भर्खरै :

पर्याप्त रासायनिक मल उपलब्ध गराउन नेक्राकिसङ्घको ज्ञापन

भक्तपुर, वैशाख १९ । नेपाल क्रान्तिकारी किसान सङघ जिल्ला समिति भक्तपुरले नेपालमै रासायनिक मल कारखाना खोल्नुपर्ने माग गर्दै जिल्ला–प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गरेको छ ।
नेक्राकिसङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष गोविन्द दुवालको नेतृत्वमा गएको सो प्रमण्डलले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै प्रम देउवाको ध्यानाकर्षण गरेको हो ।
सङ्घले किसानहरूको लागि आवश्यक रासायनिक मल, सिँचाइ, बीउबिजनजस्ता जल्दाबल्दा समस्या समाधान गर्न प्रधानमन्त्री, कृषि तथा सहकारीमन्त्री, भूमिसुधार तथा व्यवस्थामन्त्रीसमक्ष ज्ञापनपत्रमार्फत बरोबर ध्यानाकर्षण गर्दै आएको हो ।
उक्त ज्ञापनपत्रमा भनिएको छ–
१. नेपाल सरकारको कृषि मन्त्रालय तथा विभागलगायत विभिन्न मन्त्रालय तथा विभागहरूमा कार्यरत कर्मचारी सरकारी सुविधामा अध्ययन बिदा लिई उच्च शिक्षामा अध्ययन गर्न गएको र अध्ययनपश्चात् नेपाल आई आफ्नो कार्यक्षेत्रमा नआई विदेशमै पलायन भएर बसेको समाचारप्रति नेपाल क्रान्तिकारी किसान सङ्घको ध्यानाकर्षण भएको छ । यसरी देशका विज्ञहरूसमेत सरकारी सुविधा लिई उच्च शिक्षा हासिल गरेपछि नेपाल आई आफ्नो सम्बन्धित पदका कार्य गर्नुपर्ने उच्चपदस्थ कर्मचारीहरूसमेत विदेशमा हराउनु नेपालको लागि लज्जास्पद विषय हो । नेपाल क्रान्तिकारी किसान सङ्घ यस्ता उच्चपदस्थ कर्मचारीहरूलाई कानुनको दायरामा ल्याई उचित क्षतिपूर्तिसहित कारबाही गर्नुपर्ने नेपाल सरकारसमक्ष माग गर्दछ ।
२. मल कारखाना नेपालमै खोल्नुपर्ने विषयमा नेपाल क्रान्तिकारी किसान सङ्घले पञ्चायतकालीन समयदेखि नै माग गर्दै आएको हो । प्रजातन्त्र प्राप्तिपछि पनि सङ्घले मल कारखाना नेपालमै खोल्नुपर्ने आवश्यकताबारे सरकारको ध्यानाकर्षण गर्दै आएको थियो । नेपाल सरकारले नेपालमै मल कारखाना खोल्ने नीतिगत निर्णय भइसक्दासमेत हालसम्म मल कारखाना नखोलेको प्रति नेपाल क्रान्तिकारी किसान सङ्घको ध्यानाकर्षण भएको छ । मल कारखाना विदेशी सङ्घ संस्था तथा नेपालका व्यापारीहरूको लगानीमा नखोली नेपाल सरकारकै लगानीमा खोल्नुपर्नेतर्फ नेपाल सरकारको ध्यानाकर्षण गर्दछ । साथै वर्तमान समयमा पनि नेपाली किसानहरू मकै तथा धान रोप्नको लागि मलको अभाव भइरहेको हुँदा तत्काल किसानहरूलाई सहुलियत मूल्यमा मल उपलब्ध गराउन नेपाल क्रान्तिकारी किसान सङ्घ माग गर्दछ ।
३. मल आयातमा कमिसन र भ्रष्टाचार व्याप्त भएकोले नेपाली किसानहरूले बढी मूल्यमा मल खरिद गर्नुपर्ने बाध्यता रहेका कारण मल आयात र वितरणमा कमिसन र भ्रष्टाचार गर्ने सम्बन्धित निकायका कर्मचारी र वितरकहरूलाई कडा कारबाही गर्नुपर्ने ।
४. तराईका उखु खेती गर्ने किसानहरूलाई प्रत्येक वर्ष शोषण र अन्याय भएकोले उखुको उचित मूल्य तोकी खरिद गर्नुपर्ने, हालसम्म उखु खेती गर्ने किसानहरूलाई विभिन्न चिनी मिलका मालिकहरूले दिनुपर्ने मूल्य तत्काल दिनुपर्ने । साथै उखु खेती गर्ने किसानहरूलाई मोहीयानी हक दिनुपर्ने ।
५. जमिन जोत्नेको सिद्धान्तको आधारमा क्रान्तिकारी भूमिसुधार लागु गर्नुपर्ने ।
६. मोहीयानी हक पैतृक सम्पत्तिको रूपमा अंशबन्डा गर्ने, बेचबिखन गर्ने, बैङ्कमा धितो राख्न पाउने व्यवस्था गर्नुपर्ने ।
७. गुठी जग्गा कमाउने मोही किसानहरूले रैतानी गर्न कानुनी व्यवस्था गर्नुपर्ने ।
८. निजी गुठीको जग्गा कमाउने मोहीले त्यस्तो जग्गाको ५० प्रतिशत जग्गामा निजी गुठी नजनाउने कानुनी व्यवस्था गर्नुपर्ने ।
९. मलमा आत्मनिर्भर बन्न र कमिसनतन्त्रबाट मुक्त हुन स्वदेशमै गुणस्तरीय मल कारखाना चाँडै स्थापना गर्नुपर्ने ।
१०. कृषि उत्पादन र राष्ट्रिय आयमा गरेको योगदानको कदर गर्न ५८ वर्ष उमेर पुगेका ज्येष्ठ किसानहरूलाई पुग्दो निर्वाह भत्ता, आदर निकेतन र हेरचाहको व्यवस्था गर्नुपर्ने ।
११. गरिब किसानहरूलाई मल, बीउ, कीटनासक औषधि, कृषिऔजार आदिमा पर्याप्त अनुदानको व्यवस्था गरी कृषिमा आधुनिकीकरण गर्नुपर्ने ।
१२. ‘जमिन जोत्नेको’ सिद्धान्तको आधारमा क्रान्तिकारी भूमिसुधार लागू गर्नुपर्ने ।
१३. राज्य संरचनाका सबै अङ्गमा जनसङ्ख्याको अनुपातमा किसानहरूको प्रतिनिधित्व गराउनुपर्ने ।
१४. किसान र मजदुरहरूलाई शिक्षा र स्वास्थ्य उपचार निःशुल्क गरी कृषि उत्पादनमा प्रोत्साहन गर्नुपर्ने ।
१५. हिमाल, पहाड, तराई र उपत्यकालगायतको हावापानी सुहाउँदो बीउबिजन नेपालमै उत्पादन गर्नुपर्ने माग नेपाल क्रान्तिकारी किसान सङ्घले पहिलेदेखि उठाउँदै आएको हो । यस सम्बन्धमा कुनै पनि सरकारहरूले ध्यान नदिएकाले यथाशीघ्र सरकारको ध्यानाकर्षण गर्न चाहन्छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *