भर्खरै :

कन्सुलेटको कारिन्दा

(प्रसिद्ध समाजशास्त्री डोरबहादुर विष्ट सन् १९७२ देखि १९७५ सम्म ल्हासास्थिति महावाणिज्य दूतावासमा नेपाली दूतको रूपमा कार्यरत थिए । चिनियाँ क्रान्तिपछि तिब्बती जनतामा आएको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन र त्यहाँ बसोबास गर्ने नेपाली जनताको अवस्था नजिकबाट नियालेका विष्टले सरस शैलीमा लेखेको पुस्तक ‘रिपोर्ट फ्रम ल्हासा’ बाट यो छोटो संस्मरण उल्था गरिएको हो । – सम्पादक)
कन्सुलेट (१) का केही पदमा तिब्बतमै जन्मिएका नेपालीहरू कार्यरत थिए । हाम्रो मिसनमा तिनै कारिन्दामध्ये एक एक्काइस वर्षे युवक पनि काम गर्थे । उनी नेपाली बाबु र तिब्बती आमाको सन्तान थिए । उनीलगायत कन्सुलेटका सबै कर्मचारीहरूले आफूलाई कार्यालयले तोकिदिएको कठोर अनुशासनमा अभ्यस्त पारेका थिए । १९७३ को मे महिनामा हाम्रो छोरो केशर ल्हासा आयो र केही समय हामीसँगै बितायो । ऊ आउनुभन्दा पहिले त्यस युवकबारे हामीलाई त्यतिबिधि थाहा थिएन । केशर (२) ले त्यस कारिन्दालाई तिब्बतका अनेक रमणीय स्थलको भ्रमणमा गाइडको रूपमा लिएर गयो ।
बिस्तारै त्यस युवकले केशरलाई आफू, आफ्नो परिवार र विभिन्न विषयबारे आफ्ना विचारहरू सुनाए । उनको परिवारले कन्सुलेटका केही पूर्व कर्मचारीहरूको मनोमानीले गर्दा धेरै दुःख खेप्नुपरेको बताए । उनको बाबु काठमाडौँको ज्यापु थियो । ज्यापु पियक्कड थियो । अत्याधिक रक्सी पिउनाले ऊ म¥यो । ऊ जिउँदो छँदा कन्सुलेटकै अर्को कर्मचारीले उसलाई घरिघरि कुट्दो रहेछ । “माथिल्ला अधिकारीहरूले पुल्पुलाएको त्यस दुष्ट कर्मचारी” ले अनेक हत्कण्डा अपनाएर लाखौँको सम्पत्ति जोडेको थियो । उसले युवकको बाबुलाई निर्घात कुटेर एउटा खुट्टा नै भाँचिदिएको थियो । त्यस सन्काहाले युवक र उसका भाइबहिनीलाई पनि दुव्र्यवहार गथ्र्यो ।
अब भने परिस्थिति फेरिएकोले उनीहरू आफूलाई सुरक्षित महसुस गर्छन् । त्यस सन्काहालाई कन्सुलेटबाट निकाला गरेको थियो । युवककी आमा अब चिन्ताहरूबाट मुक्त छिन् । उनी हरेक दिन पुजाकोठामा घिउको दियो बालेर अहिले मिसनमा आएका कर्मचारीहरूको बसाई लम्बाइदिनु भनी ईश्वरसँग पुकार गर्छिन् । अहिलेजस्तो सुरक्षित र आराम पहिले कहिल्यै महसुस नगरेको उनी दोहो¥याइरहन्छिन् । अहिले कन्सुलेटका कर्मचारीहरू गरिब र निमुखाप्रति निकै दयालु छन् । खराब व्यक्तिहरू बाँकी छैनन् । सहरका सरकारी अधिकारीलगायत धेरै मानिसहरू यसै भन्छन् ।” युवकले निष्कर्ष निकाल्दै भने, “हजुरको बुबा पक्कै पनि कम्युनिस्ट हुनुपर्छ ।” तीनछक्क पर्दै केशरले भन्यो, “हाम्रो बुबा कम्युनिस्ट हो भन्ने मलाई लाग्दैन । तिमीलाई किन यस्तो लाग्यो हँ ?” केशरले सोध्यो । युवकले कम्युनिस्टहरू मात्र दयालु हुन्छन् र उनीहरूले मात्र गरिब र शोषितहरूको रेखदेख गर्छन् भन्ने आफ्नो र आफ्नो परिवारको विचार रहेको बताए । केशरले उसलाई हरेक व्यवस्थामा असल र खराब मानिस हुन्छन् भनी सबिस्तार बतायो । गरिब र निमुखाप्रति असल व्यवहार गर्न कोही कम्युनिस्ट नै बन्नुपर्छ भन्ने छैन । समाजमा असल र खराब गैरकम्युनिस्टहरू जत्तिकै असल र खराब कम्युनिस्टहरू पनि हुन्छन् । कुनै व्यक्तिको कम्युनिस्ट सिद्धान्तप्रतिको निष्ठा र उसको व्यक्तिगत आनीबानीबीच कुनै साइनो छैन । त्यस युवकले आपत्ति जनाउँदै भन्यो, “त्यसो भए ल्हासा र चीनका अन्य भेगमा कम्युनिस्टहरू आउनुभन्दा पहिले हाम्रो परिवार र हामीजस्तै अरू धेरै गरिब परिवारहरूमाथि किन दुव्र्यवहार गरिन्थ्यो त ?” निश्चय नै केशरसँग यसको जवाफ थिएन ।
१. तिब्बतस्थित नेपाली महावाणिज्य दूतावास
२. डोरबहादुर विष्टका छोरा
अनुवाद : सुरेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *