भर्खरै :

इन्धनको विकल्प के सम्भव छ ?

सरकारले इन्धन आयातमा कटौती गर्ने निर्णय गरेको छ । के त्यसो गर्न सम्भव छ ? निःसन्देह गर्न खोज्नेको शब्दकोशमा असम्भव भन्ने शब्द नै हुँदैन । नेपालमा शतप्रतिशत इन्धन विदेशबाट आउने गर्छ । नेपालले सबभन्दा ठूलो मूल्यमा आयात गर्ने वस्तु इन्धन हो । इन्धनमा पूर्णतः परनिर्भर बनेकोले देश सधैँ व्यापार घाटामा छ । संसारका अधिकांश गरिब र अविकसित देशहरूको अवस्था यस्तै देखिन्छ ।
कोभिड–१९ महामारीले संसारभरको आपूर्ति प्रणाली तहसनहस बनायो । महिनौँ महिनाको लकडाउन र आर्थिक गतिविधि ठप्प बन्दा संसारको अर्थतन्त्रमा गम्भीर मन्दी र शिथिलता छाएको छ । त्यसमाथि अहिले युक्रेन र रुसबीचको लडाइँले पनि संसारभर इन्धनको आपूर्ति प्रणाली प्रभावित बनेको छ । यिनै कारण इन्धनको मूल्य लगातार बढिरहेको छ । बढ्दो मूल्यको कारण बजारभाउदेखि जनजीवनका सबै क्षेत्र प्रभावित बनेका छन् । यस्तो अवस्थामा महँगोमा इन्धन खरिद गर्नुपर्ने हाम्रो बाध्यताले आर्थिकरूपमा हामीलाई कमजोर बनाउनेछ । उत्पादनशीलता घट्नेछ । बजार भाउ उकालो लागेको अनुपातमा सर्वसाधारणको क्रयशक्ति बढ्न नसक्दा गरिबी बढ्नेछ । गरिबी बढ्नुको अर्थ मानिसले आफुलाई अत्यावश्यक वस्तु समेत प्रयोग गर्नबाट वञ्चित हुनेछन् । यसले मानिस र सिङ्गो देशको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्दै जान्छ । बढ्दो गरिबीले राजनीतिक अस्थीरता, असमानता, शोषण र अशान्ति जन्माउने गर्छ ।
इन्धनको यस्तो बहुआयामिक महत्व बुझेर नै संसारका केही महाशक्ति देशहरू संसारका इन्धनका स्रोत आफ्नो नियन्त्रणमा पार्ने दौडमा लागेका छन् । संरा अमेरिकाजस्तो शक्तिले साम–दाम–दण्ड–भेद नीति लागु गरेर पनि संसारभरका प्रमुख इन्धनका स्रोत आफ्नो तखतमा ल्याउन खोजिरहेका छन् । लिविया, इराक, सिरियामाथिको हमलाको मूल कारण यही हो । अर्को थरी देशहरूले इन्धनको वैकल्पिक स्रोतको खोजी गरिरहेका छन् । विज्ञान र प्रविधिले विकास गरेका सम्भावनाका ढोका खोल्दै जीवाष्म इन्धनको विकल्पलाई मूल स्रोत बनाउने दौड पनि संसारमा चलेकै छन् । त्यस्तै जीवाष्म इन्धनले चलेको हाम्रो जीवनपद्धतिमा परिवर्तन गरी इन्धनको खपत कम गर्ने र वैकल्पिक इन्धनको प्रयोगलाई बढावा दिने अनि विकासशील देशहरूको हकमा इन्धनमा आत्मनिर्भर बन्ने प्रयास भइरहेका छन् ।
नेपालमात्र होइन, संसारका कुनै पनि देशले आजको उचाइबाट हेर्दा यो कुरा असम्भव नभए पनि कठिन देखिन्छ । वास्तवमै यो कठिन सम्भावना हो । तर, अबको बाटो यही हो । नेपालले अब वैकल्पिक इन्धनको प्रयोगलाई बढावा दिँदै जीवाष्म इन्धनको प्रयोग कटौती गर्दामात्र देश आत्मनिर्भरता र आर्थिक रूपमा बलियो बन्न सक्छ ।
त्यसको निम्ति एकातिर सरकारी निकायहरूले हाम्रा पुर्खाले इन्धनको माग कसरी पूर्ति गर्थे भन्ने कुराको अध्ययन गरी त्यसलाई विज्ञानसँग मिलाएर मौलिक प्रविधिको विकास गर्न जरुरी छ । जसले नेपालको मौलिक प्रविधिको खोजी हुनुका साथै परनिर्भरता कम हुँदै जानेछ । जनताको जीवन पद्धतिमा थोरै परिवर्तन गर्दा पनि इन्धनको खपतमा परिवर्तन सम्भव छ । यो कदमले कुनै न कुनै रूपमा संसारको जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न मद्दत गर्छ । नेपालको अर्थतन्त्रको खम्बाको रूपमा रहेको पर्यटनको विकासको निम्ति यस्ता कदमले टेवा पु¥याउन सक्छ । जीवाष्म इन्धनको आयातमा कटौती गर्ने सरकारको निर्णय अस्थायीमात्र हुनुहुन्न । बरु यसको निम्ति सरकारले दीर्घकालीन योजना बनाएर दिगो ढङ्गले यो नीतिको प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *