भर्खरै :

महालक्ष्मी नपामा नेमकिपाको चुनावी सभा

ललितपुर, २४ वैशाख । नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्ला निर्वाचन परिचालन समितिको आयोजनामा शनिबार महालक्ष्मी नगरपालिकाको सिधिपुरमा चुनावी सभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न नेमकिपाका उम्मेदवारहरूलाई मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो ।
शासक दलहरू नेपाली काङ्ग्रेस, एमाले, माओवादीलगायतका पार्टीहरूले जनविरोधी काम गरिरहेकोले उहाँले बताउनुभयो ।
केन्द्रीय सदस्य गोसाईले भन्नुभयो, “नेका, एमाले, माओवादी पार्टीबीच मौलिक भिन्नता छैन । ती पार्टीहरू ‘गाँसेगुसे एकै नासे’ झैँ पुँजीवादी विचारका छन् । तिनीहरूले कामदार वर्गका जनताको हितमा काम नगरी शोषक र पुँजीपति वर्गका हितमा काम गरिरहेका छन् ।”
सांस्कृतिकरूपमा सम्पन्न व्यवस्थित काठमाडौँ उपत्यका अव्यवस्थित हुनुमा शासक पार्टीहरू जिम्मेवार रहेको उहाँले बताउनुभयो ।
एमसीसी सम्झौता देशघाती रहेको स्पष्ट पार्दै केन्द्रीय सदस्य गोसाईले त्यो सम्झौता पारित गर्नेहरू देशद्रोही भएको धारणा राख्नुभयो ।
नेमकिपा ललिपुरका अध्यक्ष राजवीर डंगोलले देशको सार्वभौमिकता र सम्प्रभुता रक्षा गर्न नेमकिपाका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गर्नुभयो ।
नेमकिपा ललितपुरका उपाध्यक्ष अशोक महर्जनले नेमकिपाका उम्मेदवारहरू निर्वाचन घोषणापत्रअनुसार काम गर्न प्रतिबद्ध छ भन्दै निर्वाचनलाई घोषणापत्रबीचको लडाइँको रूपमा लिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपाको तर्फबाट महालक्ष्मी नगरपालिकाका प्रमुख पदका उम्मेदवार महन्त महर्जनले नेमकिपा सिद्धान्तनिष्ठ भई देश र जनताको सेवामा निरन्तर लागिरहेकोले आफूहरूलाई निर्वाचित गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा पार्टीको तर्फबाट उम्मेदवारी दिएका आशाराम महर्जन, रूपा महर्जन, अस्मिता महर्जन, चन्द्रबहादुर महर्जनलगायतले नेमकिपाका उम्मेदवारहरूलाई निर्वाचित गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा कवीन्द्र डंगोलले पनि बोल्नुभएको थियो ।
सभा अगाडि लुभु, लामाटार, टीकाथली, चुनीखेललगायतमा घरदैलो कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *