भर्खरै :

भ्रष्टाचारमुक्त स्थानीय तहको पक्षमा नेमकिपा

दैलेख, २४ वैशाख । नेपाल मजदुर किसान पार्टी गुराँस गापा चुनाव परिचालन समितिको आयोजनामा चुनावी सभा पेटारी पातिकाल्ना र देउतीथानमा सम्पन्न भयो ।
पेटारीको सभामा नेमकिपा गुराँसका अध्यक्ष हस्तबहादुर घले गुरुङले भ्रष्टाचारमुक्त गुराँसको लागि नेमकिपाको जित आवश्यक छ भन्नुभयो । उहाँले शासक दलहरूले देशघाती एमसीसी सम्झौता गरेर साम्राज्यवादी र विस्तारवादीको दलाली गरेका छन्, भन्नुभयो ।
सभामा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले निःशुल्क शिक्षा र स्वास्थ्यको लागि नेमकिपाका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।
पातिकाल्नाको सभामा नेमकिपाका पूर्वकेन्द्रीय सदस्य तथा गुराँस गाउँपालिका अध्यक्षका उम्मेदवार उदयजंग शाहीले प्रतिक्रियावादी र देशघातीलाई हराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
देउतीथानको सभामा नेमकिपा गुराँस–४ का वडाध्यक्षका उम्मेदवार गगनबहादुर बीसीले नेमकिपा चुनाव जिते पनि हारे पनि जनतामाझ गएर काम गर्ने बताउनुभयो ।
त्यस्तै वैशाख २१ गते पालिकामा सभा भयो । उक्त सभामा नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरुङले पुँजीवादी देशमा बरोबर आर्थिक सङ्कट आउने विचार व्यक्त गर्दै देशमा समाजवाद हुँदै साम्यवादसम्म नपुगेसम्म जनताको समस्या समाधान नहुने बताउनुभयो ।
पालिका अध्यक्षका उम्मेदवार उदयजंग शाहीले “हामी दास नबनौँ, अरूको भरमा नपरौँ” भन्नुभयो ।
उहाँले जनतासँग खेलबाड गर्नेहरू जनताकै माझ अन्त्य हुनेछन् भन्नुभयो ।
सभामा नेमकिपा गुराँस गापा सचिव रेशम शाहीले नेमकिपा अन्याय र अत्याचारको विरुद्ध निरन्तर सङ्घर्षरत छ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *