भर्खरै :

“देशघाती काम गर्ने शासक दलहरूलाई जनताले निर्वाचनमा सजाय दिनुपर्छ”

भक्तपुर, ६ वैशाख । नेमकिपा बोलाछेँ एकाइ समितिको आयोजनामा मङ्गलबार निर्वाचन परिचालन समिति गठनार्थ बृहत् भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले एमसीसीको विरोध नगर्ने राजनीतिक दल देशद्रोही भएको र एमसीसी सम्झौताको विरोेध गर्नेहरू देशभक्त भएको चर्चा गर्दै देशघाती काम गर्ने शासक दलहरूलाई जनताले चुनावमा सजाय दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । पुँजीवादी चुनाव साध्य नभई साधनमात्र भएको बताउँदै उहाँले कार्यकर्ताहरूले पार्टी विधान पालना गर्दै अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
रुस–युक्रेन युद्धमा भारतले रुसको विरोध नगरेको मुख्य कारण रुसबाट सस्तोमा भारतले तेल पदार्थ पाइरहेको, इराकमा अमेरिकाले आक्रमण गर्दा ग्यास लाइन र तेलको पाइप काटी इराकी जनतालाई दुःख दिएको तर युक्रेनी जनतालाई त्यस्तो दुःख रुसले नदिएको भनाइ राख्दै उहाँले सही विचार बोकेको योग्य व्यक्तिलाई जिताएर पठाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
बहुदल आएको ३२ वर्ष भइसक्दा पनि जनताको निम्ति उल्लेखनीय काम नगर्ने शासक दलहरूकै अदूर्दशिताको कारण लाखौँ युवाहरू विदेशिएको र जनताले स्वास्थ्योपचारका लागि घर जग्गा बेच्नुपर्ने स्थितिले हरेक वर्ष लाखौँ नेपालीहरू गरिबीको रेखामुनि परेको यथार्थबारे उहाँले प्रकाश पार्नुभयो ।
नेमकिपा भनसका उपाध्यक्ष उपेन्द्र सुवालले पुँजीवादी निर्वाचन उपयोग गर्दै भनपाले घोषणा पत्रअनुसार काम गरेको र विकास निर्माण उपभोक्ता समितिमार्फत हुँदा कम खर्चमा धेरै काम भएको धारणा व्यक्त गर्नुभयो ।
शिक्षाप्रेमी उद्धव सुजखूले व्यक्तिगत स्वार्थभन्दा सामूहिक स्वार्थलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै ख्वप मोडेलबारे प्रचारप्रसार गर्नुपर्ने धारणा राख्नुभयो ।
अर्का शिक्षाप्रेमी राजाराम सुवालले पुँजीवादी निर्वाचनमा राजनीतिक चेतना कमी भएको व्यक्तिलाई अनेक लोभ प्रलोभन दिई हातमा लिने काम हुने भएकोले सचेत र सङ्गठित रहनुपर्ने विचार व्यक्त गर्नुभयो ।
एच.एस.सुवालको सभापतित्वमा भएको उक्त भेलामा आयोजक समितिका कृष्णगोविन्द दुवाल, विश्वराम त्वायनालगायतले बोल्नुभयो ।
भेलाबाट एच.एस. सुवालको संयोजकत्वमा १२१ सदस्यीय नेमकिपा भनपा ४ बोलाछेँ निर्वाचन परिचालन उपसमिति गठन गरियो ।
भनपा १ मा पनि निर्वाचन परिचालन समिति गठन
यसैगरी नेपाल मजदुर किसान पार्टी वडा नं. १ एकाइ समितिको आयोजनामा स्थानीय जनताको भेला भयो । उक्त भेलाले लक्ष्मीनारायण राजलवटको संयोजकत्वमा २२४ स्थानीय तहको निर्वाचन परिचालन समिति गठन ग¥यो ।
उक्त भेलामा नेमकिपाका केन्द्रीय सदस्य, भक्तपुर जिल्ला अध्यक्ष एवम् बाग्मती प्रदेश सभासद् सुरेन्द्रराज गोसाईले शासक दल र ठूला पार्टीको अकर्मण्यता, भ्रष्टाचारले देशको अर्थतन्त्र तहस नहस भएको बताउनुभयो । असंलग्न परराष्ट्र नीति भनेको कुनै पनि ठूला राष्ट्रसँग नझुक्ने देशको नीति हो, उहाँले भन्नुभयो ।
नेमकिपाले २०७४ सालको स्थानीय तहको निर्वाचनमा पार्टीको घोषणापत्रलाई अक्षरसः पालना गरी जनतासँग भिजेर काम गरेको कारण भक्तपुर नगरपालिका देशकै उत्कृष्ट नगर बनेको चर्चा गर्दै सबल नेतृत्व, सिद्धान्त, विचार, नैतिकता र इमानदारिता नेमकिपाको पहिचान हो भन्नुभयो ।
भेलामा नेमकिपा नगर समिति भक्तपुरका अध्यक्ष नारायणबहादुर दुवालले स–साना व्यापारीदेखि मजदुर किसान, महिला, बुद्धिजीवी, विद्यार्थी, शिक्षकहरूको हकहितको निम्ति सङ्घर्ष गर्दै आएको चर्चा गर्दै जनताको निम्ति दत्तचित भएर जनताको दुःख सुखमा साथ दिने पार्टी छान्नुपर्छ भन्नुभयो ।
वडा एकाइ समितिका उपाध्यक्ष एवम् वडाध्यक्ष श्यामकृष्ण खत्रीले जनताको जीवनसँग जोडिएको विषयमा काम गर्ने मौका दिएकोमा धन्यवाद दिँदै आउँदा दिनहरूमा पनि नेमकिपाका उम्मेदवारलाई जिताउन सहयोगको अपेक्षा गर्नुभयो ।
वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले क्षेत्रफलले ठूलो र नयाँ बस्ती भएकोले खानेपानी, ढल निकासका पूर्वाधारहरू भइसकेको र गर्न बाँकी काम नयाँ जनप्रतिनिधिले पूरा गर्ने विचार व्यक्त गर्नुभयो ।
नेमकिपा वडा नं. १ एकाइ समितिका अध्यक्ष लक्ष्मीनारायण राजलवटको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वडा एकाइ समितिका सदस्य एवम् महिला सदस्य गंगालक्ष्मी बमनूले स्वागत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *