निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
मजुवा बजारको पश्चिम कुनामा एउटा होटल छ । आफूलाई वामपन्थी भन्ने केही मनुवाहरू मलाई आफ्नो गफ अड्डामा निम्तो गर्छन् । प्रचारप्रसारको कामबाट निवृत्त भएर अलिबेरलाई म यो अड्डामा पस्छु । चिया यो गफ अड्डाको ऊर्जा औ अम्मल हो । म नचाहेरै पनि चिया थप्दै जान्छु । होटलसाहुकी छोरी चिया थपेर कहिल्यै थाक्दिनन् ।
अड्डाका पाका मनुवा अवकाश प्राप्त स्वास्थ्यकर्मी हुन् । महाकाली सन्धि पास गरेपछि एमालेबाट बाहिरिएका उनले मनमोहन अधिकारीले सन्धिको पक्षमा मत दिएकै थिएनन् भन्ने भ्रम पालेरै बाल फुलाएका छन् । अर्का मनुवा अझै पनि माओवादी आन्दोलनमा दम देख्छन् । कम्युनिस्ट आन्दोलनमा लागेर फुलेको बाल कालो छँदाको स्मृति ताजा पार्न ‘क्रान्तिकारीहरूका जीवनी’ को ढड्डा पल्टाइरहन्छन् । वामपन्थी ‘सामान्य ज्ञान’ का सानातिना विषयमा पनि उनीहरू रसिक विवाद गर्छन् । उनीहरूमा एउटा कुरा भने साझा छ । भूमिगत राजनीति गर्दाका दिनहरूमा जनताले दिएको अगाध प्रेमको स्मृति मात्रले पनि उनीहरूको अनुहार धप्प बल्छ । बस यही राप महसुस गर्न म चिया थप्दै जान्छु ।
आजभोलि ‘कम्युनिस्ट’ हरूलाई चुनाव जित्न जनताको माया चाहिँदैन । कमाउन सक्नेहरू सजिलै ‘कम्युनिस्ट’ बन्न सक्छन् । यो ‘सुविधा’ उपलब्ध गराएका छन् बजारका एमाले र माओवादी पार्टी कमिटीहरूले । ‘कम्युनिस्ट’ हरू कमाउ धन्दामा लागेका छन् अथवा कमाउ धन्दामा लागेकाहरू ‘कम्युनिस्ट’ बनेका छन् । यही वास्तविकताको चेपुवामा परेकाहरू गफ अड्डामा जम्छन् । जनताको पिरले, तिनले दिएको अपार मायाको रमरमले । अध्ययनशीलहरू अब ‘कम्युनिस्ट’ पार्टीमा अट्न सक्दैनन् । बोल्दा, खोक्दा र वाक्दा पनि झूट फलाक्नेहरूको पार्टी बनेको छ ‘कम्युनिस्ट’ पार्टी ।
गफ अड्डामा काङ्ग्रेस, एमाले र माओवादीका प्रचार गीतहरूको बरोबर समीक्षा हुन्छ । यी गीतहरूले हिटलरको प्रचारमन्त्री गोयबल्सलाई पनि धुलो चटाइसकेका छन् । कुरूपलाई रूपवान देखाउन सुन्दर कलाको यस्तो दुरूपयोग देखेर महान् सङ्गीतकारहरू रूँदा हुन् । एमालेको गीत दाबी गर्छ – धरहरा एमालेले बनायो ! एक मनुवा व्यङ्ग्य कस्छन् – असोजमा जन्मेको बच्चाले ‘मैले गर्दा बाआमाले टीका र जमरा लगाउन पाए’ भनेझैँ हो, धरहराको उद्घाटन कसैले न कसैले त गर्नु नै थियो, काकतालीले केपी ओली परेको मात्र हो । समाजवाद नै ल्याइसकेझैँ, आफ्नै खल्ती रित्याएर दिएझैँ एमालेको गीतमा झूट फलाक्छ – बुढाबुढी पाल्ने एमाले ! काङ्ग्रेसको गीत बोल्छ – देशलाई युवा नेताको खाँचो छ ! गफ अड्डाका अर्का मनुवा बोल्छन् – काङ्ग्रेसका युवा नेताहरू कस्ता छन् दुनियाँले थाहा पाइसके, भीक मागेर देश बनाउने युवा बुढाहरूभन्दा कम बुढा होइनन् । माओवादीको गीत बोल्छ – माओवादीले राजतन्त्र फाल्यो ! तेस्रो मनुवा बम्किन्छन् – राक्षसको मूर्ति बोकेको गधाले ‘मेरो रापतापले सबैले मलाई ढोक्दै छन्’ भनी फुर्ति गरेझैँ हो, अहिले फुर्ति झर्दै छ र राक्षसका लागि ‘कम्फर्टेबल’ सरकारको कुरा चल्ने गर्छ ।
गाउँमा चुनावले अर्कै रूप लिएको छ । कसैले यसलाई ‘दोहोरी गीत प्रतियोगिता’ भन्दै छन् । एकसेएक कलाकारहरू ‘यो पार्टी राम्रो, यो पार्टी हाम्रो’ भन्दै छन् । एमसीसी गरेर देश डुबाउने भुसतिघ्रेहरूको प्रशस्तिगान भइरहेको छ । राणा शासकहरू जीवित हुन्थे भने यो भक्तिगानको उनीहरूले पनि ईष्र्या गर्ने थिए । अपठित जनता ‘यो गीत त कति राम्रो’, ‘मलाई त यो गीत मन प¥यो’ भन्दै छन् । कसैले चुनावलाई ‘साँढे जुधाइ’ भन्दै छन् । हातमा ट्याटु कुँदेका मुन्द्रेजगल्टेहरू मोटरसाइकल र महिन्द्रा भ्यानहरूमा यताउता दौडिँदै छन् । कसैले चुनावलाई ‘दाँत ङिच्याइ’ भन्दै छन् । उम्मेदवारहरू पार्टीको नीति, कार्यक्रम, घोषणापत्रको कुरा गर्दैनन्, ‘दाँत ङिच्च’ पार्दै नमस्कार गर्छन्, लाजै नमानी ‘एउटा भोट पक्का भयो है त’ भन्छन् ।
जसले जे खान्छ, त्यही खुवाएर भोट सोहोर्ने हानथाप छ । रक्सी मासु खानेलाई रक्सीमासु खुवाएर ढलाइँदै छ, पद र पैसा खानेलाई पद र पैसा खुवाएर ‘आफ्नो मान्छे’ बनाइँदै छ । खान जे पनि पाइन्छ, केवल कुरा गर्न पाइन्न । वैचारिक छलफलमा पावन्दी छ । सैद्धान्तिक छलफल गर्न चाहनेहरू होसियार हुनुपर्ने स्थिति छ । खाने र खुवाउने परम्पराका लठैतहरू जुनसुकै औतारमा प्रकट हुनसक्छन् । औपचारिक मिडियामा आएको छैन, तर जुगुम गाउँमा एकजना युवक ‘सूर्यको ताप’ ले भस्म भएको खबर छ । ‘सूर्यले जितेको’ खण्डमा यो हत्या स्वाभाविक मृत्युमा परिणत हुने निश्चित छ । मृतकका अभिभावक र छरछिमेकी त्राहीत्राही छन् ।
मजुवामा मलाई यही सानोतिनो गफ अड्डा पनि प्रगतिशील लाग्न थालेको छ । यही कुनामा भए पनि ‘गहकिला’ कुराकानी हुन्छन् । अहिलेको गतिले हिसाब लगाउने हो भने दर्शन, माक्र्सवाद, साम्राज्यवाद, वातावरण विनाश, पृथ्वीमा प्राणीको भविष्य, मानिसको एउटै जातिजस्ता विषयसम्म पुग्न यो गफ अड्डालाई अझ आधा शताब्दी लाग्ला जस्तो महसुस हुन्छ । तैपनि यहाँ आशाको किरण केही छ भने यही एउटा गफ अड्डा छ । त्यसैले ‘गफ अड्डा की, जय !’ भन्दै साँझपख मेरा खुट्टा सीधै यता सोझिन्छन् । मानौँ, तिनलाई पूर्ण विश्वास छ– पाका मनुवाहरू तिनकै बाटो हेर्दै छन्, लिजाको कित्लीमा चिया भल्किरहेको छ, अनुभवका पोकापन्तुराहरू मुख खोल्न आतुर छन् ।
Leave a Reply