भर्खरै :

मन्टेसरी एजुकेसन स्कूलको वार्षिकोत्सव

भक्तपुर, २५ वैशाख । भक्तपुर सूर्यविनायकस्थित मन्टेसरी एजुकेसन स्कूलको वार्षिकोत्सव एवं अभिभावक दिवस वरिष्ठ शिक्षासेवी पशुपतिमान प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा अतिथि प्रधानले विद्यार्थीहरू राम्रो हुनको लागि विद्यालय, शिक्षक र अभिभावकहरूको भूमिका अपरिहार्य हुने र अभिभावक स्वयम् चनाखो हुनुपर्ने बताउनुभयो ।
उहाँले विद्यालयका विभिन्न विद्यार्थी भाइबहिनीहरूलाई पुरस्कार वितरण, एस.के.जी. कक्षाका विद्यार्थीहरूलाई दीक्षित गर्नुका साथै विद्यालयका प्रिन्सिपल मङ्गला प्रजापति र विद्यालय सञ्चालक समितिका अध्यक्ष अच्युत प्रजापतिले दीक्षित विद्यार्थीहरूलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका एजुकेसनल इन्चार्ज गीता शिलाकारले स्वागत मन्तव्य दिनुभएको थियो भने विद्यालयका प्रिन्सिपल मङ्गला प्रजापतिले विद्यालयबाट शै.व.२०७८ मा भए गरेका विभिन्न कार्यक्रमहरू एवं क्रियाकलापहरूका बारेमा प्रतिवेदन पेस गर्नुभएको थियो ।
उक्त कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष प्रेमकृृष्ण खर्बुजा, किकम्पा मन्टेसरीका प्रिन्सिपल राजेश लाखा, अभिभावकहरू राजेश त्वानावासु र संगिता कुस्लेले पनि आ–आफ्ना भनाइहरू राख्नुभएको थियो ।
उक्त कार्यक्रममा विद्यालयका विद्यार्थी भाइबहिनीहरूका विभिन्न सांस्कृतिक, शिक्षक एवं अभिभावकहरूका विविध प्रस्तुतिहरू प्रस्तुत भएका थिए । विद्यालय सञ्चालक समितिका अध्यक्ष अच्युत प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उहाँले विद्यालयले गर्न लागेका कार्यहरूको सङ्क्षिप्त जानकारी दिई विद्यालयमा स्काउट शिक्षा प्रदान गर्ने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *