भर्खरै :

“पर्खेरै बितेको त्यो दिन.. !!” आशा…निराशा !!

तीन–चार दिनदेखि पेट दुखेर असजिलो भइरहेको थियो । हल्का ज्वरो पनि आएजस्तो थियो । एक दुई दिन त आफै ठीक होला नि भनी बेवास्ता गर्दै बसेँ । पछि, नजिकैको हेल्थपोष्टबाट सिटामोल पनि खाएँ तर बिसेक भएन । अन्त्यमा, केही उपाय नलागेपछि जिल्ला अस्पताल नै जान कम्मर कसेँ । समाचारहरूमा जिल्ला अस्पताल उत्कृष्ट भएको सुनेको थिएँ । अब त्यही उत्कृष्ट अस्पतालमा उत्कृष्ट उपचार पाएर आफू बिसेक हुने ठूलो आशा बोकेर बिहानको झिसमिसेमै घरबाट निस्केँ । ७० वर्षको बुढो शरीर उकाली–ओराली, भिरपाखोमा हिँड्न गा¥हो भइसकेको थियो । दम बढेर कत्ति ठाउँमा त रोकिनु पनि प¥यो । आफ्नो घरबाट करिब डेढ घण्टा हिँडेपछि अस्पताल जाने बस पाउने ठाउँसम्म पुगेँ । तर, बस गुड्न अझै घण्टाजत्ति समय लाग्ने भयो । अब पर्खिनुबाहेक अरू उपाय थिएन । त्यसैले पर्खाइ सजिलो बनाउन एउटा पुरानो चिया पसलमा पसेँ । एक कप कालो चिया मगाएँ । बिहानै निस्केकोले भोक त लागेकै थियो । तर, आफ्नो गोजी भने हलुका थियो । फेरि अस्पतालमा कति खर्च लाग्ने हो अनुमान लगाउन सकिनँ । त्यसैले खाजाभन्दा औषधिमा खर्च गरुँला भन्ने सोचेर कालो चियाको चुस्कीहरूले आफ्नो भोक मेटाउन थालेँ । भनिन्छ, पर्खाइको समय सबैभन्दा लामो हुन्छ, त्यस्तै भयो । करिब दस बजेतिर बल्ल बस गुड्यो । दुखाइले गर्दा हो कि छिटो अस्पताल पुग्ने ध्याउन्न भएर हो, बस पनि ढिलो गुडेजस्तै भान भइरहेको थियो । कच्ची बाटो र डाँडाकाँडाको घुमाउरो बाटोमा बस छिटो गुडोस् पनि कसरी !! कच्ची बाटो नै भए पनि यी डाँडाहरूमा पनि बाटो पुगेकोले मनमनै आभारी हुँदै थिएँ नभए आज मेरो हालत के हुन्थ्यो होला ?! करिब २ घण्टाको बसको यात्रापछि अस्पतालको ठूलो गेटअगाडि बस रोकियो र म ओर्लेँ आफ्नो गन्तव्यस्थलमा । अस्पतालको नयाँ र भव्य भवन देखेर खुसी लाग्यो । खुसी यस अर्थमा कि भवन नै भव्य छ भने यहाँको सेवा पनि त भव्य नै होला भन्नेमा लगभग ढुक्क भएँ ।
अस्पतालभित्र एकछिन अल्मलिएँ म । कता जाने, के गर्ने ? अस्पतालको पोसाकमा रहेको एक कर्मचारीलाई सोधेपछि टिकट लिने ठाउँमा गएँ । त्यहाँ मान्छेको अलि लामो नै लाइन थियो । लाइन बस्दै गर्दा मनमनै सोचेँ, “अस्पतालको सेवाको गुणस्तर पक्कै बढेको होला । त्यसैले त बिरामीको घुइँचो लागेको छ । सरकारी अस्पताल यत्तिसम्म हुनु पनि राम्रो हो ।” त्यसैले आधा घण्टासम्म लाइन बस्दा पनि कुनै खेद भएन । टिकट लिएर मेरा पाइलाहरू फूर्तिसाथ ओपीडीतर्फ लागे । ओपीडी बाहिर मान्छेको घुईँचो हेर्दा लाग्यो म कुनै हाटबजारमा आएको छु । यहाँ पनि लाइन बस्नुपर्ने देखियो । आफ्नो पालो धेरै पछि मात्र भएकोले लाइनको एक छेउमा उभिन गएँ । केही समयपछि कार्यालय सहयोगी भाइले मलाई बोलाए । ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने र लाइन बस्न नपर्ने नियम रहेछ । पहिलो पटक बुढ्यौली लाग्नुमा खुसी भएँ ।
ओपीडी कक्षमा पनि उस्तै भिड । बल्लतल्ल भिड छिचोलेर डाक्टरलाई नमस्कार गर्दै भित्र पसेँ, कुर्सीमा बस्न आग्रह गर्नुभयो र बसेँ ।
“बुबा के छ समस्या ?”
“नानी, ३–४ दिनदेखि पेट दुखेको छ, बायाँ कोखातिर ।”
“ज्वरो पनि छ ?”
“अलि अलि ।”
“बान्ता हुने, पखाला लाग्ने ?”
“छैन ।”
“पिसाब पोल्ने ?”
“छैन ।”
डाक्टर ओपीडी कागजमा केही लेख्छन् । अनि भन्छन्, “ल, यो जाँचहरू गराएर आउनुस् ।”
मात्र यही एक मिनेटको लागि हो ? मैले यत्ति समय कुरेको जस्तो लाग्यो । डाक्टरले स्टेथेस्कोप कानमा राखेर मेरो छाती पनि सुनेनन्, न प्रेसर जाँच गरे, न त पेट छाम्न भ्याए । आफ्नो सबै कुरा भन्नै भ्याएको थिएन । तर, कुर्सीमा अर्काे बिरामी आएर बसिसकेको रहेछ ।
“अनि औषधि नि डाक्टर साब ??” फर्केर सोधेँ ।
“रिर्पोटहरू आएपछि लेखिदिन्छु है बाजे ।” डाक्टरको उत्तर ।
भिडियो एक्सरे र रगतको जाँच गर्नुपर्ने रहेछ । फेरि यहाँ पनि लाइन । यो लाइनहरूदेखि आजित भइसकेँ । तर, उपाय छैन । जाँचको लागि रगत दिइसकेपछि रिपोर्ट चार बजेमात्र आउँछ भन्नुहुन्छ लौ ! अब चाहिँ ठूलो अन्योलमा परेँ । चार बजेसम्म मैले औषधि नपाउने भएँ । तर, गाउँ जाने अन्तिम गाडी तीन बजे छुट्छ । गाडी छुट्ने डरले औषधि नै नलिई कुरा पनि भएन । तर, गाडी नै छुट्यो भने घरसम्म पुग्नु कसरी । तीन बजेसम्म रिपोर्ट पाइन्छ कि भन्ने आशाले बिन्ती गर्छु ।
“बाजे, तपाईँको मात्र होइन, तपाईँजस्तै अरू १०० जनाको पनि रगत जाँच्नुपर्छ । तीन बजे त मिल्दैन ।”
पलाएको सानो आशाको त्यान्द्रो पनि त्यहीँ चुँडियो । बिहानदेखिको थकित शरीर, भोको पेट यसमाथि यो अन्योलता । म निरीह बनेर भुइँमा टुक्रुक्क बस्छु । घरमा वस्तुभाउ भोकै होलान् भन्ने पिरले सताउन थाल्छ । त्यत्ति लामो बाटो हिँडेर जान त सम्भव नै छैन । हिँडेरै गएँ भने पनि आधा रातमा बल्ल घर पुग्छु । बास बस्नलाई नजिकैको आफन्त पनि कोही छैनन् । जे पर्ला पर्ला तर औषधि लिएपछि मात्र घर फर्किन्छु भन्ने निर्णय लिएँ र फेरि पर्खिन थालेँ ।
सवा चार बजेतिर आफ्नो रिपोर्ट हातमा प¥यो । हतार–हतार दौडिँदै ओपीडीतिर गएँ । डाक्टर साब ढोकामै भेट भयो निस्कन लाग्नुभएको रहेछ ।
“डाक्टर साब !! मेरो रिपोर्ट यहाँ छ, औषधि लेखिदिनुस् न ।” डाक्टर पनि थकित देखिन्थे । थाकेको र मलिन स्वरमै जवाफ दिए, “बाजे, हाम्रो ड्युटि चार बजेसम्म मात्र हो । भोलि आउनुस् न है ।”
भोलि ?? फेरि भोलिसम्म पर्खिने धैर्यता नै बाँकी थिएन । धैर्यतामात्र होइन पैसा पनि त बाँकी थिएन । त्यसैले औषधि लेखिदिन दुई हात जोडेर बिन्ती गर्दै अनुनय गर्न थालेँ । आफ्नो ड्युटि सकिसकेको एउटा थकित डाक्टरलाई यसरी अल्मल्याउनु कुनै गल्ती गरिरहेजस्तो महसुस भइरहेको थियो । मन त थिएन, तैपनि म विवस थिएँ । मेरो परिस्थितिको बाध्यताले मलाई यो गल्ती गर्नबाट रोक्न सकेन । मेरो पछाडि अरू ३–४ जना पनि रिपोर्ट लिएर उभिन आए । डाक्टर एकछिन रनभुल्लमा परे । उनलाई हाम्रो अवस्थामाथि दया लागेछ सायद मेरो रिपोर्ट हातमा लिँदै फेरि ओपीडीभित्र गए । म पछि पछि लागेँ ।
“बुबा मृगौलामा पत्थरी भएको रहेछ । दुई नम्बर कोठाको अपरेसन गर्ने डाक्टरलाई देखाउनुपर्छ । आज त निस्किसक्नुभयो । दुखाइ कम गर्ने औषधि लेखिदिन्छु, दुई दिनपछि आउनुहोला है त । अँ, पानी धेरै खानुहोला, दिनमा कम्तीमा ३–४ लिटर ।” यति भनेर उनी अरू बिरामीको रिपोर्ट हेर्न थाले ।
तर, मेरो मनमा भने प्रश्नहरूको ताँती रोकेकै थिएन । के खान हुन्छ, के खान हुन्न, अपरेसन नै गर्नपर्ने कि आफै ठीक हुन्छ, जटिलता कत्तिको छ …… आदि । तर, ती बिचरा डाक्टरलाई यी प्रश्नहरू सोधेर थप अलमल्याउने साहस आएन किनकि ती डाक्टरको फुर्सद नै थिएन ।
औषधि लिइसकेपछि अस्पतालको त्यो भव्य भवनबाट बाहिर निस्कँदै गर्दा आफ्नै आशामाथि प्रश्न गरेँ, के मैले अपेक्षा राखेको गुणस्तरीय र उत्कृष्ट सेवा यही हो त ? पाँच मिनेट डाक्टरसँग भेट्न पाँच घण्टा कुर्नुपर्ने ! त्यो पाँच मिनेटमा पनि के मैले उत्कृष्ट परामर्श पाएँ त ?? उचित स्रोतसाधन र पर्याप्त जनशक्ति भएको भए सायद आज मैले समयमै उपचार गरेर समयमै घर फर्किन पाउँथे कि ?
ती डाक्टरले कति सजिलै भनिदिए पर्सि फेरि आउनु भनेर । तर, यहाँ आज घर कसरी फर्किने भन्ने तनाव यथावत छँदै थियो । अब फेरि पर्सि कसरी आउने र कसरी फर्किने भन्ने सोच्दा सोच्दै म त कहालिन पुगेछु र मनमनै प्रार्थना गर्न थालेँ । यो दुई दिनमा कुनै जादुजस्तै दुखाइ चट्टै बिसेक होस् र पत्थरी पनि स्वतः बिलिन भइजाओस् र फेरि अस्पतालमा फर्केर आउन नपरोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *