भर्खरै :

उम्मेदवारको चरित्र चिन्ने कोसिस गरौँ

चुनाव नजिकिँदै छ । यतिबेला राजनीतिक पार्टीहरू आफनो उम्मेदवार छान्ने काममा व्यस्त छन् भने जनता पनि राजनैतिक पार्टीहरूले कस्ता उम्मेदवार दिँदै छन् भनेर चासो लिइरहेका छन् ।
गएको स्थानीय चुनावमा अधिकांश निर्वाचन क्षेत्रमा जितेर गएका जनप्रतिनिधिहरूले पाँच वर्षमा केही गर्न नसकेको खबर छ । त्यो खबरले जनता निरास भएका छन् । केही ठाउँमा जनताको भावना बुझेको र राम्रो काम गरेको देखेर त्यस्ता जनप्रतिनिधिहरूको प्रशंसा गरेको सुनेको छु । यो राम्रो काम हो । राम्रो कामलाई सबैले राम्रो नै भन्नुपर्छ । जनता हिजो पञ्चायती व्यवस्थापूर्वका जनता होइनन् । जनताप्रति जिम्मेवार र जनतामा भिजेका नेता तथा कार्यकर्ताहरूले मात्र राम्रो काम गरेको देखिन आएको छ ।
सङ्घीयताले केन्द्रिकृत शासन प्रणालीलाई विकेन्द्रीकृत गरी स्थानीय सरकारको रूपमा प्रशस्त अधिकार दिएको छ । केन्द्रको भर पर्नुपर्ने अवस्था छैन । आफ्नो ठाउँको विकास र आफ्ना विभिन्न समस्याहरूको समाधान गर्न स्थानीय सरकारले नै गर्न सक्ने बनाएका छन् । तर, पनि अधिकांश स्थानमा जितेर गएका जनप्रतिनिधिहरूले केही गर्न नसक्दा त्यस पार्टी र त्यसका जनप्रतिनिधिहरूको आलोचना हुनु स्वाभाविक हो । सच्चा जनप्रतिनिधि तथा देश र जनताप्रति जिम्मेवार जनप्रतिनिधि भएको खण्डमा अनि इच्छाशक्ति भएकाहरूका लागि अहिलेको स्थानीय निकाय स्थानीय सरकारकै रूपमा काम गर्न सकिने र आफ्नो ठाउँको मुहार फेर्न सकिने रहेछ भन्ने कुरा कतिपय राम्रो काम गरेर प्रशंसा पाएकाहरूबाट थाहा पाउन सकिन्छ ।
स्थानीय चुनाव स्थानीय सरकारको लागि हुने चुनाव हो । स्थानीय समस्या स्थानीय तवरबाटै समाधान गरोस् भन्ने संविधानमै उल्लेख भएअनुसार स्थानीय सरकारको लागि चुनावको व्यवस्था गरिएको हो । केन्द्र र प्रदेश सरकारलाई जस्तै स्थानीय विकासका लागि र जनताका सरोकारका कुरामा स्थानीय तवरबाटै समाधान गर्ने अधिकार कर्तव्य दिइएको छ । जनताप्रति उत्तरदायी बनाएको हुँदा स्थानीय सरकारको चुनाव स्थानीय विकास र समृद्धिको लागि मात्र होइन देश विकासको आधार स्तम्भ तयार पार्ने निकायको रूपमा चुनावलाई गम्भीरताका साथ लिइनुपर्दछ । देश विकास र स्थानीय जनताको समस्या समाधान गर्न संवेदनशील भएर काम गर्नुपर्ने ठाउँमा खसी काटेर भोज खुवाउने, कार्यकर्ता रिझाउन बियर लडाउने ,सारी चोलो बाँडने ,पैसा बाँडेर जित्नेहरूको हातमा स्थानीय सरकारको साँचो पर्यो भने जनताको समस्या समाधान हुने कुरा त परै जावस् कहाँबाट पैसा झर्छ र कसरी चुनावमा खर्च उठाउने भन्दै गलत व्यक्तिको पछि नलाग्ला भन्न सकिन्न । विगतको स्थानीय निकायको चुनावमा जितेर गएका कतिपय जनप्रतिनिधिहरू ठेकापट्टा मिलाउने, कमिसन खाने काममा बढी लाग्ने गरेको खबर छ । त्यसकारण, स्थानीय चुनावमा ठूला पार्टी र सरकारमा जाने पार्र्टी भनेर हेर्नुभन्दा उम्मेदवारको व्यवहार, नैतिकता, चरित्र कस्तो छ ? हेर्ने हो । सङ्गत कस्तो छ ? हेर्ने हो । देश र जनताप्रति समर्पित व्यक्ति हो कि होइन बुझ्ने हो । देश जनताप्रति समर्पित व्यक्ति भए सानै पार्टी भए पनि धेरै काम गरेका प्रशस्त उदाहरणहरू छन् । त्यस्ता व्यक्तिहरूलाई मत दिनु नै देश जनताको सेवा गर्नु हो । त्यसैले मतदान गर्नुअघि एकपटक उम्मेदवारको चरित्र चिन्ने कोसिस गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *