भर्खरै :

निमुखा जनताको दुःख जहाँको तहीँ

वैशाख ४ गते बिहान बेनिघाट रोराङ्ग गाउँपालिका –७ स्थित चरौंदी बजार, जहाँ आठ–दस जना मानिसहरूको बीचमा भइरहेको खैलाबैलामा सुनिन्थ्यो, “सधैँ तरकारी दिने व्यापारी साहुसँग बिरामीको औषधि उपचार गर्न पाँच हजार पैसा माग्दा उल्टै नेतासँग माग्न जानु भने ।”
छातीमा घाउ बनेर पाकेका बिरामी बिनिषा चेपाङ १८ वर्षकी भइन् । उनको श्रीमान् १६ वर्षका भए । गएको साल भागेर बिहे गरेको बिनिषा गर्भवती भएको ५ महिना पुग्दै छ । जचाउन जानलाई पैसा पनि नहुने भएकोले उनी मेडिकल नगई बसेकी थिइन् । एक्कासि घाउबाट पानी र पिप बग्न थाले, दुखाइ असह्य हुन थालेपछि औषधि गर्न भनी घरबाट उनी आफन्तसँग निस्केकी हुन् ।
गाउँबाट ४० मिनेटको ओरालो बाटो हिँडेर उनी चरौंदी बजारमा आइपुग्छिन् । औषधि गर्नको लागि सधैँ तरकारी लगिरहने साहुसँग पैसाको कुरा गर्दा व्यापारी साहुले नेतासँग माग्न जानुभन्दा बिरामीका आफन्तहरू ती साहुको बोली व्यवहारदेखि चिढिए । बिरामीका आफन्त लक्ष्मी चेपाङ भन्नुहुन्छ, “सिजनमा तरकारी उत्पादन हुँदा सधैँ उही व्यापारीलाई दिने हो । यस्तो आपत् परेको बेलामा उपचार गर्न पाँच हजार पैसा दिनुभन्दा नेतासँग माग्न जानु भन्छन् । आफूहरू के गर्ने कसो गर्ने भनी अतालिरहेका छौँ ।”
सानै उमेरमा विवाह गर्ने, बच्चा जन्माउने, शिक्षा पाउनबाट वन्चित हुने, आधारभूत स्वास्थ्य उपचार पाउन कठिन हुनेजस्ता कुराहरू समाजमा अझै व्याप्त छन् । समाजका यस्ता घटनाहरूले गाउँ–गाउँमा रहेका सिंहदरबारका छोटे राजाहरूलाई गिज्याइरहेका छन् । एउटी महिला बिरामी परेर छटपटी हुनु, उपचार गर्न पैसा नहुनु, पैसा माग्न पुग्दा व्यापारीले साहुले नेताकहाँ जानुभन्दा सोझासीधा गरिब मानिसहरू छटपटाएरै मर्नुपर्ने स्थिति यो घटनाले देखाएको छ । धादिङ चरौंदीदेखि चितवन भरतपुरसम्म पुगेर गुणस्तरीय स्वास्थ्य पाउन गरिब बिरामीलाई निकै दुःख पीडा रहेको छ ।
चुनावमा रक्सी, मासु र चिउरा, अनावश्यक भोजभतेर गर्ने खर्चले जनप्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रमा स्वास्थ्य स्वयंसेविका, जनचेतनामूलक कार्यक्रमको विषयमा सोचिदिएमा मानिसहरू रोग पालेर बस्ने थिएनन् । पुँजीवादी दलले बनाएको बिकृति र बिसङ्गतिको कारण समाजले यस्तो अवस्था झेल्नुपरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *