भर्खरै :

समाज सुधार मावि ५१ औँ वर्षमा केटाकेटीको अगाडि नराम्रो व्यवहार नगरौँ

भक्तपुर, २८ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले हरेक शिक्षक र अभिभावकले विद्यार्थीहरूलाई राम्रो काममा लाग्न अभिप्रेरित गर्नुपर्ने तथा अनुशासित बनाउन व्यवहारिक शिक्षा र आचरण सिकाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
समाज सुधार माध्यमिक विद्यायको ५१ औँ वार्षिकोत्सव, शिक्षक सम्मान, दीर्घ सेवा पदक, मायाको चिनो, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमको सोमबार उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले विद्यालयमा विद्यार्थीले राम्ररी पढ्ने वातावरण हुनुपर्छ भन्नुभयो ।
शिक्षकले विद्यालयको चिन्ता र चासो राख्नुपर्ने, विद्यार्थी र अभिभावकको मनोभावना बुझ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “विद्यार्थीलाई गाली गरेर, हप्काएर होइन सम्झाएर विद्यालय पठाउनुपर्छ, आफ्ना सन्तानको अगाडि झगडा भएमा बच्चाको दिमागमा असर परेर पढाइमा ध्यान जाँदैन ।”
विद्यार्थीप्रति असमान व्यवहार भएमा पनि स्कूल जीवनमा असर पुग्नेतर्फ शिक्षकहरूको ध्यानाकर्षण गर्दै अध्यक्ष रोहितले शिक्षकहरू सच्चा गुरु हुनुपर्छ, सही मार्ग निर्देशन गर्नुपर्छ, असल, अनुशासित, योग्य नागरिक तयार गर्नुपर्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गासाईले गरिब र पछाडि पारिएका विद्यार्थीहरूको आचरण सुधार्न, गुणस्तरीय शिक्षा दिएर योग्य बनाउन र विशेषज्ञ बनाउन विद्यालयले अझै अनेक व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विद्यार्थीहरूलाई पढाइसँगै सरसफाइ, खानपिनमा ध्यान दिनुपर्नेमा जोड दिँदै सांसद गोसाईले भन्नुभयो, “विद्यार्थीहरूको बरोबर स्वास्थ्य परीक्षण गर्नुपर्छ, व्यवहार राम्रो हुनुपर्छ, समयमा ध्यान नपु¥याउँदा एउटा सानो गल्तीको कारण बच्चाहरू कुलतमा लागेर बिग्रिसकेको हुन्छ, सङ्गत खराब भयो भने आफ्नो सन्तानको जीवन बर्बाद हुन्छ, यसतर्फ शिक्षक र अभिभावकको ध्यान जानुपर्छ ।”

आफ्ना सन्तानलाई राम्रो र योग्य बनाउने चाहना राख्दाराख्दै चालै नपाइकन भित्रभित्र बिग्रिरहेको तर्फ सचेत पार्दै उहाँले शिक्षकहरू मेहनती, अध्ययनशील र योग्य भएमा विद्यार्थीहरूको शैक्षिकस्तर बढ्छ, यसले विद्यालय राम्रो हुन्छ र इज्जत बढ्छ भन्नुभयो ।
सही मार्गमा हिँडाउन, सही शिक्षा दिन हरेकले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पालना गर्नुपर्नेमा जोड दिँदै उहाँले शिक्षकहरू सफलताको आशा र विश्वास लिएर अघि बढ्नुपर्छ भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले तल्लो वर्गका जनताको सेवा गर्न र समाजमा आमूल परिवर्तन गर्न विद्यालयको शैक्षिक आन्दोलनले टेवा पु¥याइरहेको विचार व्यक्त गर्नुभयो ।
आर्थिक र सामाजिकरूपमा पछि परेको टोलमा शिक्षाको ज्योति घर आँगनमा पु¥याउन विद्यालयले नयाँ पुस्ता तयार गरिरहेको उल्लेख गर्दै उहाँले समाजवादी देशमा शिक्षा र स्वास्थ्यमा जोड दिइरहेको बताउनुभयो ।
प्रजग कोरियामा देशभक्त पुस्तै तयार गरिरहेको विचार व्यक्त गर्दै उहाँले देशको शिक्षा उत्पादन श्रमसँग जोडिएको हुनुपर्छ भन्नुभयो ।
संविधानमा समाजवादउन्मुख व्यवस्था भए पनि देशको शिक्षाको व्यापारीकरण भइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले देश परनिर्भर भइरहेको बताउनुभयो ।
सरकारको लगानी शिक्षा र उत्पादन क्षेत्रमा भन्दा अनुत्पादक क्षेत्रमा भइरहेको उल्लेख गर्दै उहाँले देशको लागि आवश्यक जनशक्ति तयार गर्न हरेकले शैक्षिक जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले सरकारले ध्यान नदिँदा सरकारी विद्यालय बन्द भइरहेकोमा चिन्ता व्यक्त गर्दै समाजवादउन्मुख देशमा सरकार सामुदायिक विद्यालयप्रति जिम्मेवार नहुनु निजी क्षेत्रलाई पोस्नु नै हो भन्नुभयो ।
सरकारी स्कूल बन्द गर्ने निजी स्कूल पोस्ने सरकारी दाउले सरकार सरकारी विद्यालयप्रति जिम्मेवार नभएको प्रस्ट पार्दै उहाँले समुदायमा पढ्ने विद्यार्थी कमजोर र निजी विद्यालयमा पढ्ने विद्यार्थीको शिक्षा स्तरीय हुन्छ भन्ने कुरा होइन भन्नुभयो ।

उहाँले भन्नुभयो, “हामी पैसामा गरिब हौंला, पढाइ र बुद्धिमा गरिब हुनु हुँदैन ।”
सार्वजनिक मावि संयुक्त परीक्षा समिति भक्तपुरका अध्यक्ष श्रीकृष्ण किसीले भक्तपुरलाई शैक्षिक गन्तव्यस्थल बनाउने उद्देश्यले काम गरिरहेको उल्लेख गर्दै यहाँका विद्यालय र शिक्षकहरू देश र जनताप्रति समर्पित भएर योग्य, दक्ष, इमानदार र असल विद्यार्थी तयार गर्न जिम्मेवारीका साथ लागिरहेको बताउनुभयो ।
विद्यार्थी र शिक्षकहरूको व्यक्तित्व विकास गर्न सन्दर्भ ग्रन्थ र पत्रपत्रिकाहरू पनि अध्ययन गर्नुपर्ने खाँचो औँल्याउँदै उहाँले नयाँ नयाँ प्रविधिअनुसार शिक्षा आर्जनमा थप प्रयास भइरहेको बताउनुभयो ।
लगनशील र अनुशासित विद्यार्थी तयार गर्न समय सापेक्ष शिक्षण विधिको आवश्यकता औँल्याउँदै उहाँले विद्यार्थी पढ्दैनन् भनेर शिक्षकले आफ्नो दायित्व भुल्न नहुने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रजापतिको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व प्रअ लक्ष्मीनारायण दुवाल र प्रअ जगनाथ प्रजापतिले विद्यालयको गतिविधि र प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा विद्यार्थी रोजिना श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले अवकासप्राप्त शिक्षक र दीर्घ सेवा पदक शिक्षक–शिक्षिकाहरूलाई सम्मान गर्नुभएको थियो ।
अन्य अतिथिहरूले कक्षागत उत्कृष्ट विद्यार्थी र खेलकुदमा विजयी विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्नुभयो ।
सांस्कृतिक कार्यक्रम पनि भएको सो कार्यक्रममा अतिथि बिजुक्छेँले समाज सुधार स्मारिका विमोचन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रम विद्यालयका विद्यार्थीहरूको बाँसुरीको धुनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *