रास्वपाको राष्ट्र सङ्घमा सम्बोधन अध्ययन – २
- कार्तिक १०, २०८३
दर्शन र सिद्धान्तको आधारमा राजनीतिक दल स्थापना गरिएको हुन्छ । निश्चित आदर्श समाज स्थापना गर्न कुनै न कुनै वर्गको प्रतिनिधित्व राजनीतिक दलहरूले गरिरहेका हुन्छन् । राजनीतिक दलहरू विभिन्न उद्देश्य बोकी हामीमाझ आएका हुन्छन् । राजावादीहरूको दल पनि हाम्रो घर आँगनमा आउनेछ । सङ्कीर्ण, साम्प्रदायिक र क्षेत्रीय विचार बोकेको दल पनि आउनेछ । कति दलहरू आफूलाई ठूला, शक्तिशाली र सरकारमा जाने भन्दै मत माग्न आउनेछन् । कति दलहरू आफूलाई कम्युनिस्ट भन्छन् तर काम, कारबाही, दलको नीति तथा कार्यक्रम सबै पुँजीवादी बन्दोबस्तको हुन्छ । पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने दलहरू पनि प्रजातान्त्रिक समाजवाद भन्दै श्रमजीवी वर्गको मत पाउन आउनेमा शङ्का छैन । यो हरेक राजनीतिक दलको अधिकारको कुरा हो ।
हामीमाझ मीठामीठा कुरा गर्ने, आकर्षक नारा फलाक्ने, झूट कुरा फैलाएर या भ्रममा पारेर मत लिने नेता तथा कार्यकर्ता पनि घर आँगनमा आउनेछन् । यो बेला प्रत्येक मतदाताहरू सचेत र सतर्क हुनुपर्छ । हाम्रो अमूल्य मत कसैको लहैलहैमा, धाक धम्कीमा, लोभलालचमा राख्ने होइन । हामी मतदातालाई वस्तुभाउ सम्झेर पैसाले किन्ने प्रयास गरिएको हुन्छ । हाम्रो आत्मा किन्ने काम गरिएको हुन्छ । यसकारण, हामीले कसैको लोभलालचमा नफसी देश र जनताको इमानदारीपूर्वक सेवा गर्दै आएका दलका उम्मेदवारहरूलाई मतदान गर्नुपर्छ । देशघाती सन्धि सम्झौता गर्ने, विदेशी शक्ति राष्ट्रको उठबसमा रहेर राजनीति गर्ने, नेपाली भूमिलाई खेलमैदान बनाएर देश–देशबीच द्वन्द्व बढाउने काममा सरिक दलका उम्मेदवारहरूलाई हराउन हामी अघि बढ्नुपर्छ ।
जनताका उम्मेदवारलाई जिताउन हाम्रो मत सदुपयोग हुनुपर्छ । सबै मतदाताले मतदान गर्नुपर्छ । मेरो एक मतले केही फ्क पर्दैन, आज मेरो घर खेत, पसल र उद्योगमा काम छ भनी मतदान गर्न नजाने सोच्नु हुँदैन । हाम्रो एक–एक मतले जनताका असल उम्मेदवारका हारजित हुनसक्छ । यसकारण, प्रत्येक मतदाता मतदानमा सरिक हुनुपर्छ । हाम्रो हरेक मत खेर नजाओस् । छाप ठीक ढङ्गले राखौँ । हाम्रो अमूल्य मत खेर पठाउन, हाम्रा उम्मेदवारहरूलाई हराउन सबैलाई चित्त नदुख्ने गरी सबै उम्मेदवारका चिह्नमा छाप राख्न आग्रह गरिएको हुनसक्छ । सोही पदलाई एकभन्दा बढी छाप राखे त्यो मत खेर जानेछ या बदर हुनेछ । आफूले रोजेको चिह्नभित्रै छाप राख्नुपर्छ । हुन त हामीले धेरै पटक मतदान गरिसकेका छौँ । मतदान गर्ने तरिका जानिसकेका छौँ । त्यसो भनेर छाप हाल्दा हड्बडाउनु हुँदैन । रोजेको चिह्न हो कि होइन राम्ररी हेर्नुपर्छ । कहिलेकाहीँ मतपत्र उल्टो परेर आफूले रोजेको चिह्न अलमल हुन सक्छ । यस्ता सबै कुरामा ख्याल गरेर हामीले जनताका उम्मेदवार चिनौँ र रोजेको चुनाव चिह्नमा छाप राखी निर्वाचनमा जिताऔँ ।
Leave a Reply