निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
कालीकोट, २४ वैशाख । नेपाल मजदुर किसान पार्टी तिलागुफा नगर समितिको आयोजनामा शनिबार राँचुलीमा जनसभा भयो ।
जनसभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् तिलागुफा नपाका प्रमुख पदको प्रत्याशी नवराज कोइरालाले नेमकिपा विजयी भएमा घोषणापत्रमा उल्लिखित कार्य सम्पन्न गर्न गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले नेपाली काङ्ग्रेस, एमाले तथा माओवादी केन्द्रलगायतका शासक दलहरूले निर्वाचन संहिताको अवज्ञा गरिरहेको उल्लेख गर्दै ती पार्टीले मतदातालाई रिचार्ज कार्ड बाँड्ने, मोटरसाइकलमा इन्धन भरिदिने, खसी काटेर भोजभतेर गर्ने गलत काम गरिरहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले शासक पार्टीहरूको असक्षमताको कारणले कर्णाली प्रदेशका जनताले गरिबी अभाव, रोग, भोक र कुपोषणको सिकार हुनुपरेको बताउनुभयो ।
संविधानमा उल्लिखित स्थानीय तहका २१ वटा अधिकारको प्रयोग गर्नलायकलाई निर्वाचनमा जिताउनुपर्ने भन्दै सदस्य गोसाईले नेमकिपाका उम्मेदवारले इमानदारीसाथ काम गर्ने स्पष्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष नरदीप शाहीले शासक दलहरू सत्ता नभई बस्न सक्दैनन्, त्यसैले गठबन्धन गर्छन् भन्नुभयो ।
नेमकिपा कालीकोट जिल्ला समितिका अध्यक्ष केआर शाहीले यो पटकको स्थानीय तहको निर्वाचन देशभक्त र देशघातीबीचको सङ्घर्ष भएको बताउनुभयो । उहाँले मादलमा छाप राख्नुको अर्थ देशको सार्वभौमिकता रक्षा गर्नु हो भन्नुभयो ।
नेमकिपा, कालीकोटको पूर्व जिल्ला अध्यक्ष ऐनबहादुर शाहीले मतदाता शिक्षा आवश्यक भएको भन्दै निर्वाचन बिथोल्न अनेक षड्यन्त्र गर्नसक्ने भएकोले गम्भीर हुनुपर्ने विचार राख्नुभयो ।
सूर्यबहादुर शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा तिलागुफा नगर समितिका सदस्य डीएस बोहराले पनि बोल्नुभएको थियो ।
Leave a Reply