भर्खरै :

“भनपाले देशकै लागि उत्कृष्ट जनशक्ति तयार गरिरहेको छ”

भक्तपुर, १८ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मादल चिह्नमा छाप राखी नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन आइतबारबाट नेमकिपाले भक्तपुरमा खुला जनसभा सुरु गरेको छ ।
आइतबार भक्तपुरको सूर्यमढीमा आयोजित जनसभाका वक्ताहरूले मतदाताहरूसमक्ष मादल चिह्नमा छाप राखी नेमकिपालाई जिताएर एमसीसी पक्षधर शासक दलहरूलाई जनताले सजाय दिनुपर्ने बताए ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपाको प्रमुख पदका उम्मेदवार सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले भक्तपुर नगरको लागि मात्र नभई देशकै सेवाको निम्ति उत्कृष्ट जनशक्ति तयार गरिरहेको बताउनुभयो ।
उहाँले कानुनले जेल सजाय पाउनुपर्ने शासक दलका नेताहरूले जनताको सेवा गर्ने नेमकिपाको नीतिविरुद्ध गलत प्रचार गरिरहेको चर्चा गर्दै जनताको एकतासामु जस्तै भ्रम पनि नटिक्ने बताउनुभयो ।
यसअघि पनि भक्तपुर नपाका प्रमुख प्रजापतिले २०७४ सालको स्थानीय तहको निर्वाचनमा जनतालाई दिएको वाचामध्ये अधिकांश वाचा पूरा गरेको र जनताको साथमा बाँकी काम पनि पूरा गर्ने वचनबद्धता व्यक्त गर्नुभयो । भक्तपुर नपामा खानेपानीको समस्या समाधान गर्न मेलम्चीको खानेपानी भक्तपुरमा पनि वितरणको निम्ति लगातार प्रयास भइरहेको प्रस्ट पार्दै उहाँले खानेपानीको वैकल्पिक उपायको रूपमा नगरपालिकाले विभिन्न स्थानमा बोरिङ गरिरहेको बताउनुभयो ।
कोभिडको प्रतिकूल परिस्थितिमा पनि जनताको सहयोगमा भक्तपुर नपाले छोटो समयमा अक्सिजन प्लान्ट सञ्चालन गर्न सफल भएकोमा सबै आश्चर्य परेको भन्दै उहाँले गरिब जनतालाई सुलभ र सस्तो सेवा दिन ख्वप अस्पताल सञ्चालनको निम्ति तदारुकतासाथ लागिरहेको बताउनुभयो ।
“पाँच वर्षमा १२४ वटा सम्पदा पुनःनिर्माण र जीर्णोद्धार भयो । जनताको साथ र आफ्नै स्रोत साधनको प्रयोगबाट त्यसमा हामी सफल भयौँ । देशको सार्वभौमिकतामा आँच पर्ने विदेशी सहायता हामीले स्वीकारेनौँ । आफ्नै बलबुट्टामा उभिएर विकास निर्माणको काम गर्ने यही अभ्यासलाई ‘ख्वप मोडेल’ को रूपमा देशभर चर्चा भइरहेको छ”, प्रजापतिले भन्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष तथा बाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपाले देशभरका स्थानीय तहलाई बाटो देखाउने काम गरिरहेको बताउनुभयो ।
उहाँले २०७२ सालको भूकम्प र कोभिड महामारीको विषम परिस्थितिमा भक्तपुर नपाले सही व्यवस्थापन र निःस्वार्थरूपमा जनताको सेवा गरेर चुनौतीको सामना गरेको बताउनुभयो ।
शासक दलले जनतालाई विभाजन गरी आफ्नो स्वार्थ फत्ते गर्न खोजेकोमा जनता सजग हुनुपर्ने धारणा राख्दै सांसद गोसाईले आगामी स्थानीय तहको निर्वाचन पनि राजनीतिकरूपमा देश जोगाउने र बेच्ने राजनीतिक दलहरूबीचको प्रतिस्पर्धा भएको बताउनुभयो ।
उहाँले एमसीसी पक्षधर शासक दलविरुद्ध मत दिएर उनीहरूलाई चुनावमा सजाय गर्नुपर्ने प्रस्ट पार्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपा वडा नं ९ का वडाध्यक्ष पदका उम्मेदवार रवीन्द्र ज्याख्वले स्थानीय जनताकै अग्रसरतामा विकास निर्माण र सम्पदा संरक्षणका काम गर्दा विदेशसामु हात फैलाउनु नपरेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं ९ मै आयोजित जनसभामा उहाँले पाँच वर्षको अवधिमा भएका विकास निर्माणका उपलब्धिबारे प्रस्ट पार्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख पदका उम्मेदवार रजनी जोशीले नेमकिपाका कार्यकर्ता निर्वाचित भएका स्थानीय तहमार्फत समाजवादउन्मुख कार्यक्रम लागु गरिरहेको धारणा राख्दै ख्वप विश्वविद्यालयको स्थापना गरेर समाजको बुद्धिजीवीकरणको अभियानलाई निरन्तरता दिने वचनबद्धता व्यक्त गर्नुभयो ।
उहाँले नगरका विभिन्न वडामा आदर निकेतनको स्थापना, खानेपानी समस्या समाधान, एक घर एक स्नातकको अभियान, घरदैलो नर्सिङ आदि कार्यक्रमका अपुरा काम आगामी पाँच वर्षमा प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले जनताको सेवाका निम्ति जनताले स्थापना गरेका कलेजहरूको बदनाम गरेर शासक दलका नेताहरूले निजी कलेजको नाफा बढाउने प्रयास गरिरहेको बताउनुभयो ।
उहाँले सिद्धान्तहीन अपवित्र राजनीतिक गठबन्धनको परिणाम अपवित्र आउने भएकोले त्यस्ता शासक दलहरूलाई मत दिन नहुने बताउनुभयो ।
भक्तपुर नपा वडा नं ८ का वडाध्यक्ष पदका लागि नेमकिपाका उम्मेदवार कृष्णप्रसाद कोजूले नेमकिपाले घोषणापत्रमार्फत जनतालाई दिएको वचन अक्षरशः पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेमकिपा वडा नं ९ सूर्यमढी एकाइ समितिका अध्यक्ष दिलभक्त कोजूको सभापतित्वमा भएको सभामा नेमकिपा वडा नं ९ समन्वय समितिका संयोजक कृष्णभक्त लवजूले पनि बोल्नुभएको थियो ।
सभामा कलाकारहरूले मादल चिह्नमा मतदान गर्न आह्वान गर्दै गीत र मादलको धुन प्रस्तुत गर्नुभएको थियो ।
घोषित कार्य तालिकाअनुसार सोमबार ब्यासीमा साँझ ४ बजे नेमकिपाको चुनावी जनसभा हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *