भर्खरै :

अस्वस्थ राजनीतिक प्रतिस्पर्धाबाट सचेत होऔँ

राजनीति आय आर्जन गर्ने पेसा होइन । तर, सत्तासीन तथा ठूला दलका नेता, सांसद र कार्यकर्ताहरूले जनताका अमूल्य मत किनेर या लोभलालच बाँडेर गलत राजनीति गरेर जनताको मत भाँड्नेमात्र होइन बिगार्ने काम गरिरहेका छन् । निर्वाचनमा सिद्धान्त र विचारको राजनीति गर्ने इमानदार कार्यकर्ता या उम्मेदवारभन्दा मत किन्ने, सामान बाँड्ने, भोज खुवाउने स्वार्थी उम्मेदवारहरू बढी देखिए । सर्वसाधारण जनता पनि लोभलालचमा फसेर आफ्नो स्वार्थ पूरा गर्छन् र पछि तिनीहरूले सोको खर्च कसरी उठाउँछन् भन्ने मतलब राख्दैनन् । यसरी जनताको मन बिगार्ने, भाँड्ने नेता र कार्यकर्ताहरूबारे जनता सचेत र चनाखो नभएसम्म त्यस्तो कार्य दोहोरिरहन्छ ।
यो गलत राजनीतिले गर्दा देशको राष्ट्रिय राजनीति दिशाहीन बन्दै छ । एकक्षणको स्वार्थमा अल्झाएर जसरी भए पनि जित्ने दाउ सत्तारूढ र ठूला दलका नेता तथा कार्यकर्ताहरूले गरिरहेका छन् । एकक्षणको लाभमा फस्दा जनताले इमानदार र प्रतिभावान उम्मेदवार पाउँदैनन् । अब त मतदाता न्यायाधीश बनेर कुन दलले कुन वर्गका जनताको प्रतिनिधित्व गर्छ ? पैसा बाँडेर मन बिगार्ने दल कुन कुन हुन् ? मूल्याङ्कन गरेर सही उम्मेदवारलाई जिताउने बेला हो । समयमा विचार नगर्ने पछि प्रायश्चित गरेर समस्या समाधान हुनेछैन । अस्वस्थ राजनीतिक प्रतिस्पर्धा गर्ने दल र दलका नेताहरूलाई जनतामाझ उदाङ्ग्याउनैपर्छ । नत्र, हरेक निर्वाचनमा यस्ता अस्वस्थ प्रतिस्पर्धाहरू भइरहने छन् । गलत मानसिकता भएका व्यक्तिहरूले रजाइँ गरिरहने छन् ।
स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण होला कि नहोला भन्ने शङ्का सर्वसाधारणलाई मात्र होइन निर्वाचन आयोगलाई पनि लागेको छ । राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले पैसा बाँडेको र धाक धम्की दिइरहेको सङ्केतको आधारमा निर्वाचन आयोगले सो शङ्का व्यक्त गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा ‘मनि’ र ‘मसल’ ले प्रभावित पार्ने हो कि भन्ने चिन्ता व्यक्त गरे । निर्वाचन आयुक्त थपलियाको यो चिन्ताले निर्वाचनप्रति अनास्था फैलिने छ । यसले राम्रो सन्देश दिँदैन ।
जनताले छानेका उम्मेदवार सिद्धान्तमा अडिग भएको हुनुपर्छ । उम्मेदवारहरू जनताको सेवामा समर्पित हुनुपर्छ । ठूला र सरकारमा रहेको अभिमानी देखाएर आपराधिक गतिविधि गर्ने प्रत्येक उम्मेदवारलाई पाखा लगाइनुपर्छ । क्षणिक लाभले या स्वार्थमा फसेर गलत तत्वले दीर्घकालीन हानि पु¥याउँछ भन्ने कुरा थाहा पाउनैपर्छ । सुविधाभोगी स्वार्थमा फस्दा एक क्षणको लागि फाइदा भए पनि त्यसले दूरगामी असर पु¥याउँछ । हाम्रो अमूल्य मतले आपराधिक क्रियाकलापमा सहयोग नपुगोस्, आपराधिक प्रवृत्तिले बढावा नपाओस् । स्थानीय तहको निर्वाचन राजनीतिक र आर्थिक अपराधको स्रोत नबनोस् । राजनीति देश र जनताको सेवा गर्ने बाटो हो भन्ने सन्देश जनताको घर–आँगनमा पुगोस् र यस काममा राजनीतिक दलले महत्वपूर्ण भूमिका खेलोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *