भर्खरै :

शिक्षकहरू कामदार वर्गीय राजनीतिबाट प्रशिक्षित हुनुपर्नेमा जोड

भक्तपुर, २९ चैत । ४२ औँ शिक्षक दिवसको अवसरमा नेपाल क्रान्तिकारी शिक्षक सङ्घले मङ्गलबार भक्तपुरका विभिन्न नगरपालिकामा शिक्षक भेला तथा गोष्ठीको आयोजना गरेको छ ।
यसै सिलसिलामा नेक्राशिसङ्घ, सूर्यविनायक नगर समितिले आयोजना गरेको एक कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले राजनीतिकरूपमा प्रशिक्षित शिक्षकहरूकै कारण भक्तपुरले शिक्षा क्षेत्रमा फड्को मारेको विचार व्यक्त गर्नुभयो ।
उहाँले प्रतिक्रियावादी राजनीतिक सङ्गठनको स्वार्थमा काम गर्ने शिक्षक सङ्घसङ्गठनकै कारण शिक्षामा अराकता फैलिएको भन्दै नेक्राशिसङ्घले गरिबका छोराछोरीको शैक्षिक हक सुरक्षित गर्न सङ्घर्ष गरेको उल्लेख गर्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले नेक्राशिसङ्घले माओवादी अराकतावादी गतिविधि उत्कर्षमा पुगेको बेला आयोजित अनिश्चितकालीन हडतालको कडाइपूर्वक प्रतिवाद गरेको भन्दै शैक्षिक हडतालको कारण गरिबका छोराछोरी नराम्ररी प्रभावित भएको धारणा राख्नुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घका केन्द्रीय सदस्य चक्रबहादुर चाकतूले शिक्षक आन्दोलनको परिणामस्वरूप शिक्षकहरूले केही हक अधिकार पाएको विचार राख्नुभयो ।
उहाँले शिक्षक आन्दोलनकै कारण पञ्चायती निरङ्कुश व्यवस्थामा शिक्षक सङ्गठन खोल्ने अधिकार प्राप्त भएको तर्क गर्नुभयो ।
आदर्श आजाद कलेज व्यवस्थापन समितिका अध्यक्ष उद्धव सुजखूले अधिकार लडेरमात्र प्राप्त हुने भन्दै कामदार वर्गको शैक्षिक अधिकारको निम्ति कामदार वर्गकै प्रतिनिधित्व गर्ने शिक्षक सङ्घका कार्यकर्ताहरू सक्रिय हुनुपर्ने विचार राख्नुभयो ।
नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले एमसीसी सम्झौता पारित भएपछि देशका राजनीतिक पार्टीहरू स्पष्टरूपमा दुई खेमामा विभाजित भएको धारणा राख्नुभयो । उहाँले एमसीसी सम्झौता पारित गर्ने देशघाती पार्टी र विरोध गर्ने देशभक्त पार्टी कुन कुन हुन् भन्नेबारे विद्यार्थी र अभिभावकलाई शिक्षित गर्नुपर्ने बताउनुभयो ।
आदर्श आजाद माविका प्रधानअध्यापक श्रीकृष्ण किसीले शिक्षकले समाजको आमूल परिवर्तनको निम्ति काम गर्नसक्ने भन्दै गरिब जनताका छोराछोरीलाई शिक्षा दिन पाउनु गर्वको कुरा हो भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष केपी छुस्याकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षक उत्तम सेजवालले पनि बोल्नुभएको थियो ।
नेक्राशिसङ्घ, भक्तपुर नगर समिति
शिक्षक दिवसकै अवसरमा नेक्राशिसङ्घ भक्तपुर नगर समितिको आयोजनामा भएको भेलामा नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले आजसम्मका शासक दलहरूले देश र जनताको हितमा भन्दा विदेशीको हितका लागि नेपालका उद्योग कलकारखानाहरू निजीकरण गरी देशलाई परनिर्भर बनाउने र शिक्षामा निजीकरण गरेर देशका भावी पुस्तालाई कमजोर बनाउन खोजिरहेको बताउनुभयो ।
नयाँ पुस्तालाई देशको समसामयिक राजनीतिबारे जानकारी गराउनु शिक्षकको आफ्नो दायित्व वा जिम्मेवारी भएको बताउँदै उहाँले शिक्षक आन्दोलनबाट प्राप्त उपलब्धिलाई सदुपयोग गर्दै समस्या समाधानको लागि थप सङ्घर्ष आवश्यक भएको धारणा राख्नुभयो । देश विदेशको राजनीतिक उतारचढावको असर प्रत्येक व्यक्तिको भान्छामा पर्ने बताउँदै उहाँले आ – आफ्नो
ठाउँमा शिक्षकले देशभक्त नागरिकको महत्वपूर्ण भूमिका निभाउन चुक्न नहुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष जगन्नाथ सुजखुले शिक्षक आन्दोलनबाट प्राप्त उपलब्धिकै परिणाम आजका शिक्षकहरूको केही भए पनि सेवा सुविधा पाएको स्मरण गर्दै नयाँ पुस्तालाई राजनीतिक कुरा सिकाउन शिक्षकहरू तत्पर हुनुपर्ने धारणा राख्नुभयो ।
थरीथरीको शिक्षकको वर्गीकरणले अन्योल सृजना भएको बताउँदै उहाँले दलको गलत निर्णयविरुद्ध आवाज उठाउन नसक्ने शिक्षक नेताहरूका कारण शैक्षिक स्तर खस्किरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरपालिकाले शिक्षा र स्वास्थ्यमा गरेको प्रगतिको चर्चा गर्दै स्थानीय तह विगत लामो समयसम्म जनप्रतिनिधिविहीन हुँदाको अप्ठ्यारोबाट अगाडि बढ्नु चुनौतीपूर्ण भएको बताउँदै कला र संस्कृति सरक्षणको लागि अध्ययन र अनुसन्धानको आवश्यकता रहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष गणेशराम थुसाको सभापतित्वमा सम्पन्न उक्त भेलामा पूर्व प्राचार्य बालमुकुन्द बासुकला, प्राचार्य अम्बिका न्याइच्याई, विष्णुप्रसाद दुमरुलगायतले बोल्नुभएको थियो ।
नेक्राशिसङ्घ, चाँगुनारायण नगर समिति
यसैगरी नेक्राशिसङ्घ, चाँगुनारायण नगर समितिको आयोजनामा ४२ औँ शिक्षक दिवस शिक्षक भेला गरी मनाइयो । भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले शिक्षकहरू समाजका प्रबुद्ध वर्ग भएकाले समाजमा व्याप्त विकृति विसङ्गतिविरुद्ध जनचेतना जगाउन सकारात्मक भूमिका निर्वाह गर्न जोड दिनुभयो ।
सो¥ह वर्ष पहिले एमसीसी पास गर्नाको परिणाम आज युक्रेनले युद्ध भोगिरहेको चर्चा गर्दै उहाँले नेपाल सरकारले निर्णय महाकाली सन्धि गर्दाको परिणाम आज हामीले विद्युत् लगायत सबै क्षेत्रमा महँगी भोगिरहेको बताउनुभयो । अब नेपालले एमसीसीको परिणाम कस्तो भोग्नुपर्ने हो अनिश्चित छ भन्दै उहाँले भन्नुभयो, “यस्तो हरेक विषयमा समाजलाई बाटो देखाउने काम शिक्षकहरूको हो ।”
शिक्षा क्षेत्रमा सरकारले गरेको विभेदविरुद्ध सङ्घर्ष गर्दागर्दै सामुदायिक विद्यालयका शिक्षकहरूले आफ्नो विद्यालयलाई विद्यार्थी अभिभावकको आकर्षणको केन्द्र बनाउन आफ्नै मिहिनेतको ठूलो खाँचो रहेको उहाँले औँल्याउनुभयो ।
शासक दलहरूको व्यवहारले गर्दा नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा पैदा भइरहेको उल्लेख गर्दै उहाँले निर्वाचनमा सही व्यक्ति र पार्टी छान्न नसके आगामी पाँच वर्ष देशले फेरि दुःख पाउने हुँदा मतको सही सदुपयोग गर्न गराउन अपिल गर्नुभयो ।
पैसा खर्च गरेर चुनाव जित्न खोज्नेहरूबाट मतदाताहरू सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले २०३६ सालको शिक्षक आन्दोलनको चर्चा गर्दै पञ्चायती व्यवस्थामा शिक्षक सङ्गठन खोल्ने अधिकार पाउनु आफैमा ठूलो उपलब्धि थियो भन्नुभयो । सङ्घर्षका ती दिनहरू सहज नभएको उल्लेख गर्दै उहाँले सङ्घर्षविना कुनै सफलता प्राप्त हुँदैन भन्नुभयो ।
सामुदायिक शिक्षामा अहिले पनि सरकारी उपेक्षाका धेरै उदाहरणहरू रहेको दृष्टान्त दिँदै उहाँले भन्नुभयो, ‘सबैभन्दा बढी महत्व दिनुपर्ने पूर्वप्रावि तहलाई सरकारले सबैभन्दा उपेक्षा गरिरहेको छ, शिक्षकको दर्जासम्म दिइएको छैन । जहिलेसम्म सरकारले शिक्षकको उचित सम्मान गर्दैन तहिलेसम्म देश उँभो लाग्दैन ।
शिक्षकहरूको साझा महासङ्घ शासक दलको पिछलग्गू बनेकोले नेक्राशिसङ्घ महासङ्घमा आबद्ध नभएको स्पष्ट पार्दै उहाँले शिक्षक सङ्गठनलाई राजनीतिक आस्थाको आधारमा विभाजन नगर्न नेक्राशिसङ्घले विगतमा धेरै प्रयास गरेको चर्चा गर्नुभयो ।
आयोजक समितिका सदस्य एवं पञ्चकन्या माविका प्रअ नारायणप्रसाद दुलालको सभापतित्वमा भएको उक्त भेलामा गणेश मावि छालिङका प्रअ इन्द्रबहादुर फोंजू, निवृत्त शिक्षक समाजका लक्ष्मीनारायण दुवाल र देवी माविका प्रअ राजाराम छुकांले पनि वर्तमान शिक्षक समस्याहरूमाथि प्रकाश पार्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *