भर्खरै :

निर्वाचन, घोषणापत्र र आचारसंहिता

स्थानीय निकायको निर्वाचन यही वैशाख ३० गते हुन गइरहेको छ । त्यसैले देश निर्वाचनमय भएको छ । टोलटोलमा, वडावडामा राजनीतिक दल र त्यसका उम्मेदवारको विषयमा विभिन्न चर्चा परिचर्चा भइरहेको छ । कोही स्वतन्त्ररूपमा निर्वाचनमा सहभागी भएका छन् त कोही कुनै न कुनै राजनीतिक दलको निर्वाचन चिह्न बोकेर सहभागी भइरहेका छन् । गठबन्धनको नाममा पनि उम्मेदवारहरू निर्वाचनमा सहभागी भइरहेका छन् । निर्वाचनको मिति घोषणापछि हिजो निर्वाचन नै होला कि नहोला भन्ने आशङ्का जनतामा थियो । तर, वैशाख ११ र १२ गते भएको उम्मेदवारको नाम दर्तापछि र उम्मेदवारहरूलाई चुनाव चिह्न वितरणपछि यो चुनाव प्रचारप्रसार सुरू हुन थालेपछि निर्वाचन निश्चित भइसकेको आभाष भएको छ ।
दोस्रो जनआन्दोलनपछि नेपालमा गणतन्त्रको स्थापना भयो र देश सङ्घीयतामा प्रवेश भयो । सङ्घीयतामा गइसकेपछि देशमा तीन वटा सरकार बन्यो । पहिलो सङ्घीय सरकार अर्थात् केन्द्रीय सरकार, दोस्रो प्रदेश सरकार र तेस्रो स्थानीय सरकार । स्थानीय सरकार जनतासँग अति नै नजिकमा रहने सरकार हो । यसमा जनताको प्रत्यक्ष सहभागिता रहेको हुन्छ । आसन्न निर्वाचन देशमा गणतन्त्र स्थापनापछिको दोस्रो स्थानीय निकायको निर्वाचन हो । तर, मतदाताहरूले निर्वाचनमा भाग लिँदा वा उम्मेदवारहरूलाई मत दिनुअघि विगतको निर्वाचनलाई पनि गहिरिएर हेर्नु बुद्धिमानी हुनेछ । विगतको चुनावमा कुन दल र कुन दलको कुन उम्मेदवारले जनतासामु कस्तो प्रतिबद्धता जनाएका थिए ? के ती प्रतिबद्धताहरू पूरा गरे त ? या जनतासमक्ष जाहेर गरेका कति प्रतिबद्धताहरू पूरा गरे त ? यी र यस्ता थुप्रै विषयमा अबको निर्वाचनमा मतदाताहरूले मतदिनुअघि गहिरिएर सोच्नु आवश्यक छ ।
देश र समाजमा आमूल परिवर्तन ल्याई आदर्श समाज निर्माण गर्न एक न एक राजनैतिक दर्शन र सिद्धान्तको आवश्यकता पर्दछ र आदर्श समाज स्थापनाको लागि कुनै न कुनै राजनैतिक दलले प्रतिनिधित्व गरेको हुन्छ । आसन्न स्थानीय निकायको निर्वाचनमा देशभरिबाट थुपै्र राजनैतिक दलले सहभागिता जनाएका छन् र ती राजनैतिक दलले कुनै न कुनै सिद्धान्त बोकेका हुन्छन् । निर्वाचनमा भाग लिने राजनैतिक दल र राजनैतिक दलका उम्मेदवारले (स्वतन्त्र उम्मेदवार पनि हुन सक्छ) निर्वाचन घोषणापत्र वा प्रतिबद्धता पत्र पनि जारी गरेका हुन्छन् । सोही दलको घोषणापत्र र प्रतिबद्धता पत्रलाई अध्ययन गरेर मतदाताले निर्वाचनमा मत दिने गर्दछ । पार्टी र उम्मेदवारको घोषणापत्र तथा प्रतिबद्धता पत्रमा देश र जनताको पक्षमा के कस्ता कुराहरू उल्लेख गरेका छन् । सो विषयमा गहन अध्ययन गर्ने र विगतका जनप्रतिनिधिहरू गरेका प्रतिबद्धतालाई विश्लेषण गरेर आगामी निर्वाचनमा सही उम्मेदवारलाई निर्वाचित गर्नु सबै मतदाताको कर्तव्य हो । घोषणापत्रमा एउटा कुरा लेख्ने र व्यवहारमा पूरा नगर्ने, मात्र आश्वासनको भरमा निर्वाचन जित्नेले जनतालाई ठग्नेसिवाय अरू केही गर्दैन । यसतर्फ जनता सचेत हुन आवश्यक छ । चुनाव हो, चुनावमा एकले अर्काको विरोध गर्नु स्वाभाविक हो । तर, सचेत जनताले सही र गलत छुट्याउनुपर्छ । किनकि, निर्वाचन जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर हो । सही उम्मेदवारले मात्र जनताको हितमा काम गर्नेछ ।
निर्वाचनअघि मतदातादेखि लिएर उम्मेदवारहरूलाई लक्षित गरेर निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्ने गर्दछ । सोही निर्वाचन आचारसंहिताभित्र रहेर निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्ने गर्दछ । आचारसंहिता मतदाता र उम्मेदवारहरूलाई नैतिकतामा बाँध्ने एक कसी हो । तर, नेपालको विडम्बना भनौँ या निर्वाचन आयोगको लाचारिपन, खुलारूपमा निर्वाचन आचारसंहिताको उल्लङ्घन भए तापनि केही गर्न सकेको पाइँदैन । निर्वाचन आचारसंहिताको हरेक बुँदाहरू उल्लङ्घन भएको पाइन्छ । निर्वाचनलाई उपयोग गर्ने नाउँमा राजनीतिक दल र उम्मेदवारहरूले करोडौँ रूपैयाँ खर्च गरेर पैसा वितरण गर्ने, उपहार वितरण गर्ने, भोजभतेर गर्ने, आफ्नो दल वा आपूm विजयी भएमा लदको लोभ देखाउने, ठेका–पट्टा र अन्य आर्थिक प्रलोभन देखाउने आदि आचारसंहिता उल्लङ्घन विशेषगरी ठूला राजनीतिक दलले गरेको पाइन्छ । तर, ठूला दलको आचारसंहिता उल्लङ्घनमाथि निर्वाचन आयोग निरिह बनेको विगतमा पनि देख्न सक्छौँ । आज निर्वाचन आचारसंहिता उल्लङ्घन गरेर र निर्वाचनअघि लाखौँ करोडौँ रूपैयाँ खर्च गरेर चुनाव जित्नेले भोलि भ्रष्टाचार गर्नु, अनियमित गर्नु स्वाभाविक हो । त्यसैले आसन्न निर्वाचनमा मतदाताहरूले यस्ता आचारसंहिता उल्लङ्घनका विषयमा पनि संवेदनशील भएर हेर्नु आवश्यक छ ।
यसर्थ आगामी वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचन सही जनप्रतिनिधिलाई जिताउनु सबैको कर्तव्य हो । मतदान गर्दा निर्वाचन आचारसंहिता पालना गरेको दल र उम्मेदवार पहिचान गरेर, राजनीतिक दलले जारी गरेको घोषणापत्र, प्रतिबद्धतापत्र अध्ययन गरेर विगत र वर्तमानमा सो पार्टी र उम्मेदवारले खेलेका भूमिका र क्रियाकलापको सही विश्लेषण गरी रही व्यक्तिलाई निर्वाचित गर्नु सबै मतदाताको बुद्धिमानी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *