भर्खरै :

सबै दललाई एउटै दृष्टिले हेर्नु मनासिब नहुने

देशमा विदेशी हस्तक्षेप बढेको यथार्थ हो । नेपालमा विभिन्न ठाउँमा सीमा पनि मिचेकै हो । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भए पनि भारतको नियन्त्रणमा रहेको अर्को यथार्थ हो । यसरी नेपालमा अतिक्रमण, थिचोमिचो र हस्तक्षेप हुनुको कारण सत्तासीन दलका नेताहरूको बेवास्ता, अदूरदर्शिता र कमजोरी पनि हो । नेपाल सरकारको यस्तै कमजोरीले गर्दा नेपाललाई भारतले हेपिरहेको हो । सत्तासीन दल र ठूला दलका नेताहरूमा राजनीतिक आस्था र निष्ठा हरायो भनेर त्यसको दोष देशका सबै राजनीतिक दलमाथि दिनु सही हुँदैन ।
कुनै दलले माक्र्सवाद, लेनिनवादलाई बङ्ग्याउँदैमा, समाजवादको बखान गरेर पुँजीवादी बाटो लिँदैमा सबै दल उस्तै हुन् भनी सबै दलमाथि दोष थोपारेर आफ्नो मन हलुङ्गो हुँदैन । हरेक राजनीतिज्ञ, बुद्धिजीवी, लेखक या प्रबुद्ध वर्गले जसले गल्ती गरेको हो, बाटो बिराएको हो, त्यसको मात्र आलोचना या विरोध गर्नुपर्छ । देशमा अराजनीतिक गतिविधि गरेर उच्छृङ्खलित बनाउने, शक्ति, बल र पैसाको आडमा राजनीति गर्ने, समाज बिथोल्ने, जातीय, क्षेत्रीय र सङ्कीर्ण राजनीति गर्ने दललाई हामी सबैले चिन्नुपर्छ । देशका सबै दलहरूको विचार सही छैन भनी मूल्याङ्कन गर्नु दृष्टिदोष हुनेछ ।
देशमा माक्र्सवाद लेनिनवादलाई साँच्चै पथ प्रदर्शक मानेर राजनीति गरिरहेका दलहरू पनि छन् । माक्र्सवाद र लेनिनवादकै सिद्धान्त र विचारअनुसार वर्गसङ्घर्षलाई जोड दिँदै समाजवादी प्रचार अभियान गर्ने दलहरू नभएका होइनन् । देश जोगाउने, अतिक्रमण र विदेशी हस्तक्षेपको विरोध गर्ने दल र नेपाली जनता पनि छन् । सिद्धान्त र विचारको आधारमा इमानदारीपूर्वक राजनीति गर्ने दल र दलका नेताहरू पनि छन् । पद, पैसा र भागबन्डामा नअल्झिने दल र दलका नेताहरू छन् । भनसुन, मनी र पसलको राजनीति होइन सिद्धान्तको राजनीति गर्ने दूरदर्शी, देश र जनताप्रति जिम्मेवार गर्ने दल र दलका नेताहरू छन् । देशलाई आत्मनिर्भर बनाउनुपर्छ, देशको बजेट विदेशी सहयोग या ऋणमा बनाउनु हुँदैन भन्दै सरकारको ध्यानाकर्षण गर्ने दल र दलका नेताहरू छन् । स्वदेशमै रोजगारीको बन्दोबस्त हुने गरी जनतामा आधारभूत आवश्यकता परिपूर्ति गर्न उद्योग–कलकारखाना खोल्न, भ्रष्टाचारको अन्त्य गर्न, सुशासन कायम गर्न सम्बन्धित निकायको ध्यानाकर्षण र सङ्घर्ष गर्ने दलहरू पनि छन् । नेमकिपाले देश र जनताप्रति समर्पित भएरै राजनीति गरिरहेको हो ।
विदेशीहरूलाई सजिलैसँग नेपालको वंशज नागरिकता दिन नहुने भनाइ नेमकिपाको हो । भ्रष्टाचारी, कमिसनखोरमाथि कारबाही गर्नुपर्छ भन्ने माग नेमकिपाको हो । नेपालमा नेताहरूले विदेशमा पैसा राख्न नपाउने, व्यक्तिको सम्पत्तिको सीमाङ्कन गर्नुपर्ने माग पनि नेमकिपाको हो । स्वदेशमा रासायनिक मल कारखाना खोल्न माग गर्दै आएको तीन दशकभन्दा बढी भइसक्यो । यसरी नेमकिपाले देश र जनताको निम्ति आवाज उठाइरहेको हो, सेवा गरिरहेको हो । यसकारण, देशको कुना काप्चामा नेमकिपाको प्रशंसा भइरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *