अडिग क्युवा !
- जेष्ठ १३, २०८३
नेपालको केन्द्रीय बैङ्कले डिजिटल मुद्रा जारी गर्न पहल गरिरहेको विवरण उक्त बैङ्कका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै सार्वजनिक भएपछि धेरै जनामा डिजिटल मुद्राबारे जिज्ञासा उत्पन्न भएको छ ।
नेपाल राष्ट्र बैङ्कका एक डेपुटी गभर्नरले डिजिटल मुद्राबारे सार्वजनिक अभिव्यक्ति दिए ।
प्रहरीका अनुसार नेपालमा क्रिप्टोकरेन्सी कारोबारको आरोपमा केही व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको छ ।
तर, केन्द्रीय बैङ्कले नै डिजिटल मुद्राबारे बोलेपछि क्रिप्टोकरेन्सी पनि नियमनमा आउने सम्भावना बढेको कतिपयको बुझाइ छ ।
यद्यपि, राष्ट्र बैङ्कका एक अधिकारीले ‘क्रिप्टोकरेन्सी नेपालमा गैरकानुनी रहेको तथा बैङ्कले छुट्टैखाले डिजिटल मुद्रा जारी गर्ने सोच बनाएको’ बताएका छन् ।
राष्ट्र बैङ्क के भन्छ ?
नेपाल राष्ट्र बैङ्कका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार ‘भविष्यमा डिजिटल मुद्रा जारी गर्ने सोचमा रहेको भए पनि बैङ्कले हाल त्यसबारे अध्ययन’ मात्र गरिरहेको छ ।
उनले भने, “डिजिटल मुद्रा अबको आवश्यकता हो भनेर राष्ट्र बैङ्कले पनि सार्कस्तरका केन्द्रीय बैङ्कहरूसँग मिलेर केही अध्ययन गरौँ भनेर गरिरहेका छौँ।”
“यो पहिलो अध्ययन हो, यसैबाट सबै मोडालिटी तय हुन्छ भन्ने छैन । त्यसैले सबै मोडालिटी तय भएपछि मात्र हुने हो ।”
उनको भनाइमा आगामी सार्क फाइनान्सको गभर्नरहरूको बैठकमा अध्ययन समितिले आफ्नो प्रतिवेदन पेस गर्नेछ ।
यद्यपि, उनका अनुसार आगामी सार्क फाइनान्सको बैठकको मिति तय भइसकेको छैन ।
क्रिप्टोकरेन्सी र डिजिटल मुद्रामा के फरक ?
केन्द्रीय बैङ्क विद्युतीय मुद्रा (सेन्ट्रल बैङ्क डिजिटल करेन्सी) को सम्भाव्यता अध्ययन भइरहेको बताउने राष्ट्र बैङ्कका अधिकारीहरू क्रिप्टोकरेन्सी र डिजिटल मुद्रामा फरक हुने बताउँछन् ।
पोखरेलले अहिले बजारमा चलिरहेको क्रिप्टोकरेन्सी र केन्द्रीय बैङ्कको डिजिटल मुद्राको प्रकृति फरक हुने बताए ।
उनी भन्छन्, “क्रिप्टो भनेको इन्टरनेट उपलब्ध भएको स्थानमा बसेर जो कसैले पनि जेनरेट गर्नसक्ने एउटा चिज हो । त्यसलाई करेन्सी भन्न पनि सान्दर्भिक हुँदैन । त्यसरी जेनरेट गर्ने कुरालाई हामी माइनिङ भन्छौँ ।”
“तर, केन्द्रीय बैङ्कले निकाल्ने डिजिटल मुद्राको माइनिङ चाहिँ केन्द्रीय बैङ्कले मात्र गर्छ । त्यसको जमानत वा भनौँ ग्यारेन्टी केन्द्रीय बैङ्क र सरकारले लिएको हुन्छ । क्रिप्टोकरेन्सीको ग्यारेन्टी कसैले लिँदैन ।”
उनी सरकार वा केन्द्रीय बैङ्कले जारी नगरेको हुनाले क्रिप्टोकरेन्सीमा जोखिम धेरै हुने बताउँछन् ।
त्यस्तै विदेशमा बनेको त्यस्तो क्रिप्टोकरेन्सी किन्न देशबाट ठूलो विदेशी मुद्रा बाहिरिन सक्ने सम्भावना हुने उनको भनाइ छ ।
तर, केन्द्रीय बैङ्कले जारी गर्ने डिजिटल मुद्रामा भने त्यस्तो जोखिम र विदेशी मुद्रा नबाहिरिने उनको दाबी छ ।
उनले हाल चलनचल्तीमा रहेको मुद्राकै अभौतिक रूप डिजिटल करेन्सी भएको बताए ।
उनी भन्छन्, “हामीले अन्य मुद्रा जारी गर्दा त्यसको ग्यारेन्टीका लागि उक्त मुद्राको मूल्य बराबरको सुन वा विभिन्न कुरा सुरक्षाका रूपमा राखेका हुन्छौँ, त्यसैगरी यसमा पनि राख्नुपर्छ ।”
त्यस्तै केन्द्रीय बैङ्कले नै नियमन, सुपरिवेक्षण, प्राविधिक जोखिम पहिचान र जोखिम न्यूनीकरण गर्ने काम पनि गर्ने उनले बताए ।
तर, अहिलेका क्रिप्टोकरेन्सी किन्ने व्यक्तिले भोलि भुक्तानी नपाउने अवस्था आयो भने त्यसको जिम्मेवारी कसैले नलिने पोखरेलको भनाइ छ ।
‘क्रिप्टोकरेन्सी गैरकानुनी’
पोखरेल नेपालमा क्रिप्टोकरेन्सी कारोबार गर्नु गैरकानुनी भएको बताउँछन् ।
डिजिटल मुद्रा आए पनि क्रिप्टोकरेन्सी गैरकानुनी नै हुने सम्भावना रहेको उनको भनाइ छ ।
राष्ट्र बैङ्कले गत भदौ अन्तिम साता सूचना जारी गर्दै नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सी कारोबार गर्नु गैरकानुनी भएको स्मरण गराएको थियो । त्यसअघि पनि उसले पटकपटक त्यस्तो सूचना निकालेको थियो । गत माघमा नेपाल प्रहरीले क्रिप्टोकरेन्सी कारोबारमा संलग्न केही व्यक्तिलाई पक्राउ गरी विदेशी मुद्रा अपचलनको मुद्दा लगाएको थियो । त्यसपछि सामाजिक सञ्जालमा नेपालमा डिजिटल मुद्रा सुरु हुनुपर्ने विषयमा निकै चर्चा भएको थियो । तर, राष्ट्र बैङ्कले क्रिप्टोकरेन्सीलगायतको कारोबारमा संलग्न भए वा कारोबारलाई प्रोत्साहित गर्ने गतिविधि गरे कारबाहीको चेतावनी दिँदै आएको छ । क्रिप्टोकरेन्सी कारोबारबारे जानकारहरूले केन्द्रीय बैङ्कको कदमलाई ‘प्रविधि प्रयोगलाई निरुत्साहित गर्ने कार्य’ बताउँदै आएका छन् ।
‘नियमन गर्दै नयाँ प्रविधि भित्र्याउनु आवश्यक’ विज्ञहरू नेपालले डिजिटल मुद्रा ल्याउन ढिला हुन लागिसकेको बताउँछन् । उनीहरूका भनाइमा विश्व बजारमा कारोबार गर्न अब बिस्तारै डिजिटल मुद्रा बढी प्रचलनमा आउने देखिन्छ ।
त्रिभुवन विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागका विभागीय प्रमुख सहप्राध्यापक नवराज पौडेल भन्छन्, “डिजिटल मुद्राबाट अब हामी भाग्न सक्ने अवस्था छैन ।”
“हामी परम्परागत नगदमा मात्र निर्भर भएर बस्दा विदेशमा व्यापार गर्न पनि समस्या हुनसक्छ ।”
तर, त्यसलाई आवश्यक नियमनको व्यवस्था गर्नुपर्ने उनी बताउँछन् । त्यस्तै निगरानी र सुरक्षाको व्यवस्था पनि राम्रो हुनुपर्ने उनको सुझाव छ ।
के हो क्रिप्टोकरेन्सी ?
क्रिप्टोकरेन्सी भनेको भर्चुअल मुद्रा हो । यसको अस्तित्व अनलाइनमा सीमित रहन्छ । भौतिकरूपमा देख्न वा छुन नसके पनि यसको मूल्य तोकिएको हुन्छ ।
यस भर्चूअल मुद्राको कुनै केन्द्रीय बैङ्क हुँदैन अर्थात् यसलाई नियमन गर्ने कुनै केन्द्रीय निकाय हुँदैन ।
संसारभरिका कम्प्युटरहरूमा राखिएको डिजिटल रेकर्डको आधारमा यो सञ्चालन हुन्छ ।
क्रिप्टोकरेन्सीको प्रयोग गरेर सरसामान किन्न वा भुक्तानी गर्न सकिन्छ । यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत डिजिटल वालेटमा राख्न सकिन्छ ।
सबै क्रिप्टोकरेन्सी ‘ब्लकचेन’ भनिने प्रविधिमा आधारित हुन्छन् । सन् २००९ देखि चर्चामा आएको बिटकोइन पहिलो क्रिप्टोकरेन्सी हो ।
बिटकोइनको संस्थापन श्रेय सातोशी नाकामोतोलाई दिइएको छ । तर, सातोशी नाकामोतो को हुन् भनेर आजसम्म कसैलाई थाहा छैन ।
अहिलेसम्म हजारौँको सङ्ख्यामा क्रिप्टोकरेन्सीहरू अस्तित्वमा आएका छन् र नयाँ क्रिप्टोकरेन्सी थपिने क्रम जारी छ ।
Leave a Reply