भर्खरै :

सफा गर्न मन छैन भने फोहर चाहिँ नगरौँ

  • बैशाख १७, २०७९
  • राजा नेपाल
  • विचार

मैलेजस्तै देश र जनतामा समर्पित यस ‘मजदुर’ दैनिकका सजन पाठकहरूले जनताका कर्मठ एवम् सच्चा जनप्रतिनिधिहरूले भक्तपुर नगरपालिकाले आफ्नो घोषणा पत्रमा कबुल गरेबमोजिम पुर्खाले आर्जेको सांस्कृतिक कला, संस्कृति र सम्पदाको संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाइ तथा जनताको जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने कार्यको बारेमा धेरै विद्वानहरूले मुक्तकण्ठले प्रशंसा गरेको सुनेकै हुनुपर्दछ । पानी परेपछिको छर्लङ्ग आकाशजस्तै भक्तपुरको वर्तमान तस्वीरलाई नजिकबाट अवलोकन गरिसकेका अन्य जिल्लाका महानुभावहरूले ‘भक्तपुर मोडल’ अनुसार अरू नगरको विकास अपरिहार्य भएको महसुस गरेका छन् ।
नगर प्रमुखको पद सम्हाल्नुपूर्व नेमकिपाको इमानदार कार्यकर्ता भई पेशाले अधिवक्ता रहेका सुनिल प्रजापति तथा पेशाले सिभिल इन्जिनियर भई प्राध्यापक हुनुभएका उप–प्रमुख रजनी जोशीका विविध जनहितका कार्यहरू कार्यान्वयन गर्न पछि नपर्ने वडाध्यक्षहरूको बारे पनि सकारात्मक भनाइहरू मैले पढ्ने र सुन्ने गरेको छु ।
भनपाद्वारा सञ्चालित जनकार्यक्रमहरूका बारेमा सकारात्मक सन्देशहरू विभिन्न अखबार, पत्रिका तथा युट्युब अन्तर्वार्ता र अन्य श्रव्यदृश्य सञ्चारमाध्यमहरूबाट प्रसारण गरिने कुरालाई लिएर राजनीतिलाई व्यवसाय ठान्ने धेरैको पेट पोलेको छ । भनिन्छ, कसैको पनि प्रगतिउपर इष्र्या गर्ने व्यक्तिले आफ्नो जीवनमा कहिल्यै अर्थपूर्ण परिणाम आउने गरी कुनै पनि कार्य गर्नमा ऊ स्वाभाविकरूपले नाताकत हुन्छ । मानसिक र मनोवैज्ञानिक रोगबाट ऊ ग्रस्त भएकै हुन्छ । त्यस्ता मतियारहरूको दिलदिमाग हरबखत नकारात्मक सोचले भरिएको हुन्छ । त्यस उसले निःस्वार्थरूपले जनकल्याणका कार्य गर्नेहरूविरुद्ध बाधा व्यवधान खडा गर्ने दूषित विचार हुनेहरू एकदिन आफैसँग हार्नुपर्छ । ती निर्लज्जहरूको आफ्ना अनेकौँ निकृष्ट दाउपेच र प्रयासपछि पनि आफ्नो सिद्धान्तप्रति चट्टानझैँ अटल रहनुभएका नेमकिपाका इमानदार जनप्रतिनिधिहरूको ध्यान आफूतिर तान्न नसकेपछि सटहीरूपले हेर्दा सङ्लो देखिने अर्काे उपाय प्रयोगमा ल्याउने गर्छन् । जसनुसार टोपी खस्ने गरी ती साथीहरूको अनावश्यक प्रशंसा र तारिफ गरी मतिभ्रष्ट गर्ने दुस्साहस गरेको रमाइलो घटना पनि बेलाबखत म सम्झिने गर्छु ।
विभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयबाट आपूmले प्राप्त गरेका शैक्षिक प्रमाणपत्रहरू केही भौतिक लाभका लागि देशद्रोहीहरूको सन्दुकमा बन्धकी राखी जनविरोधी घृणित क्रियाकलापमा सक्रिय हुने बौद्धिक दासहरू यस संस्कृति नगरमा पनि कमी छैनन् । तिनीहरू नेमकिपाका कामरेडहरूलाई मिठो भाषामा भन्ने गर्दछन्, “कुनै पनि जुझारु, इमानदार र स्वच्छ छवि भएका व्यक्तिहरू नेमकिपाजस्तो सानो राजनैतिक पार्टीमा आबद्ध भएर आफ्ना सन्तानहरूको उज्ज्वल भविष्य लागि वातावरण तय गर्न उनीहरूलाई सहज छैन र आर्थिकरूपले तिनीहरूको पनि उँभो लाग्ने छाँटकाँट छैन । ईश्वरले दिएको राम्रो अवसरले घरको ढोका बारम्बार ढकढक्याउंँदैन, त्यसैले मौकामा चौका हान्न जान्नुपर्छ, सरकारको विभिन्न ओहदाको बागडोर सम्हाली काम कारबाही गर्न मन नगर्ने पार्टीको ठूलाबडासँग कहिल्यै उठबस हुँदैन । यो पुँजीवादी समाजमा पैसा र पहुंँचविना जीवन जिउन कठिन छ । त्यसैले भावनामा मात्र बगेर मानिस व्यवहारिक नहुने भएबाट ठूलो रुखमुनि ओत लाग्नु बुद्धिमानी हुन्छ” भन्ने जस्ता विष पोतेका गुलिया वाक्यांशहरूको प्रयोगले, देश र जनताको सेवाप्रति तल्लीन भई बसेका सरल नागरिकहरूलाई आप्mनो सिद्धान्त र अटल विश्वासबाट विचलित पार्न खोज्ने ती बौद्धिक दासहरूबाट कुनै पनि सचेत नागरिक टाढा रहनु जरुरी छ ।
व्यक्तिगत स्वार्थ र शुभलाभलाई प्राथमिकतामा राख्ने देह व्यापारी विशेषता भएका साथै समयानुकूल लायक नभएका कारण सस्तोमा बिक्री गर्न For sale मा राखिएका यस्ता बौद्धिक दासहरूलाई कुकर्म गर्न यो बेला झन् भ्याईनभ्याई छ । त्यसैले हेर्दा राम्रो देखिने र सुन्दा मीठो सुनिने प्रतिक्रियावादीहरूका यस्ता क्रियाकलापहरूबाट जननिर्वाचित व्यक्तित्वहरू सदैव सतर्क हुन नितान्त आवश्यक छ, अन्यथा रचनात्मक आलोचनाभन्दा खोक्रो तारिफमा मात्र बाँच्न मन पराउने राजा महाराजाहरूको जस्तै हविगत हुन धेरै बेर कुर्न पर्दैन । दरबारको निम्तोमा स्व. राजा वीरेन्द्र र नेमकिपाका अध्यक्ष का.रोहितको बीच भएका महत्वपूर्ण सम्वादका बेला उनले दिएका सुझावलाई पुनः एकचोटी स्मरण गरी सान्र्दभिक बनाउन मन लाग्यो ।
जनतालाई सचेत गर्दै अझ धैरै गर्न बाँकी रहेका महत्वपूर्ण कार्य अबका दिनहरूमा गर्नुपर्छ । तर, भनपाको नजरमा पर्न नसकेका केही कुराहरू विभिन्न स्थान र ठाउँहरूमा स्थानीय बासिन्दाहरू बीचमा भएका गाइँगुइँका आधारमा मैले यहाँ उल्लेख गर्न चाहेँ । नगरवासीहरूको विश्वास र भरोसालाई हृदयमा राखेर अबको आसन्न स्थानीय निर्वाचनमा विजयी हुने जनप्रतिनिधिहरू गर्ने जनहित कार्यहरूको सूचीमा उक्त कार्य पहिलो प्राथमिकतामा आउने अपेक्षा धेरैले गरेका छन् ।
१. अन्तर्राष्ट्रिय मान्यताअनुसार बटुवा हिँड्ने खुला पेटी तथा पार्क नै व्यवस्थित नगरको पहिचान हो । हरेक राम्रा नगरहरूमा सवारी साधनबाट हुने अकल्पनीय दुर्घटनालाई न्यूनीकरण गर्न सडकको दुई छेउमा पेटीको बन्दोबस्त गरिएको हुन्छ । तर, सांस्कृतिक नगर भनिने भक्तपुरका केही व्यस्त स्थानहरूमा सडक छेउको पेटी बेहिसाब कब्जा गरी आफ्ना बिक्रीका लागि राखिने ग्यास सिलिन्डरलगायत अन्य थुपै्र सरसामानहरू सजाउने स्थल बनेको छ । कोही कसैले त आप्mनो घर अगाडिको पेटीमा बटुवालाई हिड्दुल गर्न समेत अप्ठेरो हुने गरी ती सार्वजनिक पेटीहरूमा पसल थाप्न लगाई गैरकानुनीरूपले मासिक हजारौँ रूपियाँ उठाउने कार्य गरेको छ ।
२. स्थानीय नागरिकहरूको हस्ताक्षरसहितको लिखित निवेदन पटक–पटक पेश गर्दा पनि सार्वजनिक वा पर्ती जग्गा ओगटी विभिन्न व्यवसाय सञ्चालन गर्दै आएको वास्तविकताउपर भनपाका जनप्रतिनिधिहरूको ध्यानाकर्षण गर्न सरोकारवाला नगरवासीहरूको निःस्वार्थ प्रयास हालसम्म पनि उहाँहरूको अध्ययनमा तातो न छारो भइरहेकोमा भनपाप्रति अगाढ स्नेह र विश्वास राख्ने नागरिकहरूका मन हल्का दुख्नु स्वाभाविक हो ।
३. वडा अध्यक्षदेखि मेयर र उपमेयरसम्म जनताकै जनप्रतिनिधिहरू भएको कुरा भक्तपुर नगरपालिकामा काम विशेषले आउने धेरै सेवाग्राहीहरूबाट बेलाबखत सुन्न पाउँदा खुसी लाग्छ । सौम्य र सरल जनप्रतिनिधिहरूप्रति सेवाग्राहीहरूको कुनै गुनासो र तीतो कुरो छैन । अन्य जिल्लाका नगरपालिकाहरूको तुलनामा भनपा भ्रष्टाचारशून्य रहेको कुरा तिनीहरू निःसङ्कोच छात्तीमा हात राखेरै भन्छन् । तर, भनपाको कार्यालयमा कार्यरत केही कर्मचारीहरूको व्यवहार र आनीबानीमा सुधारको खाँचो भएको गुनासो छ । जनताकै सेवाका लागि नियुक्ति गरिएका ती केही कर्मचारीहरू पनि जनप्रतिनिधिहरूजस्तै भद्र र शिष्ट बनाउन पाए भनपाको कार्यालयभित्रका वातावरण सुनमा सुगन्ध हुुनेछ । मुलुकभरि नमुना शैक्षिक संस्थाको रूपमा सुपरिचित भनपाबाट सञ्चालित ख्वप कलेजका केही कर्मचारीहरूको बारे पनि अभिभावकहरूद्वारा गरिने यस्तैखाले टिप्पणीहरू यदाकदा सुनिन्छ ।
४. अचेल भक्तपुर नगरभित्र धेरै भोजनालयहरू देख्न सकिन्छ । केही व्यक्तिले त स्थानीय नागरिकहरूको विरोध भए पनि सार्वजनिक जग्गा मिचेर २०७२ सालको महाभूकम्पको निहुँमा टहरा निर्माण गरी चमेनागृह सञ्चालन गरी बेफिकर व्यवसाय गरिरहेका छन् । रेष्टुराँ व्यवसायीहरूमा सामाजिक दायित्व र नागरिक भावनाको अभावका कारण साँझ सबेरदेखि बेलुका अबेरसम्म आधा बाटो ढाक्नेगरी लामो सवारी साधनहरूको पार्किङ्ग र मादक पदार्थको सेवनपश्चात् अश्लिल शब्द मिश्रित ग्राहकहरूबीच हुने अस्वाभाविक संवादको तमासा, कोलाहल र चिच्याहटले छरछिमेकीलाई हरेक दिन तकलिफ हुने हुन्छ । यस्ता असामाजिक क्रियाकलापले अध्ययन गर्नुपर्ने विद्यार्थी र बिमारी भएका घरपरिवारहरूलाई निकै ठूलो समस्या सृजना गरेको छ । बिजुली, इन्टरनेट र टेलिफोनको तार रहेको फलामे लठ्ठा अर्थात् पोलसमेतलाई टहराभित्र पारी व्यवसाय सञ्चालन गर्ने पनि छन् ।
अन्तर्राष्ट्रिय नियमानुसार स–साना बालबालिकाहरूलाई मादकपदार्थको कुलतमा परेका व्यक्तिहरूबाट कुनै नकारात्मक प्रभाव नपरुन् भन्ने हेतुले तिनीहरू पढ्ने कुनै पनि विद्यालयहरूको नजिक मादक पदार्थ सेवन वा बेचबिखन गर्ने रेष्टुराँहरू खोल्न निषेध छ । नेपाललगायत केही मुलुकहरूमा धार्मिक स्थल वा विद्यालय, कलेज र विश्वविद्यालयको २०० मिटर टाढामात्र त्यसप्रकार भोजनालयहरू सञ्चालन गर्न सकिने कानुनी प्रावधान छ । यसबाट पनि भनपाको ध्यान जानु आवश्यक छ । देश र जनताको सेवा गर्नेजस्तो गौरवपूर्ण कार्य सजिलो छैन । त्यसैले त भक्तपुर नगरपालिकाका कर्मठ र संवेदनशील जनप्रतिनिधिहरूको लोककल्याणकारी क्रियाकलापहरू नेपालभरिका असल नागरिकहरूबीच सकारात्मक छलफलको विषयवस्तु बनेको छ । त्यसैले सफा गर्न मन नपराउनेले फोहरमात्र नगरे पनि समाजको लागि धेरै राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *