निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, २५ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मादल चिह्नमा मतदान गरी नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन आइतबार भक्तपुरको तालाक्वमा चुनावी जनसभा भयो ।
प्रतिकूल मौसमबीच उत्साहजनक जनसहभागिताबीच भएको जनसभाका वक्ताहरूले स्थानीय तहमा निर्वाचित नेमकिपाका जनप्रतिनिधिहरूले जनताको सेवामा गरेका उल्लेखनीय कामको चर्चा गर्नुभएको थियो ।
सभामा नेमकिपाका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले नेमकिपाको आर्थिक अनुशासन र भक्तपुरका जनताको ऐक्यबद्धता देखेर शासक दलका नेताहरू आत्तिएर अनर्गल प्रचारबाजी गरेको बताउनुभयो ।
उहाँले शासक दलले एमसीसी सम्झौता पारित गरेर देशको सार्वभौमिकता कमजोर बनाएको चर्चा गर्दै देश हितविपरीतको एमसीसी सम्झौता पारित गर्ने शासक दललाई स्थानीय तहको निर्वाचनमा मत नदिएर सजाय गर्नुपर्ने बताउनुभयो ।
सांसद सुवालले पप्पु कन्स्ट्रक्सनजस्ता बदमास ठेकेदार कम्पनीहरूलाई प्रोत्साहन गर्न शासक दलहरूले उपभोक्ता समितिमार्फत हुने विकास निर्माणको विरोध गरेको प्रस्ट पार्नुभयो । उहाँले शासक दलले भक्तपुरको शिक्षा क्षेत्रको विषयमा गरेका झूटा प्रचारले ख्वप विश्वविद्यालय स्थापनामा अवरोध गर्ने शक्ति को हुन् भन्ने कुरामा जनता स्पष्ट भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपाको प्रमुख पदका उम्मेदवार सुनिल प्रजापतिले सानो आकारको भक्तपुर नगरले आफ्नै बलबुत्तामा गर्न सकेको काम शासक दलले देशभर गरे देशले काँचुली फेरिन बेर नलाग्ने बताउनुभयो ।
उहाँले शासक दलको हातमा सङ्घीयता बाँदरको हातमा नरिवल भएको चर्चा गर्दै शासक दलले सम्पूर्ण शासकीय अधिकार फेरि पनि सिंहदरबारभित्र कैद गर्न खोजेको बताउनुभयो ।
प्रजातन्त्रको भावनाविपरीत राजनीतिक विचारमाथि निषेध गर्न तीन प्रतिशतको मतसीमाको प्रावधान ल्याएको भन्दै उहाँले भन्नुभयो,“प्रजातन्त्र विचारको प्रतिस्पर्धा हो । तर, आज शासक दलहरूले गठबन्धनको नाममा विचारमा आधारित राजनीतिलाई निषेध गरेका छन् ।”
“आजभोलि चुनाव प्रजातान्त्रिक तरिकाबाट वैचारिक प्रतिस्पर्धाभन्दा बढी धनवाद र डनवाद भएको छ”, उहाँले भन्नुभयो ।
यसअघि भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले वैचारिक प्रतिस्पर्धामा पराजित भएका शासक दलले नेमकिपाविरुद्ध झूटा र भ्रमपूर्ण प्रचारबाजी गरिरहेको बताउनुभयो ।
नेमकिपालाई सङ्कीर्ण दलको आरोप लगाउने माओवादी केन्द्रका नेतालाई जवाफ फर्काउँदै उहाँले भन्नुभयो,“देशमा जातीय नारा घन्काएर साम्प्रदायिकता फैलाउने र देश टुक्र्याउन खोज्ने माओवादी केन्द्र सङ्कीर्ण हो कि साम्प्रदायिक भावना निस्तेज पार्न समाजवादको विचार अघि सार्ने नेमकिपा सङ्कीर्ण ?”
नेमकिपाको तर्फबाट भक्तपुर नपाका उपप्रमुख पदका उम्मेदवार रजनी जोशीले नेमकिपाले नेपालको राजनीतिमा सधैंँ वैचारिक पथप्रदर्शकको भूमिका खेलिरहेको भन्दै नेमकिपाले स्थानीय तहको निर्वाचनलाई देशघातीविरुद्ध देशभक्तहरूको सङ्घर्षको रूपमा लिएको बताउनुभयो ।
उहाँले सरकारले स्वीकृति नदिँदा चिकित्साशास्त्र कलेजसहितको ख्वप विश्वविद्यालय स्थापना गर्ने भक्तपुरका जनताको चाहना अधुरो भएको र यो सपना साकार पार्न नेमकिपाका जनप्रतिनिधिहरूले लगातार सङ्घर्ष गर्ने बताउनुभयो ।
नेमकिपाको तर्फबाट भक्तपुर नपा वडा नं ४ का वडा अध्यक्ष पदका उम्मेदवार उपेन्द्र सुवालले चुनावबाट देशमा समाजवाद स्थापना हुन नसक्ने तथापि क्रान्तिको परिस्थिति तयार नभएको अवस्थामा प्रतिक्रियावादी संस्थाभित्र गएर पनि जनताको सेवा गर्ने लेनिनवादी सिद्धान्तअनुसार निर्वाचनको उपयोग गरिरहेको बताउनुभयो ।
सभामा नेमकिपाको तर्फबाट भक्तपुर नपा वडा नं ४ का लागि उम्मेदवारहरू पुरुषोत्तम तमखू, कृष्णसुन्दर प्रजापति र विष्णुकेशरी दुवालले पनि बोल्नुभएको थियो । नेमकिपाका ४ वडा समन्वय समितिका न्हुछेराम भेलेको सभापतित्वमा भएको सभामा स्थानीय अगुवा कार्यकर्ता बालकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।
सभामा राजु पाँतीको समूह र विनोद विकले गीत प्रस्तुत गर्नुभएको थियो ।
………….
Leave a Reply