“देशमा राजनीतिक परिवर्तन ल्याउन निर्वासन, भूमिगत र जेल जीवन झेल्नुप¥यो”
- श्रावण २, २०८३
साम्राज्यवादको आक्रामक स्वभाव बदलिँदैन । युद्ध र आक्रमण साम्राज्यवादको अपरिवर्तनीय स्वभाव हो । जहिलेसम्म संसारमा साम्राज्यवादी शक्ति या देश रहिरहन्छ तहिलेसम्म युद्ध र आक्रमण रोकिँदैन । साम्राज्यवादी देशले एकातिर आणविक हतियार बोकेको हुन्छ भने अर्कोतिर पैसाको पोको बोकेको हुन्छ । हतियार प्रयोग नभएको अवस्थामा अमेरिकाले आर्थिक सहयोगको पोको बाँडेर शासकहरूको मन खिचेको हुन्छ । अमेरिकाले नेपालमा पैसाको पोको बाँडेर नेपाली शासकहरूको मन जित्ने प्रयास गरेको छ । एमसीसी सम्झौतामा हस्ताक्षर गरेपछि पाउने ५५ अरब रकम यसको पछिल्लो दृष्टान्त हो । पैसाको लोभ देखाएर समाजवादी देश, वामपन्थी शक्ति र जनतालाई सैद्धान्तिक र सांस्कृतिकरूपले पतन गराउने भूमिका अमेरिकाले खेलिरहेको छ । साम्राज्यवाद रहेसम्म आक्रमण र लुट अन्त्य हुन्न । अतः आक्रमण र लुट रोक्न साम्राज्यवाद अन्त्य गर्नुपर्छ । साम्राज्यवाद अन्त्य गर्न संसारका देशभक्त, प्रगतिशील र समाजवादी पक्षधरहरू एक हुनुपर्छ, सबै मिलेर साम्राज्यवादी नीतिको विरोध गरिरहनुपर्छ ।
साम्राज्यवादी देश या शक्तिले जतिसुकै प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकारको कुरा उठाए पनि हिंस्रक स्वभाव छोड्दैन । आफ्नो आक्रामक हात खुट्टा चारैतिर फैलाएर अमेरिका अरू स्वाधीन र सार्वभौम देश या आफ्नो विचारभन्दा फरक विचारको देश या आफ्नो कुरा नमान्ने देशहरूमा लुटपाट मच्चाउँछ, आन्तरिक द्वन्द्व बढाउँछ र त्यो देशलाई कमजोर पार्ने प्रयास गरिरहेको हुन्छ । अफगानिस्तान, लिविया, इराक आदि देशको आक्रमणमा संयुक्त राज्य अमेरिकाको हात छ । यस अर्थमा अमेरिका आक्रामक देश हो । साम्राज्यवादी देशले अरू कुनै देशमा भित्री मनदेखि सहानुभूति जनाउँदैन । सहानुभूति जनाए पनि त्यसभित्र अर्को स्वार्थ रहेको हुन्छ । संयुक्त राज्य अमेरिकाले अहिलेसम्म गरिरहेको काम यस्तै आक्रामक ढङ्गको छ । अरूको विकास या प्रगति हेर्न नचाहने, प्रगतिमा बाधा हाल्ने देश अमेरिका हो । अमेरिकाले क्युवामा मात्र होइन प्रजग कोरियामा पनि आर्थिक नाकाबन्दी गरेको दशकौँ भयो ।
साम्राज्यवादको जीवनको आधार नै उपनिवेशमाथिको शोषण र लुट हो । अरू देशमा आक्रमण गरेर पेट्रोलियम पदार्थ आफ्नो नियन्त्रणमा लिनु यसको दृष्टान्त हो । दोस्रो विश्व युद्धपछि उपनिवेश पुनः प्राप्त गर्न साम्राज्यवादी देशले सहयोगको नाममा नयाँ स्वाधीन देश र विकासशील देशमा पुँजी लगानी गरेर नाफा कुम्ल्याउने प्रयास ग¥यो । साम्राज्यवादी देश अरू देशमा रहेको कच्चापदार्थमा आँखा गाड्छ र आर्थिक बजार आफ्नो हातमा पार्छ । अमेरिकी सरकारको नियन्त्रणमा रहेको एक कम्पनीले नेपालमा एमसीसी सम्झौता गरेर सहयोग गर्ने बहानामा नेपालका खानीहरूमाथि आँखा गाड्न लागेको कुरा सञ्चारमाध्यममा आएकै हो । बहुराष्ट्रिय कम्पनीको काम पुँजीवादी शोषण अझ व्यापक बनाउने र साम्राज्यवादीको थिचोमिचो अझ बढाउने हो ।
साम्राज्यवादी देशहरू अरू स्वाधीन र सार्वभौम देशहरूमा कहिले आक्रमण गर्छन् त, कहिले आक्रमणको धम्की दिन्छन् । अरू देशमा नाकाबन्दी गर्ने, सेना तैनाथ गर्ने, कचिङ्गल बनाएर द्वन्द्व चर्काउने काम साम्राज्यवादी देशहरूले गरिरहेका छन् । यसरी संसारमा आतङ्क मच्चाउने आक्रामक देशको दबाबमा परेर, धम्कीमा परेर नेपाल सरकारले जबरजस्त एमसीसी सम्झौतामा हस्ताक्षर गर्यो र अमेरिकी सरकारलाई खुसी पार्ने काम ग¥यो । अझ नेपालले देशको असंलग्न नीतिविपरीत रूस–युक्रेन युद्धमा युक्रेनको समर्थन ग¥यो । यो नेपाल सरकारको आत्मसमर्पण हो । नेपाल सरकार साम्राज्यवादी देशको पछि लाग्नु गलत हो । यसबारे विश्वका न्यायप्रेमी सरकार र जनता एकजुट हुनुपर्छ ।
Leave a Reply