भर्खरै :

वैकल्पिक शक्ति को ?

कुनै पनि विषयमा हतारमा टिप्पणी र मूल्याङ्कन गर्ने नेपालको राजनीतिमा मात्र होइन, सबै क्षेत्रको समस्या हो । विदेशमा कुनै राम्रो काम भए त्यसको तुरुन्तै नक्कल गर्ने र नराम्रो काम भए पनि सतही बुझाइको आधारमा हचुवा विश्लेषण गर्ने समस्या धेरै अघिबाट सुरु भए पनि सामाजिक सञ्जालको व्यापकतासँगै अहिले यो प्रवृत्ति अझै डढेलोझैँ फैलिएको छ ।
प्रसङ्ग, वैकल्पिक राजनीतिको । छिमेकी देश भारतको राजधानी दिल्लीमा शासक दलहरू भाजपा र काङ्ग्रेस आइको विकल्पमा अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी दलले चुनाव जितेपछि नेपालमा पनि वैकल्पिक राजनीतिको चर्चा सुरु भएको छ । नेका, एमाले, माओवादी र राप्रपाजस्ता सरकारमा गएका शासक दलहरूबाट वाक्कदिक्क भएका नेपाली जनताले आमूल परिवर्तनको आफ्ना सपना साकार पार्न सक्ने अथवा कम्तीमा आशावादी बनाउने राजनीतिक शक्तिको खोजी गरेका हुन् । विशेषतः माओवादी विद्रोहको शान्तिपूर्ण अवतरण र राजतन्त्रको अन्त्यपछि देशले कोल्टो फेर्ने जनताको आशाको नेतृत्व एमाले, नेका, माओवादी र राप्रपाजस्ता दलहरूबाट हुन नसक्ने भएपछि वैकल्पिक राजनीतिको कुरा चर्चामा पुगेको थियो । त्यही शिलशिलामा नेपाली राजनीति अब वैकल्पिक राजनीतिको युग सुरु भएको र यो प्रवाहमा बहन नसक्ने शक्तिहरूलाई इतिहासले किनारामा धकेल्नेसमेत कुरा भए । पुराना केही नेताहरूले जीवनभर बोक्दै आएको वाद र सिद्धान्त गलत भएको भन्दै ‘वैकल्पिक राजनीति’ को तालमा होमिए । राजनीतिमा नयाँ नयाँ अनुहार पनि देखिए ।
तर, नेपालको सन्दर्भमा तथाकथित वैकल्पिक राजनीति या त पुरानो विचारलाई नयाँ खोलमात्र बन्यो अथवा विचारहीनताको राजनीतिक अभिव्यक्तिको रूपमा मात्र देखियो । त्यही कारण नेपालमा त्यो धार कर्कलाको पात जतिकै छोटो समयमा नै लल्याकलुलुक भयो । पुराना शासक दलभित्रको गुट–उपगुट, झैझगडा, कुटाकुटको रोग ‘वैकल्पिक शक्ति’ मा पनि सल्किन धेरै बेर लागेन ।
नयाँ दल बनाउँदैमा त्यसलाई वैकल्पिक राजनीति वा आन्दोलन भन्नु नयाँ लुगा लगाएर नयाँ मान्छे बन्न खोज्नुजस्तो हो । पुराना विचारमा सामान्य हेरफेर वा शाब्दिक परिवर्तन गरेर नयाँ र विकल्प भन्नु जनतालाई भ्रममा पार्नुमात्र हो । अचानक रङमा डुबेको स्यालले आफूलाई अरूभन्दा फरक भएको दाबी गर्दै जङ्गलका अन्य जनावरलाई मूर्ख बनाउनु जस्तो हो । अहिले घटनाक्रमले त्यही देखाइरहेको छ । हिजो ठूलै होहल्ला गरेर विकल्प र नयाँको कुरा गर्नेहरू आज सबभन्दा प्रतिगामी र पुराना विचारको लास बोक्न थालेका छन् ।
विद्यमान परिस्थितिमा परिवर्तन खोज्ने, मानिसले मानिसमाथि गर्ने शोषणको अन्त्य गर्ने, जनताका आधारभूत आवश्यकता पूरा गर्ने राज्य व्यवस्था स्थापना गर्ने, देशको सार्वभौमिकता र भूअखण्डताको पक्षमा लड्ने, समाजवादी व्यवस्था र विचारको पक्षपोषण गर्ने राजनीतिक दल नै एमाले, नेका, माओवादी, राप्रपाजस्ता पुराना दलहरूको विकल्प र क्रान्तिकारी दल हुनसक्छन् । पुँजीवादी सरकारमा गएर पुँजीवादी व्यवस्थाका विकृतिका साक्षी बनेका कुनै पनि दल नयाँ वा वैकल्पिक दल बन्न सक्दैनन् ।
समाजवादी विचारधाराको लगातार पक्षपोषणमात्र होइन, आंशिकरूपमै भए पनि आफूले सकेको ठाउँमा प्रयोगसमेत गर्ने, देशको सार्वभौमिकता र भूअखण्डताको पक्षमा लगातार लड्ने, समाजवादी विचारधाराको पक्षपाती दल नेपाल मजदुर किसान पार्टीले आजको नेपाली राजनीतिमा क्रान्तिकारी र वैकल्पिक राजनीतिक शक्ति हुनसक्छ । यसको निम्ति नेपाली जनताबीच अझ व्यापक प्रचार र सङ्गठनको खाँचो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *