भर्खरै :

काल्पनिक समाजवादका एक संस्थापक चाल्र्स फ्युरिये

काल्पनिक समाजवादका महान् संस्थापकमध्ये एक हुनुहुन्थ्यो । उहाँको पूरा नाम फ्रांक्किस चाल्समेरी फ्युरिये हो । ७ अप्रिल १७७२ को दिन उहाँ फ्रान्सको फ्रांसे–कोम्टे भन्ने ठाउँमा जन्मनुभएको थियो । उहाँको बुबा कपडा बेच्ने एक व्यापारी हुनुहुन्थ्यो । उहाँले स्थानीय कलेजमा अध्ययन गर्नुभयो । अध्ययनपछि उहाँ फ्रान्स, जर्मनी र हलैन्डको भ्रमणमा जानुभयो ।
फ्रान्सेली क्रान्तिको बेलामा क्रान्तिकारीहरूले लियोन सहर कब्जा गरेका थिए । त्यस लडाइँमा फ्युरियेको केही सम्पत्ति नोक्सान भयो । जीविकाको निम्ति फ्युरिये सेनामा भर्ती हुनुभयो । स्वास्थ्यको कारणले २ वर्षपछि उहाँले सेना छोड्नुभयो ।
सेनाबाट बिदा भएपछि उहाँले एक व्यापारी महाजनकहाँ काम गर्नुभयो केही वर्षपछि उहाँले आफ्नै अलग्ग व्यापार सुरु गर्नुभयो । व्यापारबाटै उहाँ आफ्नो हातमुख जोड्नुहुन्थ्यो र फुर्सतको बाँकी समय चाहीँ समाजको सङ्गठनको अध्ययन र चिन्तनमा लगाउनुहुन्थ्यो ।
सन् १८०३ मा उहाँले युरोपेली राजनीतिबारे एक लेख छपाउनुभयो । उहाँको त्यो लेख चर्चाको विषय बन्यो । भनिन्छ, नेपोलियनले समेत त्यस लेख र लेखकबारे जाँचबुझ गर्न लगाएको थियो ।
जीवनको सुरुमै व्यापारमा लागेर उहाँले व्यावहारिक जीवनका नयाँ नयाँ कुरा अनुभव गर्नुभयो । व्यक्तिलाई प्रधानता दिने र प्रतियोगिताको सिद्धान्त सा¥है नमिल्दो र अनैतिक कुरा हो भनेर थाहा पाउनुभयो । त्यसको ठाउँमा सहयोग र संयुक्त सिद्धान्त लागू गरेर मानवीय गुणलाई पूर्ण र समानरूपले विकास गर्न दिनुपर्छ भन्ने विचार अगाडि सार्नुभयो ।
सन् १८०८ मा उहाँले आफ्नो विचारलाई पूर्ण व्याख्या गरेर पहिलो रचना प्रकाशित गर्नुभयो । रचना दुई भागमा थियो । त्यस रचनामा उहाँले मानिसलाई स्वतन्त्ररूपले विकास गर्न दिनुपर्छ र नियन्त्रण अप्राकृतिक कुरा हो भनेर देखाउनुभयो । तर, लेखको भाषा अलि अस्पष्ट थियो ।
समाजमा मेल–मिलाप र समानता ल्याउन समाजलाई फेरि नयाँ ढङ्गले सङ्गठित गर्नुपर्छ । त्यसको निर्माणको निम्ति भइरहेका असङ्ख्य सामाजिक बन्धन र दबाबहरूबाट समाजलाई मुक्त गर्नुपर्छ र मानवीय इच्छाको पूर्ण विकास गर्न दिनुपर्छ । समाजमा अहिले आर्थिक शक्ति खेर गइरहेछ । त्यसलाई सदुपयोग गर्न सहकारी अथवा संयुक्त उद्योगको आवश्यकता छ । यसरी उहाँले घरको बन्दोबस्तदेखि लिएर सम्पूर्ण समाजलाई नै नयाँ ढङ्गले बनाउने विचार प्रस्तुत गर्नुभयो ।
आफ्नो रचनामा उहाँले व्यापारीहरूको बेइमानी र बढी नाफा खाने तरिकालाई उदङ्गयाई दिनुभयो । पुँजीवादी व्यवस्थालाई व्यापारिक हानथाप, योजनाहीन स्वभाव भएको र उत्पादनको भद्रगोल व्यवस्था भन्ने नाउँ दिनुभयो किनभने मजदुरहरूले बढी उत्पादन गर्दा झन् बेकारी, भोक र गरिबीको मार सहनुपर्ने हुन्छ । पुँजीवादी व्यवस्थामा समाजका सदस्यहरूको स्वार्थ आपसमा बाझिएको वा उल्टो हुन्छ ।
फ्युरिये समाजको बाझिएको कुरा यसरी देखाउनुहुन्छ, “डाक्टरहरू बढी रोग फैलेको हेर्न चाहन्छन् र वकिलहरू घर–घरमा मुद्दा भएको मन पराउँछन् । डकर्मी र सिकर्मीजस्ता कालिगढहरू आगो लागेर ४ भागको १ भाग सहरै खरानी भएको सपना देख्छन् र ऐना बनाउनेहरू असिना आएर सबै झ्यालका ऐनाहरू फुटेको सपना देख्छन् ।”
यसकारण, उहाँको विचारमा यस पुँजीवादी समाजलाई फेरि नयाँ ढङ्गले निर्माण गर्नुपर्छ । त्यसको निम्ति समाजका सदस्यहरूलाई अलग–अलग ढङ्गले नयाँ किसिमका घरहरू बनाएर बसोबास गराउनुपर्छ । नयाँ बस्तीमा नयाँ ढङ्गले बसोबास गर्ने त्यस समूह या समाजलाई उहाँले ‘फाक्लेंस’ नाउँ दिनुभयो । त्यस समाजको बस्ती र घरहरूको नक्सासमेत उहाँले बनाउनुभएको थियो । त्यो नयाँ बस्ती तीनकुने हुन्थ्यो, जसलाई लडाइँको बेलामा मोर्चाको रूपमा विकास गर्न सकिन्थ्यो । त्यो नयाँ बस्ती गाउँ र सहरभन्दा भिन्नै हुन्थ्यो । त्यस व्यवस्थाले सहर र गाउँको भेद हट्दथ्यो । एक बस्ती वा इलाकामा १६०० सदस्यहरू रहने छन् । तिनीहरू एउटै समूह वा घरमा रहनेछन् । उहाँले एक आदर्श समाजको कल्पना गर्नुभयो । त्यस समाजका सदस्यहरू विभिन्न दलहरूमा विभाजित भएका हुन्छन् र तिनीहरू खेती गर्छन् । तिनीहरू आ–आफ्ना चाखअनुसार काम गर्छन् । एउटै काम गरिरहँदा वाक्क वा दिक्क लागेर मन मर्छ । त्यसकारण, समाजका सदस्यले कुनै एक खास पेशामा लाग्नु पर्दैन र हेरफेर गरी काम गर्न पाउँछन् एक दलले अर्को दलको काम खुसी भएर गर्नसक्छन् मानवीय स्वभावलाई सही सिद्धान्तमा ढालेमा पुँजीवादी समाजमा तल्लो सम्झिइने काम पनि त्यस समाजमा इज्जत भएको काम सम्झिइने छ । बानी बसालेर लगेको खण्डमा केटाकेटीमा पनि फोहरमैला सोहर्ने वा तल्लो तहको काम गर्ने एउटा स्वाभाविक प्रवृत्तिको विकास हुन थाल्दछ । त्यस समाजमा बस्ने मानिसहरूले शारीरिक र मानसिक दुबै काम गर्नेछन् । तर, त्यस समाजमा व्यक्तिगत सम्पत्तिलाई उन्मूलन (खारेज) गर्नु पर्दैन भन्ने उहाँको विचार थियो । हरेक परिवारको अलग–अलग कोठा हुन्छ, पारिवारिक जीवन राम्रो हुन्छ । त्यहाँ धनी र गरिब सदस्यहरू हुन्छन् ।
‘फालेंक्स’ मा पुँजीवादी सम्बन्धका तत्वहरू रहनेछन् । नाफा त्यसका सदस्यहरूमा बाँडिने छ । आम्दानीको भागबन्डा श्रम, पुँजी र बुद्धिमा विभाजित गरिने छ । मजदुरहरूले १२ भागको ५ भाग, पुँजीपतिहरूले १२ भागको ४ भाग पाउनेछन् र बुद्धिको काम गर्नेले १२ भागको ३ भाग पाउनेछन् । यो फ्युरियेको आदर्श समाजको वितरण व्यवस्था हो ।
फ्युरियेका मीठा मीठा कल्पना र विचारहरू
सन् १८१२ मा उहाँकी आमा खस्नुभयो । आमाको सम्पत्तिबाट उहाँले केही पैसा पाउनुभयो । त्यसपछि उहाँ लियोन छोडेर बेली भन्ने ठाउँमा बस्न जानुभयो । त्यहाँ आफ्नो दोस्रो रचना तयार गर्न लाग्नुभयो । १८२२ मा उहाँको त्यो कृति पेरिसबाट प्रकाशित भयो । उहाँको योजना कार्यान्वित गर्न या व्यवहारमा लागू गर्न पेरिसका केही धनीहरूबाट सहयोग पाउने आशा गर्नुभयो । तर, उहाँको त्यो आशा सफल भएन । त्यसकारण, उहाँ लियोन फर्कनुभयो ।
सन् १८२६ मा उहाँ फेरि पेरिस जानुभयो र आफ्नो भएभरको पैसा किताब प्रकाशनमा लगाउनुभयो । पैसा नभएर उहाँ अब एक अमेरिकी संस्थामा कारिन्दा भएर काम गर्नुभयो  । १८२९ र १८३० मा उहाँका नयाँ कृतिहरू पनि प्रकाशमा आए । ती रचनाहरूमा उहाँको विचार प्रस्ट झल्किन्थ्यो ।
सन् १८३१ मा उहाँले सेन्ट साइमन र अर्का एक बेलायती काल्पनिक समाजवादी रोवर्ट ओवेनको आलोचनामा लेखहरू प्रकाशित गर्नुभयो । त्यस आलोचनाले गर्दा अरूको ध्यान उहाँको रचनाहरूमा पुग्यो । त्यतिबेला उहाँका केही समर्थकहरू पनि भेला भए । उहाँका समर्थकहरूमध्ये भिक्टोर कन्सिडरेन्ट मुख्य थिए । भिक्टोर कन्सिडरेन्टले १८३४ मा ‘समाजको भाग्य’ भन्ने रचना प्रकाशित गरे । फ्युरियेको विचारलाई राम्ररी बुझ्न त्यो धेरै काम लाग्ने र आवश्यक किताब थियो । फ्युरियेले आफ्नो विचारलाई प्रचार गर्न १८३२ मा एक समाचार पत्र निकाल्नुभयो । समाचार पत्र सफलतापूर्वक चलेन । त्यसकारण, त्यसलाई साप्ताहिकरूपमा निकाल्नुभयो । त्यो पनि सफल नभएपछि त्यसलाई मासिक पत्रको रूपमा निकाल्न थाल्नुभयो ।
फ्युरियेले पुँजीवादी समाजका असमानता र खराबीहरूलाई छ्यास्नुभयो, नयाँ उदाउने समाजको उज्यालो पक्षतिर औँल्याउनुभयो । उहाँको विचारमा त्यस नया समाजमा मानिस १४४ वर्ष बाँच्नेछन् । नयाँ–नयाँ पशुहरूको विकास हुनेछ । ती पशुहरू ‘ह्वेल माछा मार्ने’, ‘बाघ मार्ने’ र ‘गोही मार्ने’ क्षमताका हुनेछन् । समुद्र र महासागरका पानी नुनिलो नभई सर्वत जस्तै मिठो हुनेछ । मानिसले आफूले बनाएका अथवा कृत्रिम चन्द्रमाहरू आकाशमा छाड्ने छन् । ती चन्द्रमाहरूले रात पनि उज्यालो पार्नेछन् । यसप्रकार मानिसले ४ वटा चन्द्रमा आकाशमा छाडेर रात र दिन दुबैलाई उज्यालो पारिराख्ने छन् । लाखौलाख मानिसहरू सहाराको मरुभूमिमा जानेछन् र ती मरुभूमिहरू फलफूलका रमाइला बाग–बगैँचाहरूमा फेरिने छन् ।
चाल्स फ्युरियेले आफ्नो ‘फाक्लेंस’ योजनालाई लागू गर्न धनीहरूले मद्दत गर्नेछन् भन्ने आशा गर्नुभएको थियो । त्यस आशालाई लिएर उहाँ धनीहरूको दैलो–दैलोमा मद्दतको भिक्षा माग्न जानुभयो । ठूला–बडाहरूको ढोका घच्घच्याउन जानुभयो । यहाँसम्म कि सम्राट नेपोलियन र अरू ठूल्ठूला बैङ्कपतिहरू कहाँ पनि सहयोगको आशाले दर्शन भेटको निम्ति प्रतिक्षालयहरूमा पर्खनुभयो । ठाउँ–ठाउँ र बेला मौकामा ठूला–वडाको आगमन र भेटघाटको निम्ति कुर्नुभयो । यस्तै अनेक दौड धुप गर्नुभयो । तर, सम्पतिवालहरूले उहाँलाई कहिल्यै मद्दत गरेनन् । तर, उहाँं निराश हुनुभएन ।
सन् १८३४ मा उहाँको मासिक पत्र चल्न सकेन । १८३६ मा ‘फालेंक्स’ फेरि प्रकाशित गर्न सफल हुनुभयो । आफनो जीवनमै उहाँले ‘फालेंक्स’ समाजलाई व्यावहारिकरूपले चालू भएको हेर्न चाहनुहुन्थ्यो । त्यसकारण, उहाँका एक समर्थक वाउलेट डयु लादीले दामुलेट भन्ने जङ्गलको नजिकै एक चक्ला जग्गा किनेर त्यस समाजलाई कार्यरूप दिन खोजे, वाउलेट ड्यु लादी सेने–इट–ओसेकाका प्रतिनिधि थिए । उनले त्यहाँ एक बस्ती बसालेर एक ‘समाजवादी’ समुदाय गठन गरे । तर, पुँजीको कमीले त्यो समाजवादी समाज खत्तम भएर गयो । तर पनि उहाँ निराश भने हुनुभएन । मर्ने बेलासम्म उहाँले त्यस समाज स्थापना गर्ने विचार र आशा त्याग्नुभएन ।
उहाँको आशाको उल्टो धनीहरूले उहाँको नयाँ समाज बनाउने योजनालाई कहिल्यै मद्दत गरेनन् । १८३७ मई महिनामा उहाँले राम्रो भविष्यको कल्पना गर्दागर्दै सदाको निम्ति आँखा चिम्लनुभयो ।
फ्युरियेको व्यक्तित्व
आज फ्युरिये हाम्रोअगाडि हुनुहुन्न । तर, उहाँका मीठा–मीठा कल्पना र विचारहरूमाथि छानबिन र प्रयोग हुँदैछ । ‘समाजवाद’ र ‘साम्यवाद’ भन्ने रचनाहरूमा उहाँका विचारका आधार र सारहरू पाइन्छन् । उहाँं सा¥है एकान्तप्रिय र भावुक प्रकृतिका हुनुहुन्थ्यो । राम्रो सिद्धान्तले समाजलाई छिट्टै बदल्न सकिन्छ भन्ने उहाँको विचार थियो । तैपनि, एक्लो व्यक्तिगत प्रयासभन्दा सामूहिक र संयुक्त प्रयत्नहरू बढी प्रभावकारी हुन्छ भन्ने कुरा उहाँ मान्नुहुन्थ्यो ।
नयाँ समाज बनाउने उहाँको इच्छा धेरै उँचो थियो । उहाँको कल्पना धेरै बलियो थियो । तर, उहाँको व्यावहारिक पक्ष सा¥है फितलो सावित भयो ।
फ्युरियेको बारेमा एङ्गेल्सले राम्रो विवेचना गर्नुभयो र हामीलाई उहाँको व्यक्तित्वको दर्शन गराउनुभयो । १८०८ मा फ्यूरियेको पहिलो पुस्तक निस्क्यो । तर, उहाँको सिद्धान्तले १७९९ मा नै आकार लिइसकेको थियो ।
“फ्युरियेका रचनाहरूमा हामी त्यसबेलाको समाजको आलोचना पाउँछौँ । जो सा¥है फ्रान्सेली ढङ्गको र व्यङ्गपूर्ण छ । तर, त्यो काम पूर्णताले भरिएको थिएन । फ्युरियेले क्रान्तिभन्दा पहिले पुँजीपति वर्गको आफ्ना उत्साही भविष्य वक्ताहरूको चाखलाग्दा चिप्ला कुराहरूलाई क्रान्तिपछिका तिनीहरूकै शब्दहरूसँग दाँजिदिनुभयो । उहाँले पुँजीवादी संसारको भौतिक र नैतिक पतनशीलतालाई नहिच्किच्याइकन नङ्गयाई दिनुभयो ।”
उहाँले त्यस वास्तविकताको अगाडि विवेकको राज हुने समाज जन्मनेछ, सबै मानिसहरू सुखी हुनेछन्, असीम मानवीय पूर्णताको विकास हुनेछ भनेर भविष्यवाणी गर्ने पुराना दार्शनिकहरूका झिलिमिलि बयान र आफ्नै समयका पुँजीवादी आदर्शवादीहरूको गुलाफी र मीठा मीठा कुराहरूलाई उभ्याइ दिनुभयो । सबभन्दा राम्रा राम्रा कुराहरूमा कसरी सबभन्दा दयालाग्दो वास्तविकता भएको हुन्छ भनेर उहाँले देखाई दिनुभयो । आफ्नो तीखो व्यङ्गबाट उहाँले त्यस काम नलाग्ने शब्दजाललाई धुजाधुजा पारिदिनुभयो ।
फ्युरिये एक आलोचक मात्रै हुनुहुनथ्यो । नहडबडाइकन शान्त रहने उहाँको स्वभावले उहाँलाई एक व्यङ्ग्यकार बनाइदियो । साँच्चै भनूँ भने संसारका सबभन्दा महान् व्यङ्ग्यकार बनाइदियो । जतिको सशक्त र आकर्षक ढङ्गले क्रान्तिको हारपछि फैलिएको साटफेर र जालसाजीलाई उहाँले चित्रण गर्नुभयो । त्यत्तिकै, तीखो र चाखलाग्दो भाषामा फ्रान्सेली व्यापारमा फैलिएको पसले स्वभावको तस्वीर पनि खिचेर राखिदिनुभयो । त्यो त त्यसबेला फ्रान्सेली व्यापारको एक गुण भइसकेको थियो । उहाँले पुँजीवादी समाजमा आइमाईको स्थान र लोग्ने र स्वास्नीको सम्बन्धमा अझ बडो राम्रोसँग आलोचना गर्नुभएको थियो । स्वास्नीमानिसको स्वतन्त्रता नै कुनै समाजको स्वतन्त्रताको वास्तविक नापो हो भनेर सबभन्दा पहिले घोषणा गर्ने उहाँ नै हुनुहुन्थ्यो ।
समाजको इतिहाससम्बन्धी धारणामा फ्यूरिये सबभन्दा महान् हुनुहुन्छ । आजसम्मको इतिहासलाई उहाँले जङ्गली अवस्था, असभ्य अवस्था, पितृसत्तात्मक अवस्था र सभ्यताको अवस्था गरेर युगको विकासलाई चार खुड्किलोमा छुट्याइदिनुभयो । सभ्य भनाउँदो यो अन्तिम समाज आजको पुँजीवादी समाज हो, जो सो¥हौँ शताब्दीमा एक सामाजिक व्यवस्थाको रूपमा विकास भयो । उहाँले यस कुरालाई प्रमाणित गरिदिनुभयो कि–
“सभ्य अवस्थाका हरेक खराबीहरू असभ्यताको सरल रूपबाट विकास भएर जेलिएको, अस्पष्ट, शङ्कास्पद र छलपूर्ण भएको हो ।
सभ्यता आपसमा जेलिएको हुन्छ । ‘एक गन्हाउने घेरा’ मा घुमिरहन्छ । अनेक भित्री तानातानमा फसेको हुन्छ । तर, त्यसलाई फछ्याउन भने सकिँदैन । झन् ऊ आफूले इच्छा गरेको भन्दा उल्टो ठाउँमा पुग्छ । उहाँ एक उदाहरण दिनुहुन्छ, “सभ्यताकैमुनि ठूलो प्रचुरताबाटै गरिबी जन्मेको हुन्छ ।”
फ्युरियेले द्वन्द्वात्मक प्रणालीलाई उहाँको समकालीन जर्मन दार्शनिक हेगेलले जस्तै बडो राम्रोसँग प्रयोग गर्नुभयो । यसकारण, एङ्गेल्सले उहाँलाई काल्पनिक समाजवादको एक महान् संस्थापक मान्नुभयो ।
फ्युरियेले पुँजीवादको पतनशील नैतिकता, झूट, शुभलाभको स्वभाव, आइमाईको नराम्रो अवस्था र पुँजीवादको नसुल्झिने अन्तरविरोधलाई प्रस्टयाई दिनुभयो । इतिहासको क्रमबद्ध विकास र सभ्यताको झिलिमिलिमा लुकेको फोहरमैलालाई उदग्याई दिनुभयो । समाजको उत्थान र पतनलाई जाँच्ने वा हेर्ने तरिकाअगाडि सारिदिनुभयो ।
फ्युरियेको मृत्यु भएको १६३ वर्ष भयो । तर, उहाँका कति कल्पना र विचारहरू आज हामी केही रूपमा साकार भएको देख्दै छौँ । मानिसले बनाएको चारवटा चन्द्रमाले रात पनि उज्यालो हुने कल्पना गर्नुभएको थियो । हामी देख्छौँ, आज आकाशमा सयौँ हजारौँ भू–उपग्रहहरू विभिन्न उद्देश्यको निम्ति घुमिरहेका छन् । ती उपग्रहहरूलाई भू–चन्द्र पनि भन्ने गरिन्छ । अब त भू–उपग्रहले उज्यालोमात्रै दिने होइन कि गीत पनि सुनाउने भइरहेको छ । जनवादी गणतन्त्र चीनले छोडेको भू–उपग्रहमा ‘पूर्व रातो छ’ भन्ने गीत बजाउने गर्छ । अँ हो, चन्द्रमाले जस्तै उज्यालो दिने ठूल्ठूला चन्द्रमा हेर्न भने बाँकी नै छ ।
उहाँले भन्नुभएको थियो, समुद्रको पानी मीठो हुनेछ । तर, आज समुद्रको पानीलाई नुनिलो नबनाउने यन्त्र पनि बनिसकेको छ । मरुभूमिहरूमा नहरहरूको विकास हुँदै छ । बाग–बगैँचा बन्ने क्रम सुरु भइसकेको छ । उहाँले नयाँ किसिमका घरहरू, बस्तीहरू र सहर र गाउँभन्दा भिन्नै खालका बसोबासको कल्पना गर्नुभएको थियो । तर, आज समाजवादी देशहरूमा उहाँको विचारभन्दा अलि भिन्नै ढङ्गले नयाँ नयाँ घरहरू र बस्ती बनिरहेका छन् । कहीँ ‘कम्युन’ बनिरहेका छन् त कहीँ १६०० भन्दा बढी मानिस अटाउने भवनहरू बनिरहेका छन् । साँच्चै चीनको ‘कम्युन पुरानो सहर पनि होइन र पुरानो गाउँ पनि होइन । चीन आज शारीरिक र मानसिक श्रमको भेदलाई हटाएर साम्यवादी समाजमा भित्रिनको निम्ति समाजवादी समाजलाई निर्माण गर्दै छ । स्वास्नीमानिसको स्वतन्त्रता र समानताबारे उहाँंको विचार न्यायोचित छ । तर, समाजलाई जाँच्ने कसी चाहिँ त्योमात्र होइन । स्वास्नीमानिसले स्वतन्त्रता पाएर पनि आर्थिक स्वतन्त्रता र शोषण मुक्त नभएको समाज आदर्श समाज रहने छैन ।
तल्लो श्रमलाई बच्चैदेखि बानी गराउने उहाँको विचार केही हदसम्म ठीक छ । चीनमा आज बच्चैदेखि श्रमलाई प्रेम गर्न सिकाइन्छ र शिक्षालाई उत्पादन श्रमसँग मिलाउने नीति लिएको छ । तर, उहाँको आदर्श समाजमा वर्ग, व्यक्तिगत सम्पत्ति र शोषण रहने कुरो आज मेल खान सकेन ।
फ्युरियेका यस्ता केही कुरालाई छोडेर पुँजीवादको आलोचना र समाजलाई हेर्ने या अध्ययन गर्ने ढङ्ग स्वीकार गर्नुपर्छ । मानव जातिलाई सेवा हुने उनका केही कल्पनाहरू कहीँ हेरफेरका साथ देख्दै छौँ । तर, समाजको आर्थिक आधारलाई केन्द्र मानेर हेर्ने कुरोमा त्यत्ति विकास उहाँले गर्नसक्नुभएन । त्यसलाई माक्र्स र एङ्गेल्सले मात्रै गर्नुभयो । तैपनि, उहाँका रचनात्मक कुराहरूबाट सिक्छौँ र उहाँका कमीहरूलाई हेर्ने आँखाको विकास गर्दै जानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *