भर्खरै :

जनताको सेवाको निम्ति स्थानीय तहको निर्वाचन

भक्तपुर, १८ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनको निम्ति नेपाल मजदुर किसान पार्टीले सार्वजनिक गरेको घोषणापत्रबारे आइतबार बुद्धिजीवीबीच अन्तरक्रिया सम्पन्न भयो ।
भक्तपुर नगर वडा नं ८ नेमकिपा एकाइ समितिले लिबालीमा आयोजना गरेको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले स्थानीय तहको निर्वाचनमा विजय प्राप्त गर्दैमा समाजमा आमूल परिवर्तन गर्न नसकिने तर यो जनताको सेवा गर्ने एउटा राम्रो माध्यम भएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “निर्वाचनबाट समाजवादी व्यवस्था स्थापना गर्न सकिँदैन तर समाजवादको आधार तयार गर्ने काम गर्न सकिन्छ ।” केन्द्रीय सदस्य गोसाईले नेमकिपाले इमानदारीको राजनीतिमा जोड दिएको भन्दै सत्ताधारी तथा सत्ताउन्मुख दलहरुमा इमानदारीको अभाव भएको तर्क गर्नुभयो । उहाँले जनप्रतिनिधिबाट स्थानीय तहलाई दिइएको अधिकारको प्रयोगबारे मतदाताले चनाखो भएर हेरिरहनुपर्ने र प्रतिनिधिहरुलाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले नेमकिपाका जनप्रतिनिधिहरुले लेनिनवादी नीतिअनुसार प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र पसेर देश र जनताको सेवा गरिरहेको बताउनुभयो ।
पद र पैसाको निम्ति जे पनि काम गर्ने प्रवृत्तिको विरोध गर्दै उहाँले भन्नुभयो,“विचार र सिद्धान्त बन्धक राखेर कुर्सी केन्द्रमा राखी काम गर्नु संसदवाद हो, नेमकिपा क्रान्तिकारी संसदवादको पक्षमा छ ।”
रामकाजी खाइजूले निर्वाचन लक्षित घोषणापत्र जनताको घरदैलो पुग्ने माध्यम र निर्वाचन घोषणापत्रको लडाइँ भएको प्रस्ट पार्दै नेमकिपाको घोषणापत्रमा पार्टीले गर्नसक्ने काममात्र उल्लेख भएको र कुनै अतिरञ्जनापूर्ण योजना नभएको बताउनुभयो ।
स्थानीय तहले आफ्ना स्रोत साधन र आयस्रोतको आधारमा घोषणापत्र तयार गर्नुपर्नेमा जोड दिँदै उहाँले खानेपानी आपूर्ति गर्न सरकारी संयन्त्रबारे सचेत हुनुपर्ने र फोहोरमैलाबाट आम्दानी गर्ने योजना बनाउनुपर्ने औँल्याउनुभयो ।
डा. सत्यनारायण सुवालले जनस्वास्थ्य केन्द्र वडा–वडामा खोल्नुपर्ने आवश्यकता औँल्याउँदै नर्सिङ कलेजसँगै स्नातक र स्नातकोत्तर तहको अध्ययन गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
वातावरण विज्ञानका विद्यार्थी कमलराज गोसाईले उद्योगलाई वातावरण मैत्री बनाउनुपर्ने उल्लेख गर्दै वातावरण संरक्षण नभए जनता स्वस्थ नहुने बताउनुभयो ।
इन्जिनियर गणेशराम न्हेम्हाफुकीले बहुप्रकोपमा आधारित संरचना निर्माण गर्नुपर्नेमा जोड दिँदै घोषणापत्रमा स्थानीयदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय विषय समेट्नु स्वाभाविक भएको बताउनुभयो ।
कार्यक्रममा इन्जिनियर सुमित बालाले घोषणापत्र पनि सिद्धान्त र विचार जनतासम्म पु¥याउने माध्यम भएको उल्लेख गर्दै घर–घरमा जान स्थानीय घोषणापत्र आवश्यक हुने बताउनुभयो ।
स्थानीय तहले गरेको काम निर्वाचनको सन्दर्भमा मात्र नभई बेलाबखत जनतालाई सुसूचित गरिरहनुपर्ने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
भक्तपुर नपा वडा नं ८ निर्वाचन परिचालन समितिका संयोजक महेन्द्र खायमलीको सभापतित्वमा भएको कार्यक्रममा भक्तपुर नपा वडा नं ८ को वडा अध्यक्षका लागि नेमकिपाका उम्मेदवार कृष्णप्रसाद कोजू, नेमकिपा भक्तपुर नपा वडा नं ८ लिबालीका अध्यक्ष बलराम प्रजापति, जीतेन्द्र खायमलीलगायतका वक्ताहरूले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *