भर्खरै :

विकृत राजनीतिको विकृत परिणाम

देशमा नयाँ संविधान जारी भएपछिको दोस्रो स्थानीय तहको निर्वाचन सङ्घारमै आइपुगेको छ । आवधिक निर्वाचनलाई प्रजातन्त्रको एक अभिन्न पक्ष मानिन्छ । प्रजातन्त्रमा निर्वाचनलाई राजनीतिक दलहरूको आदर्श, सिद्धान्त र घोषणापत्रको लडाइँ मानिन्छ । तर, त्यो कुरा आदर्शमै सीमित भएको छ । नेपालका ठूला भनाउँदा शासक राजनीतिक पार्टीहरू चुनावलाई आदर्शविहीन, सिद्धान्तहीन, प्रचार र पैसाको लडाइँ बनाइरहेका छन् । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारहरूले गर्ने निर्वाचन खर्चको सीमा तोकेको छ तर शासक दलका नेता र उम्मेदवारहरूले सीमाको विरोध गर्न थालेका छन् । निर्वाचनमा आचारसंहिताको उल्लङ्घन सामान्य जस्तै भएको छ । शासक पार्टीहरूले अनेक बहाना बनाएर भोजभतेर खुवाउन र मेस चलाउन थालेका छन् । ती पार्टी र उम्मेदवारहरू जनताको शुद्ध मत लिएर निर्वाचन जित्नेभन्दा आकर्षक नारा, आश्वासनको भारी, अनेक लोभलालच दिएर र पैसाले मत किनेर जित्ने प्रयासमा लागेका छन् ।
त्यसरी ठूलो रकम खर्च गरेर निर्वाचन जित्ने दल र नेताहरूको ध्यान जनताको सेवा गर्नेतर्फ कहिल्यै हुने गर्दैन बरु चुनावमा लागेको आफ्नो लगानी उठाउने र नाफा कुम्ल्याउने नै हुन्छ । अहिले ती दलहरूमा निर्वाचनमा उम्मेदवार बन्ने विषयमा ठूलो झैझगडा भइरहेका समाचार दिनदिनै बाहिरिरहेका छन् । जिल्ला – जिल्लामा उम्मेदवारको टिकट हत्याउनका लागि खुट्टा तानातान, तिकडमबाजी र मोलमोलाइ भइरहेका छन् । ती शासक पार्टीहरू वास्तवमा राजनीतिक पार्टी नभई लोभी, पापी र स्वार्थीहरूको जमघट पुष्टि भएका छन् । यो राजनीतिलाई देश र जनताको निःस्वार्थ सेवाभन्दा नाफाको व्यापार बनाउने विकृत राजनीतिको विकृत परिणाम हो ।
निर्वाचनमा राजनीतिक दलहरूले आ– आफ्नो सिद्धान्त र निर्वाचन घोषणा पत्रअनुसार जनतासित मत माग्नुपर्ने हो । जनता वा मतदाताले पनि राजनीतिक दलहरूको घोषणापत्र र उम्मेदवारहरूको चरित्र हेरेर मतदान गर्नुपर्छ । तर, पुँजीवादी व्यवस्थामा आदर्श र मूल्यमान्यता देखावा भएका छन् र व्यवहार अर्को भइरहेका छन् । नेपालमा २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनः स्थापना भएपछि अन्याय, पक्षपात, अनियमितता र भ्रष्टाचारजस्ता पुँजीवादी विकृति जन्मेर छोटो अवधिमै व्यापक बनेको थियो । त्यही पुँजीवादी विकृतिलाई बहाना बनाएर तत्कालीन राजा ज्ञानेन्द्रले प्रजातन्त्रविपरीत सत्ता हातमा लिएर प्रतिगमनकारी शासन चलाएका थिए । राजा सक्रिय भएर सत्ताबाट गलहत्याइएका नेका, एमालेजस्ता शासक पुँजीवादी पार्टीका नेताहरूले जनआन्दोलन २०६२/०६३ पछि पहिलेका गल्ती नदोहो¥याउने अपेक्षा जनताले गरेका थिए । तर नेका, एमालेमात्र होइन, पछिबाट आएका माओवादी र मधेसवादी पार्टीहरू पनि त्यही विकृतिको बाटोलाई राजमार्ग बनाएर अघि बढेको देख्दा जनता निरास भएका छन् ।
निर्वाचन जित्नकै लागि अहिले सत्ता गठबन्धनमा रहेका नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाबीच चुनावी गठबन्धन भएको छ भने एमालेको चुनाव चिह्नमा केही पार्टीहरूले चुनाव लड्ने सहमति गरेका समाचार आएका छन् । सिद्धान्त र व्यवहार मिल्ने राजनीतिक दलहरूबीच मोर्चा या गठबन्धन हुनुलाई अस्वाभाविक मानिन्न । तर, यहाँ त अहिले वर्ग शत्रु वा प्रधान शत्रु घोषणा गरेका दलहरूबीच सत्ता गठबन्धन र चुनावी गठबन्धन तथा तालमेल भएका छन् । राजनीतिक आदर्श र मूल्य मान्यताविपरीतका यी तालमेलहरू सिद्धान्तहीन तालमेल हुन् । एउटा राजनीतिक दलको उम्मेदवारले अर्को दलको चुनाव चिह्नमा चुनाव लड्नु अस्वाभाविकमात्र होइन, अनैतिक पनि हो । चुनाव जित्नका लागि आज जे पनि गर्नेहरूले भोलि चुनाव जितिहालेमा नैतिकता र ऐन नियम मानेर चल्छन् भनी कल्पना पनि गर्न सकिन्न । त्यसैले त्यस्ता अवसरवादी राजनीतिक पार्टी र उम्मेदवारहरूबाट नेपाली जनता सजग हुनैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *