भर्खरै :

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै वडा कार्यालयबाटै चुनाव प्रचार प्रसारमा

भक्तपुर, २२ वैशाख । चाँगुनारायण नगरपालिका वडा नं. ३ का एमालेका वडा अध्यक्षका उम्मेदवार सरकारी गाडीको दुरुपयोग गर्दै वडा कार्यालयबाटै चुनाव प्रचारप्रसारमा भेटिएका छन् ।
निर्वाचनका लागि वडाध्यक्षबाट राजिनामा दिएर पुनः उम्मेदवारको रूपमा रहेका नेकपा एमालेका उम्मेदवार श्यामसुन्दर धिमाल वडा कार्यालयको अध्यक्षको कार्यकक्षमा नै बसेर चुनावी क्रियाकलापमा संलग्न भएको अवस्थामा फेला परेका हुन् । सरकारी गाडी
(जिल्ला समन्वय समितिको सभापतिको गाडी) मा आएका उनले वडा कार्यालयबाट नै चुनावी क्रियाकलाप गरेपछि स्थानीयले विरोध गरेका थिए । स्थानीयको विरोधपछि सरकारी गाडी भागेको थियो भने धिमालले फोटो नलिन र बाहिर कार्यकक्षबाट निक्लन धम्की दिएको स्थानीयले बताएका छन् ।
आसन्न निर्वाचनका लागि उम्मेदवार हुने जो कोही स्थानीय निकायका पदाधिकारीले राजिनामा दिनुपर्ने र चुनावी क्रियाकलाप पनि वडा कार्यालयबाट गर्न नपाउने भए पनि एमालेका वडा अध्यक्ष उम्मेदवार धिमाल भने पहिलाको कार्यकक्षबाट नै निर्वाचन केन्द्रित क्रियाकलाप गर्दै गरेको अवस्थामा फेला परेका हुन् ।
निवर्तमान वडाध्यक्ष तथा नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षका उम्मेदवार श्यामसुन्दर धिमाल एवं निवर्तमान महिला सदस्य तथा नेकपा
(एमाले) का तर्फबाट महिला सदस्यका उम्मेदवार रमा थापाले राजिनामा दिएर छोडिसकेको वडा कार्यालयको कुर्सी तथा कार्यकक्षमा बसी चुनावी गतिविधि सम्बन्धित छलफल, उपभोक्ता समिति गठन, सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिनेलगायत निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन गरेका हुन् ।
उनीहरूको यस्तो गतिविधिको नेपाली काङ्ग्रेस, राप्रपा, नेमकिपा लगायतका दलले विरोध गरेका छन् । दलका उम्मेदवारले सरकारी गाडीको दुरुपयोग गर्दै वडा कार्यालयमा नै बसेर चुनावी क्रियाकलापमा भेटिनु ठाडो रूपमा निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको नेपाली काङ्ग्रेस झौखेलका सभापति राजेश शाही ठकुरीले बताउनुभयो ।
निर्वाचनको समयमा वडा कार्यालयबाट भएको गतिविधिको स्थानीयवासी, बुद्धिजीवी तथा समाजसेवीहरूले यसप्रति आपत्ति जनाउँदा पनि निवर्तमान वडाध्यक्ष एवं वर्तमान उम्मेदवार धिमालले धाक रवाफ देखाउने गरेको सभापति ठकुरीले बताउनुभयो ।
वडा कार्यालय आमजनताको सेवा सुविधा निम्ति प्रयोग गर्नुपर्नेमा दलीय हित तथा भोट कमाउने दुषित नियतले दुरूपयोग गर्न नपाउने भन्दै उहाँले निर्वाचन आयोग भक्तपुरको ध्यानार्कषण गर्दै विज्ञप्ति जारी गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *