भर्खरै :

नेमकिपाको घोषणापत्रमा के के छन् ?

काठमाडौँ, १८ वैशाख । गाउँ, सहर र बस्तीहरूलाई साना–ठूला पुल र पेटीसहितको सडकले जोड्दै पर्यावरणीय सन्तुलन कायम गर्न खुला स्थान एवं बगैँचा (हरितपार्क) र मनोरञ्जन स्थलहरू निर्माण गर्न, कृषिलाई सहयोग पु¥याउन सिँचाइको निम्ति साना ठूला नहर निर्माण गर्न, बीउबिजन अनुसन्धानको निम्ति प्रयोगशाला स्थापना गर्न स्थानीय तहलाई ऐन कानुनले अधिकार सम्पन्न गराउन नेमकिपाले सङ्घीय र प्रदेश सरकारको ध्यानाकर्षण गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।
वर्षको एक खर्बभन्दा बढी रूपैयाँको खाद्यान्न, तरकारी र फलफुलको निम्ति भइरहेको विदेशी मुद्रा खर्च घटाउन पालिका एवम् सहकारी संस्थाहरूमार्फत तरकारी खेती, माछापालन, पशुपालन, कुखुरापालनसहित कृषि उत्पादनमा प्राथमिकता दिन नगरपालिकाहरूले कृषि शिक्षाको कक्षा सञ्चालन र तालिन प्रदान गर्नुपर्नेमा नेमकिपााले जोड दिएको छ । कृषि अर्थतन्त्रमा आत्मनिर्भर बनाउन पालिकाका जनतालाई शिक्षित गर्ने, घर–घरबाटै इँटा, ढुङ्गा, सीसा, प्लास्टिक, काँच, फलामका काँटी किलाजस्ता सामान अलग गराई पुनः प्रयोगमा पठाउने तथा कुहिने फोहोरबाट प्राङ्गारिक मल बनाउन उत्साहित गर्नेलगायतका योजनामा गम्भीरता देखाए काठमाडौँ महानगरपालिकाले जस्तो समस्या सबै पालिकाले भोग्नुपर्ने नेमकिपाको जोड हो ।
युवाहरूलाई रोजगारको व्यवस्था गर्न स्थानीय तहले प्राविधिक मजदुरहरूलाई आवश्यक तालिमपछि साइकल, मोटरसाइकल, मोटर, मोबाइल, कम्प्युटर, टीभी, रेडियो, फ्रिज, हिटर, विद्युत् जडान, पाइप र किचेनको मर्मत गर्ने, खाना तताउने माइक्रो ओभन, लुगा धुने वासिङ मेसिन आदिको मर्मत तालिम दिएर पानी तान्ने मेसिनसमेतको ज्यासल (वर्कसप) बनाउनुपर्ने आवश्यकतामा जोड दिँदै नेमकिपाले सम्भावना भएका गाउँ र नपाहरूलाई स–साना जलविद्युत् परियोजना सञ्चालन गर्न उत्साहित गर्नुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
मानव बस्तीबीचमा रहेका प्रदूषण फाल्ने औद्योगिक क्षेत्र र उद्योगहरूलाई स्थानान्तरण गर्नुपर्ने उल्लेख भएको सो घोषणापत्रमा भनिएको छ, गाउँ र नगरका ऐतिहासिक एवम् सांस्कृतिक महत्वका सम्पदाहरूको संरक्षण, पुनः निर्माण एवम् पुरातात्विक स्थानहरूको उत्खननसमेत गर्न लगाउन ध्यान पु¥याउन जरुरी छ । सांस्कृतिक नगरपालिका वा गाउँपालिका घोषणा गराउन जोड दिइनेछ । हरेक सक्षम पालिकाहरूले सङ्ग्रहालय बनाउनसमेत ध्यान पु¥याउनु उपयुक्त हुन्छ । यसले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय पर्यटन सेवालाई पनि सहयोग पुग्नेछ ।
पहाडमा छरिएर रहेका घरहरूलाई पायक पर्ने ठाउँमा एकीकृत बस्ती वा गाउँ बसाल्दा बाटो, विद्यालय, खानेपानी, पसल, स्वास्थ्य चौकी आदि आवश्यक सेवाको बन्दोबस्त जनताकै भरमा गर्न नेमकिपाका जनप्रतिनिधिहरूले जनतालाई उत्साहित गर्ने, पहाडको हरेक घरलाई पायक पर्ने ठाउँमा विद्यालय, पसल, स्वास्थ्य चौकी स्थापना गर्नुपर्ने कुरा पनि घोषणापत्रमा उल्लेख छ ।
नेमकिपाको घोषणापत्रमा बाढी र पहिरो नियन्त्रण गर्न गाउँपालिकाहरूले नै स्थानीय जनतालाई परिचालन गरी वृक्षरोपण र ठाउँ–ठाउँमा बायो इन्जिनियरिङ प्रविधिको प्रयोग तथा ब्लकको पर्खाल लगाउने एवम् अलि ठूलो ठाउँमा सिमेन्ट प्रयोग गरी ग्राभेलिङ वाल लगाउनुपर्ने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *