा अवरोध पुग्छ ।
भ्रुण अवस्थादेखि शिशुहरू दुई वर्ष नपुगेसम्म आवश्यक पोषण तत्व नपुगेमा र गर्भवतीले जाँडरक्सी सेवन गरेमा शिशुको सिक्ने क्षमता कमजोर हुन्छ ।
नेपालका करिब ४० प्रतिशत बालबालिकामा दीर्घ कुपोषण रहेको र यसलाई घटाउँदै लाने उद्देश्यले सरकारले केही वर्षअघिदेखि ‘सुनौला हजार दिन’ नामक अभियान सञ्चालन गरिरहेको छ ।
गर्भधारण भएदेखि दुई वर्ष पुग्दासम्मको अवधिमा शिशुको करिब ८० प्रतिशत मस्तिष्कको विकास हुने भएकोले यस अवधिमा शिशुलाई स्वस्थकर, पोषिलो खाना उपलब्ध होस् भन्ने उद्देश्यले यो सञ्चालन गरिएकोे हो । तर, यो अभियान सञ्चालन गर्दा स्थानीयरूपमा उत्पादन हुने खानेकुरा र तिनमा पाइने पौष्टिक तत्वहरूका बारेमा समुदायलाई जानकारी दिने कुरामा भने ध्यान दिइएको छैन । समुदायलाई यस्तो ज्ञान नदिएमा यो कार्यक्रम लाभदायक तथा दिगो हुनसक्दैन ।
मैले काठमाडौँदेखि अछामसम्मका विभिन्न ५ वटा जिल्लाका केही अस्पताल, मेडिकल कलेज, जिल्ला अस्पताल, स्वास्थ्य चौकीहरूमा पुगेर अध्ययन गर्दा त्यहाँ गर्भवतीको जाँच गर्ने र आइरन चक्की, क्याल्सियम, फोलिक एसिड पनि दिएको पाएँ । तर, आफ्ना घरवरिपरि पाइने खानाको पौष्टिक तत्व कति छ, स्वस्थकर खाना कसरी बनाउनुपर्छ भन्नेबारेमा भने जानकारी दिइएको पाइनँ । गर्भवतीले स्वस्थ खान नखाए आइरन चक्की, फोलिक एसिडले मात्र केही फाइदा गर्दैन ।
फोलिक एसिडको कमी भयो भने भ्रुणको मेरुदण्डमा खराबी भएर अपाङ्गता हुने सम्भावना हुन्छ । तर, फोलिक एसिड औषधिको रूपमा लिनुभन्दा सँगपात, गेडागुडीलगायत अन्नहरू खाएर प्राप्त गरेको बढी फाइदाजनक हुन्छ । क्याल्सियमले भ्रुणको हड्डी मजबुत बनाउँछ, शिशुलाई भिटामिन ‘ए’ दिनुपर्छ भन्ने कुरा महिला स्वयंसेविकालाई थाहा छ । तर, हाम्रो भोजन जस्तो ः दूध, दही, मही, आलस, कोदो, भाँगो, फापर, तिलमा पनि क्याल्सियम पाइन्छ र यो गर्भवतीले खानुपर्छ भन्ने थोरै स्वयंसेविकालाई मात्र थाहा छ । यसैले सुनौला हजार दिनको अभियानको उद्देश्य राम्रो भए पनि स्थानीय पौष्टिक खानालाई बेवास्ता गरिएकोले यस्तो परनिर्भर कार्यक्रमले खासै फाइदा दिनेछैन ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार सन् १९९६ मा २ प्रतिशत नेपालीमा मात्र मोटोपन थियो भने २०१६ मा यो सङ्ख्या २२ प्रतिशत पुगेको देखिन्छ । यसको कारण अस्वस्थकर खानपान तथा अस्वस्थकर जीवनशैली नै हो ।
पहिला बढी हिँड्नुपथ्र्याे, धेरै खाना खाँदा पनि शरीरले प्राप्त गरेको ऊर्जा खर्च हुन्थ्यो । अब कम हिँडिन्छ, कम शारीरिक श्रम गरिन्छ । तर, खाना धेरै त्यसमा पनि पत्रु खाना खाइन्छ । यसले गर्दा मोटोपन बढ्छ । मोटोपन धेरै रोगको कारक हुन्छ । युवतीहरूमा मोटोपन हुँदा पछि बच्चा पैदा गर्न कठिन हुन्छ । पहिला पुरुषको दाँजोमा महिलालाई उच्च रक्तचाप, डायबिटिज, मिर्गौला रोग, घुँडा दुख्ने समस्या, मुटुको रोग कम देखिन्थ्यो । महिलाहरूले पानी बोक्ने, घाँस काट्ने, घरको सरसफाइ गर्ने, भान्साको काम गर्ने गर्दा शारीरिक व्यायाम हुन्थ्यो तर अहिले विशेषगरी सहरिया महिलामा व्यायामको कमी भएकोले यी रोगहरू बढ्न थालेको तथ्याङ्कबाट देखिन्छ । पहिला महिलाहरू घाममा बसेर तेल लगाउने चलन हुँदा भिटामिन ‘डी’ पर्याप्त मात्रामा पाउँथे । अहिले नेपाली महिलाहरूमा देखिएको ठूलो समस्या भिटामिन ‘डी’ को समस्या छ, किनभने छाला कालो हुन्छ भनेर महिलाहरू घाममा बस्दैनन् । खाना, व्यायाम तथा हिँडाइमा ध्यान दिँदैनन् ।
गर्भवती महिलाले पत्रु खाना खाँदा पौष्टिक तत्व कमी हुन्छ तर मोटोपन बढ्छ । यसले आमा तथा शिशुलाई मधुमेह, उच्च रक्तचाप हुने सम्भावना बढ्छ । यो समस्या अहिले विशेषगरी सहरिया महिलाहरूलाई धेरै छ । त्यसैले महिलाहरू विशेषगरी गर्भवतीले पत्रु खाना छोडेर स्थानीय स्तरमा पाइने स्वस्थकर खाना खानुपर्छ ।
युवा अवस्थामा खाएको खानाले महिनावारी सुकेपछि पनि प्रभाव पार्छ । चाउचाउ, कुरमुरेजस्ता पत्रु खानाको खोलमा चिल्लो, नुन, रसायन, चिनी आदि पदार्थ जति छ भनेर लेखिन्छ त्यो भन्दा ३७ देखि २ सय प्रतिशतसम्म बढी हुन्छ भन्ने कुरा स्वास्थ्य मन्त्रालयको अध्ययनबाट नै सिद्ध भएको छ । यो अध्ययन गरेपछि पनि स्वास्थ्य मन्त्रालयले यस्तो खानाको विरोधमा खासै कदम चालेको छैन । त्यसैले उपभोक्ताले नै यस्ता खाना अस्वीकार गर्नुपर्छ ।
(लेखकको फेसबुकबाट).

Leave a Reply

Your email address will not be published. Required fields are marked *