भर्खरै :

सिद्धान्त र विचारको राजनीति गर्ने दल आवश्यक

काठमाडौँ, १ वैशाख । बहुमत जनता राजनैतिक, वैचारिक र सैद्धान्तिकरूपमा सचेत नभएको कारण सामन्त र पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने दलले देशमा रजाइँ गरिरहेको हो । जनताले कुन दल राष्ट्रघाती, जनघाती, विश्वासघाती र कुन दलले कुन वर्गको सेवा गर्छ भन्ने कुरा नबुझेपछि त्यस्तै चरित्रका उम्मेदवारहरू जित्नु स्वाभाविक छ । राष्ट्रघाती दलबाट शासित हुनु हुँदैन भन्ने कुरामा जनता सचेत हुनुपर्छ । बहुमत जनताको प्रतिनिधित्व गर्ने दलका उम्मेदवारहरूलाई जिताउनुपर्ने बेला कुनै दलका नेताको प्रलोभन, दबाब, ठेक्कापट्टा, जागिर, पैसा, भोज र सामान लिनेमा मतदाता बिकेपछि हामीले कसरी असल उम्मेदवार चयन गर्नसक्छौँ ? यो समय त देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने असल उम्मेदवारलाई जिताउने अवसर हो ।
हाम्रो मतदान सत्ता र शक्तिको आडमा पदको दुरूपयोग गरी देशको सम्पत्ति कुम्ल्याउने उम्मेदवारलाई होइन । हाम्रो मतदान घोषणापत्र र प्रतिबद्धताअनुसार काम गर्ने वाचा गरी काम नगरेका उम्मेदवारलाई होइन । हाम्रो मतदान झूटको खेती गरी लोभ बाँड्दै दलको सिद्धान्त र विचार भुलेका दलका उम्मेदवारलाई होइन । स्थानीय तहका जनप्रतिनिधिहरूले निर्वाचनताका प्रतिबद्धता गरेअनुसार उनीहरूले काम गरेका छन् कि छैनन् ? यसबारे मतदाताले मूल्याङ्कन गर्नैपर्छ । स्थानीय तहमा विकासको नाउँमा भ्रष्टाचार र अनियमितता धेरै भएको खबर पनि प्रकाशमा आएको छ । तर, कति स्थानीय तहले प्रतिबद्धताअनुसार बुद्धि पु¥याएर काम गरेका छन् । त्यहाँ विकास कार्य भएको पाइन्छ । हिसाब–किताब पारदर्शी गरिएको पाइन्छ । जनसहभागिता जुटाइएको पाइन्छ ।
श्रमदान जुटाइएको पाइन्छ । अब देशभरिका मतदाताले यी सबैको मूल्याङ्कन गरेर साँच्चै असल, योग्य, सक्षम, देश र जनताप्रति समर्पित जनतासँग भिजेका, जनताको दुःख सुख बुझेका उम्मेदवारलाई मतदान गर्नुपर्छ ।
हाम्रो अमूल्य मत देशघाती दलका उम्मेदवारलाई नपरोस् । विकासको नाउँमा पदको दुरूपयोग गरेर अकुत सम्पत्ति कमाउने उम्मेदवारलाई हाम्रो मतदान नहोस् । सिद्धान्त र विचारको राजनीति गर्ने देशभक्त उम्मेदवार छानौँ । भ्रष्टाचार नगर्ने, अनियमितता नगर्ने उम्मेदवारी रोजौँ ।
देशको सीमा मिचे पनि विरोध नगर्ने, विदेशीको इसारामा उठबस गर्ने दास मनोवृत्तिका उम्मेदवारहरूलाई यो निर्वाचनमा हराऔँ । मतदाताको यस्तो महत्वपूर्ण जिम्मेवारी र अमूल्य मतलाई दुरूपयोग नगरौँ, खेर नपठाऔँ । समृद्धिको मीठोमीठो सपना बाँड्ने तर काम नगर्ने दललाई चिनौँ र त्यस्ता दलका उम्मेदवारलाई छानी छानी हराऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *