भर्खरै :

इमरान खानलाई अमेरिकाले हटायो

पूर्वी चिनियाँ प्रान्त एनहुइ प्रान्तमा पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेशीसँग भएको एउटा बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यीले एउटा गम्भीर टिप्पणी गर्नुभयो । उहाँले ‘युक्रेन सङ्कटको खराब बाछिटाबाट’ एसियाली भेगलाई ‘जोगाउनुपर्ने’ आवश्यकता औँल्याउँदै भन्नुभयो ।
“हामी एसिया क्षेत्रमा शीतयुद्धकालीन मानसिकता फर्किन दिन सक्दैनौँ । एसियामा आमनेसामनेको स्थिति दोहो¥याउन असम्भव छ । हामीले यस भेगका साना र मझौला देशहरूलाई ठूला शक्ति राष्ट्रहरूको खेलको हतियार वा सिकारमा फेर्न दिनुहुँदैन । चीन पाकिस्तान र छिमेकी देशहरूको पक्षमा हुन चाहन्छ । क्षेत्रीय र विश्व शान्ति पक्का गर्न रचनात्मक भूमिका खेल्न चाहन्छ, एसियाको निम्ति योगदान दिन चाहन्छ ।”
तर, पाकिस्तानको उच्च कूटनीतिज्ञको रूपमा कुरेशीको यो अन्तिम विदेश भ्रमण भयो । लगत्तै उनी देश फर्के । वाङ यीले जस्तो स्थितिको बारेमा सचेत बताउनुभएको थियो, ठीक त्यस्तै अन्योलपूर्ण स्थितिमा उनको सरकार ढल्यो ।

के वाङ यीले यसको पूर्वसूचना पाउनुभएको थियो ? यसबारे थाहा पाउने कुनै उपाय छैन । तर, उहाँ पाकिस्तानको घरेलु राजनीतिमा बाहिरबाट हावा फुकेर उत्पन्न हुने तनावबारे उहाँलाई थाहा नभएको पक्कै होइन । यस्तै हावा फुकाइबाट पछिल्लोचोटि पाकिस्तानमा सत्तापलट भयो ।
सबै विवरण हेर्दा पाकिस्तानमा भएको सत्ता परिवर्तन बेलायती र अमेरिकी खेस्राअनुसार भएको स्पष्ट छ । प्रधानमन्त्री इमरान खानले अमेरिकी सरकारको यो भेग हेर्ने डोनाल्ड लु (दक्षिण र मध्य एसिया मामिलाका लागि सहायक मन्त्री) ले वासिङटनका लागि पाकिस्तानी राजदूतलाई इस्लामाबादमा प्रमको रूपमा आफ्नो दिन सकिएको धम्कीपूर्ण सन्देश पठाएको विषयमा आफूसँग ठोस दस्तावेजी प्रमाण भएको दाबी गर्नुभयो ।
इमरान खानले इस्लामाबादस्थित अमेरिकी दूतावासले पाकिस्तानी राजनेताहरूसँग मिलेमतो बढाएर आफ्नो गठबन्धन सरकार कमजोर बनाएको पनि आरोप लगाउनुभयो । वासिङटनले यी आरोपहरूको खारेज गरेको छैन ।
खानको विचारमा फेब्रुअरीमा उहाँले मस्कोको औपचारिक भ्रमण गर्नुभएको थियो । युक्रेनमा रुसले त्यति नै बेला विशेष कारबाही गर्नु संयोग थियो । त्यसले वासिङटन उत्तेजित बन्यो । आफ्नो स्वतन्त्र विदेश नीति र पाकिस्तानमा अमेरिकी सैन्य अखडा बनाउन ठाडै अस्वीकार गर्नुभएको खानले बताउनुभयो ।
पाकिस्तानमा भएको राजनीतिक उथलपुथलबीच सेनाप्रमुख जनरल कामार जावेद बाज्वाले रुसलाई असामान्य विषय बनाए । रुसले युक्रेनमा विशेष कारबाही गरेकोमा उनले खुला खण्डन गरे । कारबाहीलाई ‘ठूलो त्रासदी’ भन्दै त्यसले हजारौँको ज्यान लिएको र लाखौँलाई शरणार्थी बनाएको र ‘आधा युक्रेन ध्वस्त भएको’ भने । साथै उनले कारबाही ‘तत्काल रोक्न’ माग गरे ।
युक्रेनसँग पाकिस्तानको रक्षात्मक र आर्थिक सम्बन्ध उसको स्थापनाकालदेखि नै राम्रो भएको तर रुससँगको सम्बन्ध लामो समयदेखि ‘चिसो’ रहेको उनले बताए । यसका धेरै कारण भएको भन्दै उनले पाकिस्तानले युक्रेनलाई पाकिस्तानी वायुसेनाका विमानहरू मानवीय सहायताको रूपमा पठाएको र पठाइरहने बताए ।
बाज्वाले भने, “अमेरिकासँग हामी दुवै देशको रणनीतिक सम्बन्ध लामो र राम्रो छ ।” उनले ‘एउटासँगको सम्बन्धले अर्कोसँगको सम्बन्ध नखल्बलिने गरी’ पाकिस्तानले चीन र अमेरिकासँग सम्बन्ध फराकिलो पार्न चाहेको थपे ।
निःसन्देह एक शक्तिशाली जनरलले वासिङटनतिर हेरेर आफ्नो देशको राजनीतिक परिवर्तनबारे एकदम सतर्क भएर आफूलाई ‘इतिहासको सही पक्षमा’ राख्दै बोले ।
वासिङटनलाई बाज्वाको सन्देशका तीन पाटा छन् । एक, रुसप्रतिको इमरान खानको उत्साह उनमा थिएन । दुई, इमरान खानको ‘अमेरिकाविरोधी’ विदेश नीतिमा उनको सहमति छैन । तीन, उनले चीनसँगको पाकिस्तानको मित्रताले अमेरिकासँग सम्बन्ध बढाउन चाहने आफ्नो आकाङ्क्षा नधमिल्याउने इसारा गरे ।
पाकिस्तानी जनरलहरू मौसमी राजनीतिज्ञ भएको कुरा हामीले बिर्सनुहुँदैन । त्यसैले चीन र रुस दुवै इस्लामाबादमा भएको सत्ता परिवर्तनको भूराजनीतिक महत्वबारे एकदम सचेत छन् । वाङ यीको दूरदर्शी टिप्पणीको प्रतिध्वनि रुसको प्रभावशाली अखबार ‘कोमेरसान्त’ मा देखियो । मस्कोका एक विज्ञलाई उद्धृत गर्दै रिपोर्ट लेख्छ ः
“वर्तमान सङ्कटको स्थिति हेर्दा पाकिस्तान सत्ता परिवर्तनको संघारमा छ । यसले मस्कोसँगका धेरै सम्झौताहरू निस्क्रिय बनाउन सक्छ । अबको केही महिनाभित्र बन्ने पाकिस्तानको नयाँ सरकार अमेरिकापक्षधर हुनेछ ।”
राजनीतिक वैज्ञानिकहरूको रुसी प्रतिष्ठानको विश्लेषण केन्द्रका निर्देशक आद्रेइ सेरेन्कोले भन्नुभयो, “विशेष चासो उत्पन्न भएको छ… बाज्वाले खुला तालले रुसका शत्रुहरूको समर्थन गर्नुभयो । पाकिस्तानका सैन्य र राजनीतिक हस्तीहरू अमेरिकातिर ढल्किनुले रुसमाथि धेरै नकारात्मक असर पर्नसक्छ खासगरी अफगानिस्तानसँग जोडिएको मध्य एसियामा । तालिबानका अतिवादी लडाकुहरूलाई परम्परागतरूपमा पाकिस्तानका गुप्तचर निकायहरूले नियन्त्रण गर्छन् । त्यस्तै इस्लामिक स्टेट र जमात अन्सरुल्लाहजस्ता आतङ्कवादी समूहहरूले जिहादलाई अफगानी भूभागभन्दा बाहिर फैलाउने सोच त्यागेका छैनन् ।”
रुसी विदेश मन्त्रालयको कूटनीतिक प्रतिष्ठानका सदस्य भदिम कोज्युलिनले खतराको चेतावनी यसरी दिनुहुन्छ, “वासिङटनले पाकिस्तानी सरकारमाथि दबाब दिइरहेको छ । यसले मध्य एसियाली क्षेत्रमा सुरक्षा स्थिति जटिल बनाउने निश्चित छ । साथै सीएसटीओ (कलेक्टिभ सिक्युरिटी ट्रिटी अर्गनाइजेसन) देशहरूसामु नयाँ जोखिमहरू आइलाग्नेछन् ।”
सारमा भन्नुपर्दा रुसी विज्ञहरू युरेसियाली मित्रता चाहने इमरान खानका नीतिहरू उल्टिने अपेक्षा गर्छन् । बीआरआई (बेल्ट एन्ड रोड इनिसियटिभ) लाई सकेसम्म सफल हुन नदिनु अमेरिकी प्राथमिकता हो भन्ने कुरा चीनलाई पनि थाहा छ । पाकिस्तान बीआरआईको एउटा मुख्य केन्द्र हो । निश्चिय नै अफगानिस्तानमा चिनियाँ प्रभाव बढाउन इस्लामाबादले भूमिका खेलेको अमेरिकाले देखिसहनेछैन । हालसालैको काबुल भ्रमणमा वाङ यीले तालिबानी अन्तरिम सरकारसँग चीन–पाकिस्तान आर्थिक क्षेत्र (सीपीईसी) लाई अफगानिस्तानसम्म बिस्तार गर्न प्रस्ताव गर्नुभयो । सीपीईसी बीआरआईको वाहक हो ।
इरानको आँखाबाट पनि पाकिस्तानमा अमेरिकी उपस्थितिले हुने कुनै पनि घटनाले सुरक्षामा गम्भीर असर पर्नेछ । खासगरी अमेरिकी अखडाहरू फेरि खुल्नाले यस्तो हुनेछ । जेसीपीओए (ज्वाइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन) ब्युँताउन भियनामा भएका सम्झौताहरू साकार भइसकेका छैनन् । अमेरिकाले नाकाबन्दी हटाइहाल्यो भने पनि इरानविरोधी अमेरिकी छेकबार नीति कुनै नयाँरूपमा जारी रहने अनुमान छ । अब्राहम सम्झौताका हस्ताक्षरकर्ताहरूको हालैको बैठकको मुद्दा इरानका क्षेत्रीय नीतिहरूको जवाफ दिन संयोजनकारी बाटो बनाउनुपर्छ भन्ने थियो । इजिप्ट र अमेरिकीबीचको सो बैठक इजरायलमा बसेको थियो ।
इरानसँगको शत्रुतामा अमेरिकाले बनाएको पर्सियाली खाडीका देशहरूसँग मिल्नु पाकिस्तानको इतिहास रहँदै आएको छ । इमरान खानले त्यो बाटो छोड्नुभयो र तेहरानसँग वास्तवमै मित्रता बढाउन खोज्नुभयो । इस्लामाबादको नयाँ सरकारलाई वासिङटनले सो विचार उल्ट्याउन उक्साउने पक्का छ ।
अमेरिकाको सबैभन्दा ठूलो उद्देश्य पर्सियाली खाडी क्षेत्रमा चिनियाँ उपस्थिति हटाउनु हुनेछ । यसरी विभिन्न कारणहरूले गर्दा अमेरिकी रणनीतिको पोल्टामा पर्दा पाकिस्तान सदा महत्वपूर्ण खेलाडी बन्दै आएको छ । विश्वको वर्तमान गठजोडमा यो सम्बन्ध निर्णायक हुनेछ । अमेरिकी क्षेत्रीय स्वार्थहरू पूर्ति गर्न पाकिस्तानी सेनाले कीर्तिमान बनाउँदै आएको छ । यस कामको लागि पाकिस्तानसँग दुर्लभ क्षमता र ‘विज्ञहरू’ छन् । अहिलेको स्थितिमा यस्तो काम फत्ते गर्नसक्ने कुनै पनि मुसलमान देश छैन ।
इमरान खान फेरि सत्तामा नआउने माहोल बनाउन पाकिस्तानी जनरलहरूलाई अमेरिकाले अह्राउन सक्छ । तर, विडम्बना के छ भने भ्रष्टाचारको विरोध, सामाजिक न्याय र समावेशिताको निम्ति, इस्लाम र ‘अमेरिकावादविरोधी’ उहाँको ऊर्जाशील विचारले पाकिस्तानी माटोमा जरा गाडिसकेका छन् । त्यसलाई पराजित गर्न गा¥हो छ । जनता प्रमुख विपक्षी दलहरूको विरोधमा छन् । खासगरी तिनले सत्ता चलाउँदाको भ्रष्टाचार र नातावाद जनताले बिर्सेका छैनन् ।
त्यसैले ठूलो प्रश्न उब्जिन्छ । इमरान खानको क्रान्तिकारी भावनालाई कसले मलजल गर्ला ? लामो अवधिसम्म राजनीतिक खिचातानी चल्न सक्छ । यस्तो परिस्थितिमा सेनाको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । सैन्य नेतृत्वको भावी मनसाय अस्पष्ट छ । परम्परा हेर्दा पाकिस्तानी सैन्य नेतृत्व अमेरिकीपक्षधर रहँदै आएको छ । वासिङटनले रावलपिन्डीस्थित सैन्य मुख्यालयलाई सदैव आफ्नो पहिलो नम्बरको सहयोगी मान्दै आएको छ ।
सेना राजनीतिमा हात हाल्न अस्वीकार गर्छ । तर, राजनीतिक अन्योलको फाइदा उठाएर शक्ति हातमा लिन पाकिस्तानी जनरलहरू कहिल्यै हिचकिचाएनन् । निश्चय नै यस्तो काममा अमेरिकाले आड दिने नै छ । वासिङटनलाई हरियो झन्डा देखाएर बाज्वाले खेलको यही गोटी चालेका हुन् ।
(भद्रकुमार भारतका पूर्वकूटनीतिज्ञ हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *