भर्खरै :

चाडपर्वमा विशेष सरसफाइमा ध्यान दिन जोड

भक्तपुर, ३० वैशाख । भक्तपुर नगरपालिकाबाट सञ्चालित ६ वटा शिशुस्याहार केन्द्रमा कार्यरत शिक्षिका तथा कर्मचारीहरूबीच बुधबार नव वर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चाडपर्वहरूको हाम्रो अमूल्य संस्कृति भएको र यसलाई सिर्जनशील ढङ्गले मनाउनुपर्नेमा जोड दिनुभयो । चाडपर्वमा विशेष सरसफाइमा ध्यान दिनुपर्ने बताउँदै उहाँले भक्तपुरलाई सुन्दर र आकर्षक नगरको रूपमा विकास गर्न नगरवासीहरूको ठूलो योगदान रहेको चर्चा गर्नुभयो ।
भक्तपुर नपाले ससाना बालबालिकाहरूको लागि नगरका ६ ठाउँमा शिशुस्याहार केन्द्र सञ्चालनमा ल्याएको बताउँदै जनताको मागअनुरूप अझ केही ठाउँहरूमा शिशुस्याहार केन्द्र सञ्चालन गर्न आवश्यक तयारी भइरहेको बताउनुभयो ।
शिशुस्याहार केन्द्रमा कार्यरत शिक्षिकाहरूले बालबालिकाहरूको मनोविज्ञान बुझेर समयअनुसारको शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिँदै उहाँले शिक्षिकाहरूले आफूसँग भएको ज्ञानको दायरा बढाउन पठन संस्कृतिमा विशेष जोड दिनुपर्छ भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले शिशुस्याहार केन्द्र सञ्चालनले धेरै बालबालिकाहरू लाभान्वित भएको बताउँदै यो शैक्षिक संस्थालाई थप परिस्कृत गर्दै लानुपर्ने आवश्यकताबोध गराउनुभयो । विद्यार्थीहरूको भविष्य शिक्षकहरूको मेहनतमा भरपर्छ भन्दै उहाँले बालबालिकालाई युग सुहाउँदो शिक्षा प्रदान गर्न शिक्षिकाहरू प्रेरित हुनुपर्ने बताउनुभयो ।कार्यक्रममा भनपाबाट सञ्चालित शिशुस्याहार केन्द्रका इन्चार्ज दीपेन्द्र प्रजापतिले भनपाबाट सञ्चालित शिशुस्यहार केन्द्र सञ्चालनका उद्देश्यहरूमाथि प्रकाश पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *