नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
युक्रेन सङ्कटको अपराधी संरा अमेरिकाले आफ्नो प्रभुत्व कायम राख्न लामो समयदेखि सङ्कट सिर्जना गर्नुका साथै अरूका दुर्भाग्यबाट लाभ उठाउँदै आएको छ । युक्रेन सङ्कट एक महिनाभन्दा लामो समय लम्बिएको छ । संरा अमेरिकाले यो सङ्कटलाई रुसलाई पछार्न, आर्थिक र राजनीतिक लाभ उठाउन र युरोपलाई रणनीतिक स्वायत्तता हासिल गर्न नदिन प्रयोग गर्न चाहेको छ । यसो गरेर उसले संरा अमेरिकी प्रभुत्ववादलाई बलियो बनाउन खोज्दै छ । तर, यो सङ्कटको दिगो प्रभावबारे छलफल गहिरिँदै गएसँगै रुस–युक्रेन द्वन्द्वले अमेरिकी प्रभुत्ववादलाई मसानघाटमा पु¥याउने विश्वास बलियो बन्दै गएको छ ।
सीएनएनका कार्यक्रम सञ्चालक फरिद जाकारियाले मार्च महिनामा द वाशिङ्टन पोस्टमा रुस–युक्रेन लडाईँ ‘उत्तर–अमेरिकी युग (पोस्ट अमेरिकन एरा) को सुरुवात’ हुने लेखेका थिए । त्यसको अर्थ ‘बितेका तीन दरुकमा चलेको प्याक्स अमेरिकाना’ को अन्त्य भएको छ । उनको तर्कमा दम छ । दशकौँसम्म आफ्नो सुरक्षाको लागि वाशिङ्टनप्रति निर्भर साउदी अरब र संयुक्त अरब इमिरेट्सका नेताहरू आज संरा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोन वार्ता गर्न मानिरहेका छैनन् । संरा अमेरिकाले आफ्नो निकटताको देश ठान्दै आएको भारतले वाशिङ्टनले पटक–पटक दबाब दिँदा पनि रुसको भत्र्सना र नाकाबन्दी लगाउने विषयमा संरा अमेरिकालाई साथ दिन मानेन ।
मोर्चाबन्दी बन्द गर
संरा अमेरिकाले रुसविरोधी मोर्चा बनाउन खोजिरहेको छ । तथापि, ‘रुसी खतरा’ को लगातार हल्ला गरेर र ‘तानाशाहीतन्त्रविरुद्ध प्रजातन्त्र’ को नाराबाजी गरेर उसले क्षणिक रूपमा युरोपेली देशहरू, जापान र अस्ट्रेलियाजस्ता पुराना मित्रहरूलाई एकजुट बनाएको छ । “यो वृत्त त्योभन्दा बढी फैलिएला जस्तो छैन”, मस्कोको कूटनीतिक प्रतिष्ठानअन्तर्गत अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सुरक्षा विभागका उपप्रमुख ओलेग तनोभले भने ।
संयुक्त राष्ट्र सङ्घमा १९० भन्दा बढी देश सदस्य छन् । तीमध्ये १४० भन्दा बढी देशले रुसविरुद्धको नाकाबन्दीमा साथ दिन मानेनन् । संसारका बहुमत देशहरूले नीति निर्माणमा संरा अमेरिका र उसका मित्र देशहरूबाट आफ्नो स्वाधीनता जोगाउन चाहन्छन् । आफ्नो घेरामा तान्ने संरा अमेरिकी प्रयासबाट उनीहरू परै बस्न चाहन्छन् । तनोभको भनाइमा यसले संरा अमेरिकाको शक्ति र प्रभाव कमजोर हुँदै गएको देखाएको छ ।
रुसी अन्तर्राष्ट्रिय मामिला परिषद्का विज्ञ डानिएल बोचकोभले संरा अमेरिकाका पुराना मित्रहरूभन्दा बाहिरका देशहरू तानाशाही नेतृत्वसँग उदारवादको द्वन्द्वको रूपमा रुससँगको प्रतिस्पर्धालाई प्रस्तुत गर्ने प्रयासलाई अस्वीकार गर्दै आफ्नो हितलाई जोड दिइरहेका छन् । विश्वव्यापीकरणको आजको युगमा धेरै देशहरूले रुससँग ऊर्जा, व्यापार, कृषि वा हतियारमा रुससँग सहकार्य गरेका छन् । “संरा अमेरिका आफैले इराक, अफगानिस्तान, सिरिया आदि देशमा मिचेको विश्वव्यापी उदारवाद र प्रजातन्त्रको अस्पष्ट लक्ष्यको निम्ति आफ्नो हित दाउमा लगाउन ती देशहरू तयार छैनन्”, बोचकोभले भने । अरू देशले कस्तो भुराजनीतिक अडान लिनुपर्छ भन्ने निधो गर्न बानी परेको संरा अमेरिका र केही पश्चिमा देशहरूलाई अहिले धेरै देशले तटस्थताको नीति लिँदा ठूलो झट्का परेको छ । संरा अमेरिकाले शीतयुद्धमा र त्यसपछि जस्तो व्यापक समर्थन पाउने दिन गए ।
ऐक्यबद्धताको स्वाङ
धेरै देशहरू कूटनीतिक समाधान र शान्तिको खोजी गरिरहेको बेला संरा अमेरिकाले आफ्नो स्वार्थसिद्ध गर्न युक्रेन सङ्कट समाधानतिर नजाओस् भनी आतङ्कको आगोमा घ्यू थप्ने काम गरिरहेको छ । रुस र युक्रेनको द्वन्द्वको कारण युरोपेली पुँजी संरा अमेरिकातिर आओस् भन्ने संरा अमेरिकाको अपेक्षा छ । यही बेला ऊ रुसलाई कमजोर बनाउन चाहन्छ । अनि युरोपलाई संरा अमेरिकाप्रति थप निर्भर बनाउन चाहन्छ । झट्ट हेर्दा युक्रेन सङ्कटले संरा अमेरिका र युरोपलाई इतिहासमा कहिल्यै नभएजसरी एकै ठाउँमा सङ्गठित बनाएजस्तो देखिन्छ । तर, के यो दीर्घकालीन हो ?
फुदान विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा सार्वजनिक मामिला कलेजका प्राध्यापक शेन यीले संरा अमेरिका र युरोपबीच अहिलेको ऐक्यबद्धता स्वाङमात्र भएको बताए । “मध्यम तथा लामो अन्तरालमा नाटोको अस्तित्वका साथै संरा अमेरिकी नेतृत्वले थप गम्भीर परीक्षा सामना गर्नुपर्नेछ”, उनले भने ।
“रुसविरुद्ध पश्चिमा शक्तिको ‘एकीकृत’ भत्र्सना र नाकाबन्दीले के प्रभाव पा¥यो ? के रुस रोकियो अथवा युक्रेन जोगियो ? के युरोपेली देशहरूले रुसलाई युरोपेली आर्थिक प्रणालीबाट लामो समयसम्म अलग राख्न सक्यो ? युक्रेनमा हतियार पठाउन पैसा दिनुको सट्टा रुस–युक्रेन द्वन्द्वले निम्त्याएको चुनौती र खतरा सामना गर्न वाशिङ्टनले युरोपलाई कुनै दिगो खालको सहायता गरेको छ ?”, शेनले सोधे ।
युक्रेन–रुस द्वन्द्वले आफ्नो स्वार्थ पूरा गर्न युरोपेली महादेशमा अनेकन तनाव उछाल्ने संरा अमेरिकाजस्तो बाह्य शक्तिमाथि युरोपले आफ्नो सुरक्षाको लागि भर पर्न नहुने देखाएको छ । नाटो युरोपमाथि नियन्त्रण गर्ने संरा अमेरिकाको हतियार भएको छ । “अर्ध मृत मोर्चाले भविष्यमा अझ गम्भीर संरचनागत समस्या सामना गर्नुपर्नेछ । त्यसको अर्थ नाटोले लड्न सक्नेछैन । त्यसपछि उसको अस्तित्वको के अर्थ रह्यो र ?”, शेनले सोधे ।
आर्थिक नाकाबन्दी थोपरेर रुसलाई कमजोर बनाउने संरा अमेरिकी प्रयास सजिलै सफल हुनसक्दैन । नाकाबन्दीको कारण रुस अझ बलियो बनेको छ । यद्यपि, विगत आठ वर्षमा रुस धेरै अर्थमा नाकाबन्दीबीच नै हुर्कियो । तर, नाकाबन्दीले रुसलाई कदापि नष्ट बनाउन नसकेको तनोभले भने ।
युक्रेन–रुस द्वन्द्व जति जति लम्बिंदै जान्छ, संरा अमेरिका ठूलो रणनीतिक अन्योलमा फस्दै जानेछ । त्यसक्रममा उसले दुश्मन ठानेका दुई देशहरू रुस र चीनसँग एकैबाजी सामना गर्नुपर्नेछ । “संरा अमेरिकाले दुई वटा प्रमुख मोर्चामा प्रतिस्पर्धा वा युद्ध जित्न सकेन”,चीन अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानको एसिया–प्रशान्त अध्ययन विभागका सहायक निर्देशक चाङ तेङचुनले भने । संरा अमेरिकाको अहिलेको रणनीतिको कारण उसले रणनीतिक अतिरञ्जना सामना गर्नुपर्नेछ र त्यसले उसको प्रभुत्ववादी स्थानलाई थप कमजोर बनाउनेछ उनको तर्क छ ।
अमेरिकी युग पछि
“रुसको विशेष सैनिक कारबाहीले संंसारबाट संरा अमेरिकी प्रभुत्ववादको अन्त्य नजिक ल्याएको छ । तसर्थ, बहुधु्रवीय संसारको नयाँ युग नजिक आएको छ”, तनोभले भने ।
भालदाई अन्तर्राष्ट्रिय बहस क्लवका अनुसन्धान निर्देशक फ्योदोर लुक्योनोभले हालै आरटी पत्रिकामा एउटा लेख प्रकाशित गराएका छन् । आफ्नो लेखमा उनले पुटिनले गरेको सैनिक कारबाहीले आजको विश्व परिस्थिति अन्त्यको घोषणा गरेको लेखेका छन् । यसको प्रभाव आगामी वर्षहरूमा अनुभव गरिनेछ । मस्कोले आफूलाई ‘सिँगो संसारमा महत्वपूर्ण परिवर्तनको चालक’ को स्थानमा उभ्याएको छ ।
रुस–युक्रेन सङ्कटले कस्ता प्रमुख परिवर्तन निम्त्याउने हो र दीर्घकालीन प्रभाव के पार्नेछ भन्ने कुराको लेखाजोखा गर्न बाँकी नै छ । तर, पूर्वको उदय र पश्चिमको अवनतिसँगै एउटा कुरा पक्का छ, विद्यमान अन्तर्राष्ट्रिय व्यवस्थामा परिवर्तनको सुरुआत भइसकेको छ । रुस र युक्रेनबीचको द्वन्द्वले धेरै अर्थमा संरा अमेरिकी प्रभुत्ववादको अवनतिलाई तेज बनाउनेछ । विश्वको परिस्थिति तेजगतिमा बदलिनेछ । पुरानो विश्व व्यवस्था ओरालोलाग्दो छ । संरा अमेरिकाले भने भने जसरी चल्ने युग समाप्त हुँदै छ । डलर प्रभुत्ववादलगायत संरा अमेरिकी प्रभावमा रहेको संस्थागत बन्दोबस्त सबै कमजोर बन्दै जानेछ ।
स्रोतः द ग्लोबल टाइम्स
अनुवाद : सुमन
Leave a Reply