भर्खरै :

सबै पालिका भ्रष्टाचारशून्य होस्

हरेक राजनीतिक दलले भ्रष्टाचारको विरोध गर्छन्, भ्रष्टाचारीमाथि कारबाही गर्ने कुरा उठाउँछन् । तर, भ्रष्टाचार हटेको देखिँदैन । भ्रष्टाचारीहरू कारबाहीमा परेको देखिँदैन । भ्रष्टाचार नियन्त्रण नहुनु या हटाउन नसक्नुमा राजनीतिक दलहरू दोषी छन् । राजनीतिक दलका नेताहरू इमानदार नभएसम्म, निःस्वार्थपूर्वक राजनीति नगरेसम्म भ्रष्टाचार अन्त्य सम्भव छैन । निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलले आ–आफ्ना नेता तथा कार्यकर्तालाई इमानदारीपूर्वक राजनीति गर्न दिएको खण्डमा देशमा भ्रष्टाचार धेरै नियन्त्रण हुन्थ्यो, घूस खाँदैनथ्यो, अनियमितता हुँदैनथ्यो । अबको निर्वाचनमा निर्वाचित हरेक जनप्रतिनिधिहरूले गाउँपालिका र नगरपालिकाहरूमा शून्य भ्रष्टाचार बनाउने प्रयत्न गर्नुपर्छ । हामी कामना गर्छाैँ देशभरका सबै पालिकाहरू भ्रष्टाचार शून्य होस् ।
देश भ्रष्टाचारको कारण संसारमा बदनाम छ । देश बदनाम हुनुको अर्थ यहाँको सरकार र सत्तासीन दलहरूको बदनाम हुनु हो, अन्य दल र आम जनताको बदनाम हुनु हो । निर्वाचित हुने सबै जनप्रतिनिधिहरू देश र जनताप्रति समर्पित भएमा, इमानदारीपूर्वक जनताको सेवा गरेमा र सोहीअनुसार आ–आफ्नो पालिकाका कर्मचारीहरूलाई सुसूचित पारेमा भ्रष्टाचारशून्य नै नभए पनि धेरै हदसम्म भ्रष्टाचार घटाउन सकिन्छ । त्यो उद्देश्य पूरा गर्न हरेक पालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले प्रतिबद्धता जनाउनुपर्छ । भक्तपुर नगरपालिका देशकै निम्ति नमुना नगर बन्नुको एउटा कारण यहाँका जनप्रतिनिधिहरू भ्रष्टाचार गर्दैनन्, अनियमितता गर्दैनन्, घूस खाँदैनन् । कर्मचारीहरू पनि त्यतिकै सजग र सचेत हुन्छन् । जनप्रतिनिधिहरू लागेमा या भ्रष्टाचार अन्त्य गर्ने अभियान थालेमा अन्य पालिकाहरूलाई पनि भ्रष्टाचारशून्य बनाउन सकिन्छ ।
भ्रष्टाचार, अनियमितता नहुनु या कम हुनु भनेको विकास धेरै हुनु हो या गर्नु हो । विकास या योजनाको नाममा रहेको सबै पैसा सदुपयोग हुनु हो, जनताको कर जनताकै बीचमा पुग्नु हो । राजनीतिक दलले निर्वाचनको बेला पैसा नबाँडे, भोज नखुवाए, सामग्री वितरण नगरे र जनप्रतिनिधिहरू स्वच्छ मनका भए त्यो काम गर्न नसकिने होइन । भ्रष्टाचारशून्य बनाउन नसकिने होइन । सबै पालिकाहरू भ्रष्टाचार शून्य भए यो देशकै निम्ति उपयुक्त या सही कदम हुनेछ । यसले नेपाली जनतामाझ मात्र होइन संसारभरि नै राम्रो सन्देश जानेछ । यो उद्देश्य सफल पार्न सबैले प्रतिक्षा गर्नुपर्छ, प्रतिज्ञा पूरा गर्न कार्यान्वयन गर्नुपर्छ । भ्रष्टाचारशून्य बनाउने अभियानमा सबैले साथ देऊन् र पूरा गर्ने सङ्कल्प गरून् । यसले देश, दल, नेता, कार्यकर्ता र जनता सबैको मान बढ्नेछ, इज्जत र विश्वास बढ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *