कम्युनिस्ट को हुन्, को होइनन् ?
- आश्विन १५, २०८३
नेपालका शासक दलका नेताहरूले आफ्ना अभिव्यक्ति र क्रियाकलापमार्फत वर्ष दिन नै गाईजात्रा देखाउने गरेकोमा सचेत नेपाली जनता अवगत नै छन् । स्थानीय तहको निर्वाचनको सङ्घारमा प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाका भाषण र अभिव्यक्तिहरू सुन्दा उनी देशका प्रधानमन्त्री नभई कुनै गाउँपालिकाका वडा अध्यक्ष पदका आकाङ्क्षी जस्तै देखिन्छ । प्रधानमन्त्रीले गर्नुपर्ने कार्य उनी नगरपालिकाको मेयर र वडाध्यक्षहरूको काँधमा बिसाउन चाहन्छन् । प्रधानमन्त्री पत्नी र नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य आरजु राणाको अभिव्यक्ति सुन्दा त देशमा राणा शासन फर्केको हो कि भन्ने लाग्छ ।
तिनी नेकाले मेयर नजित्ने ठाउँमा केन्द्र सरकारको बजेट नदिने धम्की दिन्छिन् । मानौँ, केन्द्र सरकारको बजेट वा देशको राज्य कोष उनीहरूकै पारिवारिक ढुकुटी हो । त्यतिमात्र होइन कैलालीका सोझासीधा जनतामाझ एउटा वडाबाट ५–६ जनालाई फ्री भिसा फ्री टिकटमा मलेसिया पठाउने आश्वासन दिन्छिन् । स्वदेशमै रोजगार सिर्जना गर्नेबारे भने आरजु देउवा राणासित मात्र होइन सिङ्गो नेकासित कुनै योजना रहेनछ । सरकारमा बसेको पार्टी साच्चिकै जनताप्रति जिम्मेवार र उत्तरदायी छ भने घोषणा गरेझैँ वैदेशिक रोजगारमा जान चाहने जतिलाई सबैजनालाई फ्री भिसा फ्री टिकट लागू गरेर देखाउन सक्नुपथ्र्यो । सोझासीधा थारू जनतालाई मूर्ख बनाउने कोसिस गर्नुपर्ने अवस्था थिएन । सत्ता गठबन्धनका अरू नेताहरूको भाषण पनि योजनाबिनाको आश्वासनबाहेक केही ठहर हुँदैन ।
एमालेका अध्यक्ष केपी ओली र त्यस पार्टीका नेताहरूको भाषण त अरू पार्टीका नेताहरूमाथिको हेलाहोचोमै सीमित छ भन्दा फरक नपर्ला । उनीहरूको चुनावी भाषणमा न कुनै नीति छ, न कुनै ठोस कार्यक्रम । साढे तीन वर्ष देशको प्रधानमन्त्री छँदा केही लछार्न नसकेका केपी ओली जुन जुन नगर र जिल्ला जान्छन्, त्यहाँको विकासको जिम्मा आफूले लिने धक्कु लगाउँछन् । उनीहरूका अभिव्यक्तिले केही मानिसहरूका लागि मनोरञ्जनको काम त पक्कै गरेको छ, उनीहरूको बौद्धिक दिवालियापन पनि उदाङ्गो भइरहेका छन् ।
Leave a Reply