भर्खरै :

ललितपुर महानगरको सुनाकुठीमा चुनावी सभा

ललितपुर, २६ वैशाख । नेमकिपा ललितपुर निर्वाचन परिचालन समितिको आयोजनामा सोमबार ललितपुर महानगरको सुनाकुठीमा चुनावी सभा सम्पन्न भयो ।
सभामा पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले निर्वाचन जनताको राजनीतिक चेतनास्तर नाप्ने ब्यारोमिटर भएको प्रस्ट्याउनुभयो ।
उहाँले भन्नुभयो, “देशघाती एमसीसी सम्झौताको समर्थन गर्ने पार्टीहरूलाई मत दिनुहुन्न । नेमकिपाको घोषणापत्रमा अमेरिकी सैन्य मोर्चा, एमसीसीको विरोध, भारतीय एकाधिकार पुँजी र विस्तारवादको विरोध र पालिकामा विजयी नेमकिपाका जनप्रतिनिधिहरूले गर्ने कामबारे उल्लेख छ ।”
“शासक दलहरूले जस्तापाता र सारी वितरण, मासुको पोका वितरण, चामल वितरण गरेर विर्नाचन आचारसंहिता उल्लङ्घन गर्दै छन् । तर, निर्वाचन आयोग निरीह अवस्थामा छ । नेकाका नेतृ आरजु राणाले प्रत्येक पालिकाबाट ५–६ जना मलेशियाको काममा निःशुल्क पठाउने आश्वासन दिएको पनि अचारसंहिताको उल्लङ्घन हो”, सचिव सुवालले भन्नुभयो ।
नेका र एमालेको नेतृत्वको अलगअलग निर्वाचन गठबन्धन बहुदलीय प्रजातन्त्रविपरीत निरङ्कुशताको गठबन्धन भएको सचिव सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ललितपुर महानगरपालिकामा विजयी नेमकिपाका प्रतिनिधिहरूले पार्टीको घोषणापत्रअनुसार इमानदारीपूर्वक सेवा गर्ने भएकोले नेमकिपाका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गर्दछु ।”
नेमकिपा ललितपुरका अध्यक्ष राजवीर डंगोलले नेमकिपा देशभक्त र कामदार जनताको पार्टी भएको चर्चा गर्नुहुँदै पार्टी उम्मेदवारहरूलाई मत दिन आह्वान गर्नुभयो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार अशोक महर्जन र उपप्रमुख पदका उम्मेदवार ममिता श्रेष्ठ, सविन ख्याजू, नरेश महर्जन, मानभक्त महर्जन, महेन्द्र ब्रह्माचार्य लगायतले नेमकिपाका उम्मेदवारहरूलाई मतदान गर्न आह्वान गर्नुभयो ।
कार्यक्रम अगाडि सुनागुठी बजार क्षेत्रमा घरदैलो कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *