भर्खरै :

घोषणापत्र काम गर्ने प्रतिबद्धता पत्र

हरेक राजनीतिक दलको दर्शन, सिद्धान्त र विचार हुन्छ । दर्शन, सिद्धान्त र विचारकै आधारमा दलले राजनीतिक गतिविधि गरेको हुन्छ । घोषणापत्र पनि दलकै सिद्धान्त र विचारको आधारमा तय गरिएको हुन्छ । घोषणापत्र प्रतिबद्धता पत्र हो, देखाउने दाँत होइन । मतदाताले घोषणापत्रकै आधारमा मतदान गर्ने हो । घोषणापत्र काम गर्ने प्रतिबद्धता पत्र भएको हुँदा आफूले गर्न नसक्ने काम त्यसमा उल्लेख गर्नु उपयुक्त हुँदैन । लोभ लाग्दा नारा फलाकेर, असम्भव कुरा उल्लेख गरेर मतदातालाई छकाउने काम कुनै दलले गर्नु सही होइन ।
चुनावी घोषणापत्र जनतामा विश्वास दिलाउने र विश्वास गर्ने भरपर्दाे प्रतिबद्धता पनि हो । घोषणापत्र सम्बन्धित पार्टी या निर्वाचित जनप्रतिनिधिहरूले गर्ने पाँचवर्षीय कार्यक्रम हो । घोषणापत्र दलहरूबीच अस्वस्थ प्रतिस्पर्धा गर्ने प्रतिबद्धता हुनुहुँदैन । यो पाँच वर्ष या आफ्नो कार्यकालभित्र पूरा गर्ने कार्यक्रम हो । निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो दलले सार्वजनिक गरेको घोषणापत्र कार्यान्वयन गर्नुपर्ने हुन्छ । कार्यान्वयन गर्नसक्ने क्षमता भएका उम्मेदवारहरू हुनुपर्छ ।
जनताले छानेका उम्मेदवारहरू योग्य र सक्षम हुनुपर्छ । पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याउने लोभी पापीहरूलाई हामीले निर्वाचित नगरौँ । समाजमा भिजेका, दुःख सुख बुझेका, व्यवहारिक ज्ञान भएका देशभक्त उम्मेदवारहरू हामीले छानौँ । स्थानीय तह भनेको स्थानीय जनतासँग सम्बन्धित निकाय हो । स्थानीय तह विकाससित मात्र सम्बन्धित छैन । स्थानीय तहको विकाससँगसँगै जनताको सेवा गर्ने अर्काे महत्वपूर्ण जिम्मेवारी पनि हुन्छ । जनप्रतिनिधिहरू जनताको सांस्कृतिक स्तर उठाउने, नागरिक भावना जगाउने, विकासप्रति अभिप्रेरित गर्ने, आपत्विपत् या सङ्कटको बेला साथ र सहयोग गर्न र गराउन अभिप्रेरित गर्ने जनसेवक र समाजसेवी हुनुपर्छ । स्थानीय तह र स्थानीय जनताको सेवा बुझ्नुको साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे अध्ययन गर्ने र तद्नुसार जनतालाई सुसूचित पार्ने व्यक्ति जनताको निम्ति सही उम्मेदवार हुनेछ ।
हाम्रा उम्मेदवार इमानदार हुनुपर्छ । भ्रष्टाचार र अनियमितता नगर्ने, कुनै आपराधिक क्रियाकलापमा संलग्न नभएको उम्मेदवार जनताको निम्ति प्रिय बन्छ । जनतालाई दुःख दिने, सताउने, व्यक्तिगत स्वार्थमा लाग्ने उम्मेदवार जनताको निम्ति आवश्यक छैन । समय र परिस्थिति अनुकूल अघि बढ्ने, जनताको कामदेखि तर्सने, डराउने उम्मेदवारले जनताको सेवा गर्नेछैन । सुसंस्कृत या उन्नत समाज बनाउन लागिरहने उम्मेदवार देश, समाज र जनताको निम्ति उपयुक्त हुन्छ । यो स्थानीय तहको निर्वाचनमा देश र जनताप्रति समर्पित उम्मेदवारलाई चयन गर्नुपर्छ । प्रत्येक मतदाताहरूले कसैको लोभलालच, प्रलोभन, धम्कीको भरमा कसैलाई मतदान नगरौँ । पछि प्रायश्चित हुने गरी गलत व्यक्तिलाई निर्वाचित नगरौँ । यसतर्फ सबै मतदाताहरू सचेत होऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *