भर्खरै :

शासक दलहरूको अकर्मण्यताले युवाहरू विदेशिन बाध्य

भक्तपुर, २१ वैशाख । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगरपालिका निर्वाचन परिचालन समितिको आयोजनामा बुधबार दुवाकोटमा चुनावी सभा भयो ।
सभामा नेमकिपाका सचिव प्रेम सुवालले मा.वि.तह (कक्षा १२ सम्म) को शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क तथा स्वास्थ्य उपचार निःशुल्क गर्ने व्यवस्थाको लागि मादल चिह्नमा मतदान गरी नेमकिपाका उम्मेदवारहरूलाई जिताउन आग्रह गर्नुभयो ।
सत्तामा गएका पार्टीहरूको अकर्मण्यताको कारण वैदेशिक रोजगारीको नाममा ११० भन्दा बढी देशमा नेपाली युवाहरू प्रतिकूल मौसममा पनि काम गर्न विवश भएको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “भारतीय विस्तारवादले नेपाली भूमि मिच्दा पनि नेपाल सरकारले बोल्न सकेन । चेलीबेटी बेचबिखन भइरहँदा पनि सरकारल बोलेन । यस्तो सरकारको के काम ?”
विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुको मन्दिर भासिने गरी बालुवा उत्खनन गरेर दोहन गर्नेहरू अहिले उम्मेदवार भइरहेकाले जनता सचेत भई तिनीहरूलाई पराजित गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “दुवाकोट बसपार्क नजिकको १६ रोपनी सार्वजनिक जग्गा व्यक्तिले आफ्नो नाममा दर्ता गर्दा पनि शासक दलका नेता–कार्यकर्ता मौन छन् । यस्ता भूमाफियाविरूद्ध सचेत जनता उठ्नु आवश्यक छ ।”
देशघाती एमसीसी सम्झौता पारित गर्ने पार्टीहरूलाई निर्वाचनमा पराजित गरी देशको सम्प्रभुता रक्षाको लागि नेमकिपाका उम्मेदवारहरूलाई जिताउनुपर्नेमा सचिव सुवालले जोड दिनुभयो ।
उहाँले प्रस्ट्याउँदै भन्नुभयो, “संरा अमेरिकाले युक्रेनमा नाटो सेनाको हतियार तैनाथ गरेर रूसविरूद्ध गतिविधि गरेकोले युद्ध निम्तिएको हो । देउवा सरकारले युक्रेन मामिलामा रूसविरूद्ध बोलेर असंलग्न परराष्ट्र नीतिलाई उल्लङ्घन गरेको छ ।”
पार्टीका केन्द्रीय सदस्य सृजना सैँजूले नेपालको राजनीतिक दबुलीमा मादल राजनैतिक नैतिकताको चिह्न भएको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “दुई अर्बको भृकुटी कागज कारखाना नेपाली काङ्ग्रेसले ३७ करोडमा भारतीय नागरिकलाई बेचेर देशघात ग¥यो ।”
काम गरी खाने जनताको पक्षमा नेमकिपाले बोल्दै आएकोले नेमकिपाका उम्मेदवारहरूलाई जिताउनु आवश्यक भएको केन्द्रीय सदस्य सैँजूले बताउनुभयो ।
नेमकिपाको तर्फबाट चाँगुनारायण नगरपालिकाका प्रमुख पदका उम्मेदवार केशवप्रसाद तिमिल्सेनाले चाँगुनारायण नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन नेमकिपाका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “चाँगुनारायण नपामा व्यापक भ्रष्टाचार बढेको गुनासो बढेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले फाइल कब्जा गरेको हो । स्मार्ट सिटीको नाममा शासक दलहरूले उपत्यकालाई ध्वस्त बनाउन खोजेकोतर्फ नेपाली सचेत हुनु जरूरी छ ।”
नेमकिपा चानपा १ एकाइ समितिका अध्यक्ष श्यामकृष्ण अवालको सभापतित्वमा भएको उक्त सभामा उपप्रमुख पदका उम्मेदवार कल्पना लामा, वडाध्यक्ष पदका उम्मदेवार चिनीकाजी अवाल, र जीएस खड्काले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *