कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
नेपालका केही बुद्धिजीवीहरूमा युक्रेन घटनाहरूबारे ठूला भ्रमहरू देखिन्छन् । ती निम्न छन् –
१) ‘विश्व साम्यवादी र लोकतान्त्रिक देशहरू’ मा विभाजित छ ।
सन् १९९१ पछि सोभियत कम्युनिस्ट पार्टी, समाजवाद र सोभियत सङ्घ एक पुँजीवादी देशमा पतन भएको र विश्रृङ्खलित भएको थियो । संरा अमेरिकाले नेतृत्व गरेको नाटो साम्राज्यवादी सैनिक सङ्गठनसँग जुझ्न बनेको पूर्वी युरोपेली देशहरूको सैन्य सङ्गठनसँग वार्सा सन्धि सङ्गठन पनि रुसले विघटन ग¥यो । संवैधानिकरूपले वर्तमान रुसी महासङ्घ एक पुँजीवादी लोकतान्त्रिक देश हो । उत्पादन र सेवा सबै निजी स्वामित्वमा परिणत भइसकेका छन् । रुसमा ३ लाख विभिन्न साम्राज्यवादी देश र पुँजीवादी देशहरूको गैरसरकारी संस्थाहरू सक्रिय थिए, गोर्भाचोभ सरकारका सबैजसो आर्थिक, सामाजिक, राजनैतिक र कूटनैतिक सल्लाहकारहरू अमेरिकी विश्वविद्यालयका विशेषज्ञ र अमेरिकी गुप्तचर विभाग सीआईएका एजेन्टहरू थिए । शासन नयाँ पुँजीपति वर्गको हातमा गयो ।
२) चीन, भारत, नेपाल, एसियाली र अफ्रिकी तथा ल्याटिन अमेरिकी देशहरू तेस्रो विश्वका सदस्य हुन् ।
सन् १९९१ भन्दा पहिले अर्थात् सोभियत सङ्घ र पूर्वी युरोपेली समाजवादी देशहरू कायम रहँदासम्म संसार तीन शक्तिको रूपमा विभाजित थियो । एक, संरा अमेरिका र रुस पहिलो विश्व थिए । आर्थिक, विज्ञान र प्रविधिको विकास, सैन्य शक्ति आदिको कारण ती दुई देश पहिलो विश्वका थिए ।
दुई, युरोपेली देशहरू, क्यानडा, जापान आदि देशहरू दोस्रो विश्वका थिए ।
तेस्रो, चीन, भारत र भर्खर स्वतन्त्र र मुक्त भएका एसियाली, अफ्रिकी र दक्षिण अमेरिकी देशहरू विकासशील देशमा थिए । ती देशहरू नाटो र वार्सा सङ्गठनजस्ता सैन्य क्याम्पमा थिएनन् । तेस्रो विश्वको वकालत गर्ने चिनियाँ नेता माओ त्सेतुङ थिए । तेस्रो विश्व तटस्थ र असंलग्न (दुई सैन्य सङ्गठनबाट अलग) थिए ।
संसारका सबै राज्यहरू शासक वर्गले अर्को विरोधी वर्गलाई दबाउनकै निम्ति विकास भएका हुन् । यस अर्थमा हरेक राज्य निश्चित वर्ग र जातिको तानाशाही हुने गर्छ । संरा अमेरिका संसारको सबभन्दा ठूलो तानाशाही शक्ति हो । त्योभन्दा पहिले बेलायती साम्राज्यवाद सबभन्दा ठूलो पुँजीवादी तानाशाही राज्य शक्ति थियो । जसको साम्राज्यमा कहिले सूर्य डुब्दैन भन्ने कहावत चलेको थियो । साम्राज्यवादी शक्तिहरू साँचोमा प्रजातन्त्रवादी वा लोकतान्त्रिक हुने गर्दैनन् । सुरुमा सामन्तवाद विरोधमा बेलायती पुँजीवादी क्रान्तिले पुँजीवादी प्रजातन्त्रको स्थापना भएको थियो– १६४० तिरै । पुँजीपति वर्गको नेतृत्वमा सामन्तवादको विरोधमा र उत्पादनको साधन र स्रोत एवम् सम्पत्तिमा पुँजीपति वर्गको स्वामित्व स्थापनाको निम्ति भएको क्रान्ति नै पुँजीवादी क्रान्ति हो । अर्को भाषामा सामन्त र पुँजीपति वर्गको मिलेमतोमा उठ्दो कामदार वर्गलाई दबाउने पुँजीपति वर्गको तानाशाही नै आजको प्रजातन्त्र र लोकतन्त्र हो ।
बेलायतको पुँजीवादी क्रान्तिपछि अमेरिकी स्वतन्त्रता आन्दोलन र फ्रान्सेली राज्य क्रान्ति पनि पुँजीवादी क्रान्तिहरू नै थिए । सामन्तवादको विरोधमा ती सशस्त्र सङ्घर्षबाट प्राप्त पुँजीवादी लोकतन्त्र मजदुर वर्गलाई दबाउने प्रजातन्त्रमा फेरियो ।
सन् १९१७ को अक्टोबर क्रान्ति सामन्त र पुँजीपति वर्गको विरोधमा भएको समाजवादी क्रान्ति थियो र १९९१ पनि बेलायत र फ्रान्समा राजतन्त्रको पुनः स्थापना भएजस्तै रुस र पूर्वी युरोपेली समाजवादी देशहरूमा पनि पुँजीवादको पुनः स्थापना भयो । यसकारण, अहिले संसारमा साम्यवादी शिविर छैनन् पश्चिमी लोकतान्त्रिक शक्ति भनेको साम्राज्यवादी देशहरूको एक आक्रामक सैन्य सङ्गठन र फासीवादी र तानाशाही व्यवस्थाको संयुक्त मोर्चा हो – नाटो ।
३) चीन र रुसको आजको स्थिति
चीन र रुस संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्का सदस्यहरू हुन्, संरा अमेरिका, बेलायत र फ्रान्सजस्तै । चीन पहिले वार्सा सङ्गठनको सदस्य पनि थिएन । यस अर्थमा चीन एक साम्यवादी ‘खेमा’ होइन बरु तटस्थ र असंलग्न देशको रूपमा छ । चीन र सोभियत सङ्घको मित्रता कम्युनिस्ट सिद्धान्त र समाजवादी निर्माणसँग सम्बन्धित मित्रता र मत भिन्नताको आधारमा कायम थियो ।
४) ‘अमेरिकासँगको व्यापार सन्धिले चीन आर्थिकरूपले सर्वशक्तिमान भएको थियो’ भन्नेबारे चीन एक सभ्यता र संस्कृति विकास भएको, इतिहासको मध्यकालमै एक समृद्धि देश थियो । चीन कम्पास, रेशम, बारुद, कागज र छापाखानाजस्तै अनेक वस्तुको आविष्कार गरेको प्राचीन देश थियो । १९ औँ शताब्दीमा बेलायत, अमेरिका, फ्रान्स, रुस, जापानजस्ता १४ साम्राज्यवादी र उपनिवेशवादी देशहरूले चीनलाई टुक्रा–टुक्रा गरी अर्ध उपनिवेश बनाएका थिए । पछिल्लो समयमा अमेरिकाले चीनका ठूलो बजार र लगानीको उद्देश्यले चीनसित आर्थिक सम्बन्ध राख्यो । संरा अमेरिका र चीनको साङ्घाई विज्ञप्तिअनुसार थाइवान, हङकङ र तिब्बतलाई अमेरिकाले चीनको अभिन्न अङ्ग मान्ने र चीनको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने भनी चिनियाँ क्रान्तिपछि कूटनैतिक सम्बन्ध स्थापनापछि आर्थिक सम्झौताहरू संरा अमेरिका र चीनले गरेका थिए । दुई देशको व्यापार र लगानीले दुवै देशले आ–आफ्नो हित हेरे र लाभ हासिल गरे ।
यसको अर्थ संरा अमेरिकासँगको आर्थिक सम्बन्धले चीनले मात्र फाइदा ग¥यो भन्ने कुरा सत्य होइन । संरा अमेरिकासँगको व्यापार युद्धबारेको चिनियाँ सरकारको श्वेतपत्रअनुसार चीनसँगको व्यापार र लगानीले अमेरिकाले विभिन्न क्षेत्रमा चीनबाट धेरै लाभ प्राप्त गरेको प्रस्ट छ । विश्व व्यापार सङ्गठनको ‘जितजित’ को सिद्धान्तको आधारमा ती दुई देशको व्यापार र लगानी सुरु भएको थियो भने अमेरिकासँगको व्यापारले चीन समृद्ध भयो भन्ने विषय तथ्यले सावित गर्दैन । चीनको व्यापार र लगानी सम्बन्ध अमेरिकाबाहेक युरोपेली देशहरू, एसिया, अफ्रिका, ल्याटिन अमेरिकी र टापु देशहरूसँग पनि थियो र छ भन्नेबारे जगजाहेर छ ।
५) युक्रेनमा रुसको आक्रमण होइन प्रत्याक्रमण हो
ख्रुश्चेभ र त्यसपछिका गोर्भाचोभसम्मले सोभियत सङ्घलाई १५ टुक्रामा जाति, भाषा र क्षेत्रको आधारमा विश्रृङ्खलित पारे । साँच्चै भनौँ भने रुसी महासङ्घ एक प्रकारले संरा अमेरिकाको पछि पछि लागेको थियो । विज्ञान र प्रविधि, अर्थतन्त्र, हातहतियार नियन्त्रण आदि सबै क्षेत्रमा शिक्षा र कला–संस्कृतिमा समेत रुसमा अमेरिकी प्रभाव बढ्दै गयो । हुन त जारकालीन समयमा विशाल रुसी साम्राज्य युरोपको सबभन्दा पिछडिएको देश थियो । यसकारण, रुस र रुसी जनता युरोप र अमेरिकाबाट अपहेलित पनि थिए । केही रुसी कम्युनिस्ट नेताहरूमा समेत युरोपमा समाजवाद नआएसम्म रुसमा समाजवाद सफल नहुने सोच राख्थे । तर, लेनिन र स्तालिनजस्ता नेताहरूमा बोल्शेविक कम्युनिस्ट पार्टीमा तुलनात्मकरूपले बढी क्रान्तिको अनुभव भएको बताउँदै उनीहरू रुसमा सर्वहारा वर्ग र युरोपमा क्रान्तिकारी सर्वहारा वर्गमा विश्वास गर्थे र रुसमै समाजवादको सफल स्थापना प्रदर्शन गरेका थिए ।
६. रुसले युक्रेनमा गरेको गतिविधि प्रत्याक्रमण हो
ख्रुश्चेभ र गोर्भाचोभजस्ता सिद्धान्तप्रति विश्वासघात गर्नेहरूले अमेरिकी साम्राज्यवादको अगाडि आत्म–समर्पण गर्दै नाटो पूर्वतिर नबढ्ने सर्तमा इस्टोनिया, लाटभिया, लिथुआनिया, बेलारुस, युक्रेन र मोल्डोयालाई पनि स्वायत्तता दिए । तर, साम्राज्यवादीहरू कुनै पनि देशसँग गरेको सम्झौता, समझदारी र सर्तलाई मान्दैनन् भन्ने कुरो इतिहासले बताउँछ । पश्चिमा साम्राज्यवादीहरूले रुसको अथाह प्राकृतिक स्रोत, उन्नत विज्ञान र प्रविधि र विशाल भूमिमा पहिलेदेखि कब्जा गर्ने अवसर खोजी गरेका थिए । उनीहरू युक्रेनलाई र अन्य पूर्व रुसी प्रान्तलाई ढाल बनाउँदै मस्कोमाथि आक्रमण गर्ने तयारी गर्दै थिए । सन् २०१४ देखि नै युक्रेनको दुई स्वायत्त जनगणतन्त्र डोनेत्स्क र लुहान्स्क प्रान्तमाथि नाटोका भाडाको सेना आक्रमण गर्दै रुसको सीमासम्म पुगेको थियो । रुसलाई आक्रामक देखाउन यस्ता घटनालाई पश्चिमी प्रचारमाध्यमले प्रचार नगरी कुटील चाल चल्दै गयो । यसकारण, बाध्य भएर रुसले प्रत्याक्रमण गरी अस्तित्व जोगाउनु कर्तव्य ठान्यो । अमेरिकाले इराकमाथि हमला गर्न कुवेतलाई जस्तै रुसमाथि आक्रमण गर्न युक्रेनलाई प्रयोग गरेको देखिँदै छ । सम्भवतः त्यही कारणले भारत र अन्य देशहरू संयुक्त राष्ट्रसङ्घको बैठकमा तटस्थ बसेका थिए, अमेरिकाको जालसाजी नबुझ्नेहरूले आँखा चिम्लेर युक्रेनको पक्षमा मत दिए ।
तटस्थ बस्नु पनि रुसको पक्ष लिनु हो भनी चीनलाई बदनाम गराउने र बदनाम भएको अमेरिकालाई सजन देखाउने पश्चिमी दुष्ट्याइँले संसारलाई मूर्ख बनाउन सक्दैन । मस्कोलाई थर्काउने र आक्रमण गर्ने अपराधको निम्ति पहिले नै चीनलाई बदनाम गर्ने असफल प्रयास अमेरिकी साम्राज्यवादले गरेको अनुमान गर्न गा¥हो छैन ।
Leave a Reply