भर्खरै :

नयाँ भारतमा एक स्कूले विद्यार्थीको कथा

दक्षिणपन्थीहरूको बढ्दो मुसलमानविरोधी विद्वेष फैलिरहेको बेला एक विद्यालयको कार्यक्रममा देखिएको ऐक्यबद्धताले हाम्रो नैतिक अभिभारा बुझायो ।
खुश्बु (नाम परिवर्तन) कक्षा १२ की छात्रा हुन् । उनी नयाँ दिल्लीको एउटा नाउँ चलेको निजी विद्यालयमा पढ्छिन् । उनी आर्थिकरूपमा विपन्न विद्यार्थी हुन् । यस्ता विद्यार्थीलाई तिनीहरू ‘इडब्ल्युएस’ (इकोनोमिकल्ली विकर स्टुडेन्ट) भन्ने गर्छन् । दिल्लीलगायत अन्य भेगका विद्यालयहरूमा समेत गरिब परिवारका विद्यार्थीहरूका लागि इडब्ल्युएस कोटा छुट्याउनुपर्छ । यी विद्यार्थीहरूले बिरानो नमानून् भनेर केही विद्यालयहरूले मिहिनेत पनि गर्छन् । तिनलाई पाठशालाको जीवनमा अभ्यस्त बनाउँछन् भने अन्य विद्यालयहरूमा समानुपातिक शिक्षा दिएको भनेर नाउँमा दाँत ङिच्याउने काममात्र हुन्छ । धन्न खुश्बु पढ्ने विद्यालय अघिल्लो कोटीको विद्यालय हो ।
युवा परामर्शदाताको रूपमा म स्कूले विद्यार्थीहरूसँग कुराकानी गरिरहेको हुन्छु । हालसालै मैले खुश्बुको विद्यालयका कक्षा १२ का विद्यार्थीहरूबीच ‘विशाल चित्र’ नामक कार्यशाला चलाएको थिएँ । ती विद्यार्थीमध्ये धेरैजना कोरोना महामारीले हतास थिए । उनीहरू आउँदो बोर्ड परीक्षाको थप तनाव झेलिरहेका छन् । (उनीहरूमध्ये कसैले पनि प्रम मोदीको ‘परीक्षामा चर्खा’ कार्यक्रमले वाचा गरेअनुसार बल र राहत नपाएको देखिन्छ । स्कूले विद्यार्थीको लागि यो कार्यक्रम अनिवार्य थियो ।)
सन् २०२२ को शैक्षिक सत्रका (११ र १२ कक्षा पढ्ने) स्कूले विद्यार्थीहरूले आफू ठगिएको महसुस गरेको मैले बुझेको छु । तीमध्ये एकजनाले चोटिलो कुरा भन्यो, “हामी हाई स्कूलमा पुग्दाबित्तिकै लकडाउन सुरू भयो । हाई स्कूल सकिने बेला लकडाउन पनि सकियो ।”
यीमध्ये धेरै विद्यार्थीहरूले कोभिड–१९ को महामारीबीच आफ्ना मान्छे गुमाए र धेरै सास्ती बेहोरे । धेरैले अझै पनि सास्ती भोग्दै छन् । तिनीहरूलाई विगतको कुरा बिर्सने बनाउन र खुसीसाथ आउँदा दिनहरू हेर्ने बनाउन मैले खुश्बु र उनका सहपाठीहरूलाई ठूला पानाहरूमा तिनका बाल्यकालदेखिकै सम्झना, विचार र भावनाहरू लेख्न उत्साहित गरेँ ।
आफ्ना पानाहरू भरेपछि विद्यार्थीहरू स–सानो समूह मिलाएर बसे र आफूसँग घटेका घटनाहरूबारे आपसमा छलफल गरे । आफ्नो जीवनको ‘ठूलो चित्र’ हेर्नु र त्यसमा खालि पिरव्यथा र आघातमात्र थिएन भनी महसुस गर्नु उपचारजस्तो हुन्छ । पक्कै पनि जीवन गा¥हो छ । तर, जीवनमा बहार पनि आइरहन्छ ।
कार्यक्रम चलिरहँदा खुश्बुले ‘भेदभाव’ शब्द आफ्नो पानामा लेखेको मैले देखेँ । त्यसबारे कुरा खुलाउँछौ कि भनी सोध्दा उनले खुलाइन् पनि ।
तिनले ६ वर्षअघि सन् २०१६ को कुरा उप्काइन् । त्यसबेला तिनी ११ वर्षकी थिइन् । तिनले आफ्नो समूहमा ट्युसन कक्षामा आउने एउटा केटाबारे बताइन् । त्यो केटा तिनताका १५÷१६ वर्षको हुँदो हो । त्यो केटाले उनलाई देख्यो कि अनेकथरी नराम्रा शब्दहरूले बोल्याउँथ्यो किनभने तिनी मुसलमान थिइन् । उसले उनलाई ‘देशद्रोही’ भन्यो र ‘पाकिस्तान जा’ भन्यो । तिनले ऊसित राम्रो व्यवहार गर्ने प्रयास गरिन् र तर्कवितर्क गर्न चाहिन् । तर, तिनको केही लागेन । तिनले धेरै सहिन्, धैर्य गरिन् । अन्तमा त्यो पीडा र अपमान सहन नसकेर उनले ट्युसन कक्षा जानै छोडिन् ।
यो कुराले तिनलाई विगत ६ वर्षदेखि सताइरहेको छ । तिनले भनिन्, “अझै पनि म त्यो अबुझी घृणाको हमलाको खास कारण बुझ्न सकिरहेकी छैन ।”
खुश्बु सुँक्कसुँक्क गरिन् । अरू विद्यार्थीले उनलाई हेरेर चुप लागे । के गर्ने, उनीहरूले बुझ्न सकेनन् । त्यसपछि पालैपालो उनीहरू आए र उनको बगलमै बसे, उनलाई अङ्कमाल गरे र उनको हात समाए । एउटी छात्राले उनको पिँठ्यू सुम्सुमाइन् । अर्कीले उनको लागि एक गिलास पिउने पानी ल्याइदिइन् ।
त्यो एउटा मुटु चिर्ने क्षण थियो, तर मन छुने क्षण पनि थियो । तिनका सहपाठीहरूले तिनलाई भने, “तिमी कुन धर्मको हो भनेर हामीलाई मतलब छैन ¤ तिमी हाम्री साथी हौ ¤”
सुँक्सुँकाउँदै खुश्बुले सोधिन्, “तर उसले मलाई किन घृणा ग¥यो ? मैले उसको के बिगार गरेकी थिएँ र ?” एक सहपाठीले बुद्धिमानीपूर्वक उत्तर दियो, “उसको मनको घृणामा तिम्रो के दोष ।”
कोठामा खुश्बुका शिक्षक पनि हुनुहुन्थ्यो । उहाँले सम्झाउनुभयो, “सबैजना तिमीजत्तिकै बुद्धिमान छैनन् खुश्बु । केही मान्छे अरूले भनेका कुरा पत्याउछन् र अरूले बोलेका झूटा कुरामा पनि सजिलै विश्वास गर्छन् ।”
म चुपचाप त्यहाँ बसिरहँे र आफ्नी मुसलमान सहपाठीवरिपरि जम्मा भएका हिन्दू विद्यार्थीहरूलाई नियालेँ । त्यसपछि मैले खुश्बुलाई दुःख दिने केटाको बारेमा सोचेँ । त्यो केटो दक्षिणपन्थीहरूको मुसलमानविरोधी विद्वेषको ‘सिकारू’ हुनुपर्छ । यस्तो विद्वेष मोदीको पहिलो कार्यकालको सुरूआती दुई वर्षमा फैलिन थालेको थियो । देखावटी नै भए पनि त्यसबेला अलिकति सहिष्णुता थियो । त्यो केटा अहिले युवा भइसकेको होला । ऊ अहिले कस्तो युवा भयो होला भनी अनुमान गर्न दिमाग दुखाउनुपर्दैन ।
रामनवमीको दिन भारतका ६ वटा प्रदेशमा मुसलमानहरूविरूद्ध डरलाग्दो आक्रमण भयो । कुरा साफ छ, सत्तासीन पार्टीले साम्प्रदायिक अमनचयनको धाँचा पार्नु अब हिजोको कुरा भइसक्यो ।
भारतीय समाजको भविष्यमा कतै आशाको किरण छ भने त्यो खुश्बु, उनका सहपाठीजस्ता केटाकेटी र उनका शिक्षकमा छ । हामी वरिपरि यस्ता मान्छेहरू धेरै भइदिऊन् भनी कामनामात्र गर्नसक्छौँ । साथै घृणा र हत्याहिंसाका यी उर्लिँदा छालहरूविरूद्ध खुश्बुका सहपाठी र शिक्षकले गरेझैँ प्रतिकारमा उत्रिनु भारतीय नागरिकहरूको नैतिक दायित्व पनि हो । त्यसमा पनि हिन्दूहरूको काँधमा यो दायित्व आएको छ ।
(रोहित कुमार सकारात्मक मनोविज्ञानबारे जानकार अभियन्ता हुन् । उनी माध्यमिक विद्यालयहरूलाई विद्वेषमुक्त क्षेत्र बनाउनका लागि भावनात्मक सुझबुझ र किशोरकिशोरीका समस्यासम्बन्धी काम गर्छन् ।)

(The Story of High School Student in Nnew India)
–The Wire, 17/APR/2022

अनुवादः सुरेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *