निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
अघिल्लो चुनावमा जोरजुलुम गरी भरतपुर महानगरपालिको मेयरमा प्रचण्डपुत्रीलाई जिताइएको घटना अहिले पनि चर्चित छँदै छ । यसपटक पनि केन्द्रमा नेका÷माकेको ‘स्वार्थबन्धन’–गठबन्धन भएका कारण मेयरको टिकट फेरि पनि प्रचण्डपुत्रीलाई नै दिइयो । यसले भरतपुरमा चर्चाको अर्को तरङ्ग ल्यायो । काङ्ग्रेसका असन्तुष्ट पक्षले लोकप्रिय नेता जगन्नाथ पौडेललाई रेनु दाहालविरूद्ध चुनावी मैदानमा उठाएपछि चर्चाको लहर झन् बढ्यो । केन्द्रबाट ठूला नेता आएर दबाब दिँदा पनि जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिएपछि ‘भरतपुर चर्चा’ को पारो झनै बढ्यो । गत बिहीबारको चुनावी सभामा प्रचण्डले तानाशाही शैलीमा, “… …तर देश दुर्घटनामा पर्ने खतरा छ” भन्दिएपछि त झन् भरतपुरको चर्चा देशको कुनाकाप्चासम्म फैलिएको छ । प्रचण्डले त मत तान्नका लागि आवेशमा आएर त्यस्तो धम्की दिएका थिए होलान्, तर त्यो ‘प्रचण्ड वाणी’ यतिखेर, अर्कालाई ताकेको ढुङ्गा आफ्नै पुर्पुरोमा आएर बज्रेजस्तो भएको छ ।
कसैले जागिर खाएका होलान् । कसैले पैसा खाएका होलान् । कसैले पद पाउने आश्वासन पाएका होलान् । बाँदरमुडे घटना बिर्सन नसकेर, कोही कोही त उक्त ‘प्रचण्ड वाणी’ ले थर्किएका पनि होलान् । तिनीहरू सबै दाहालपुत्रीको पक्षमा हुने भइहाले । बाँकी सर्वसाधारण भरतपुरे मतदाता, पछिल्लो ‘प्रचण्ड वाणी’ कै कारण भड्किएर दायाँबायाँ लाग्नु स्वाभाविकै हो । तीमध्ये कति जगन्नाथ पौडेलको अडान, इमान र आस्थालाई सम्मान गर्ने भन्लान् । कति एमालेका विद्वान् र शालीन उम्मेदवार विजय सुवेदी पक्षधर बन्लान् । यी दुईमध्ये जसले जिते पनि चितवने जनतालाई आपत्ति नहुने पनि बताइन्छ ।
यसै सन्दर्भमा चर्चित गायक कुमार बस्नेतको एउटा उत्ताउलो र छाडाजस्तो लाग्ने एउटा गीतको सम्झना आयो :
बलियो गरी ठूले झ्यालढोका थुन् !
आजकलका केटा उत्ताउला हुन् !
धुरीमा बसेर कराउलान् !
दिउँसै छोरी हराउलान् !
लैबरी लै ! लैबरी लै लै लै !!
देउवासँग पावर छ, दाहालसँग पैसा छ । यतिखेर यी दुवैको चोचोमोचो मिलेको अवस्था छ । त्यसैले, यो अवस्थामा कथित गठबन्धन पक्कै पनि टुलुटुलु हेरेर बस्न सक्नेछैन । भ्रष्टाचारमा कहलिएको र ‘दरबार हत्याकाण्ड’ मच्चाइएको देश हो यो । आफ्नो हार हुने सङ्केत पाउनासाथ त्यहाँ मतपत्र च्यातिएला । बाकस थपिएला । बाकस साटिएला । बत्ती निभाइएला । पिसाब फेर्न पठाइएला । केही नचले मतगणना भवनको छाना नै भत्काएर भए पनि ‘काम तमाम’ गरिएला । त्यसैले, कुमार बस्नेतको गीत सम्झेर भए पनि, भरतपुरको मतगणनास्थललाई निष्पक्ष ढङ्गले कडा सुरक्षा गर्दै, अन्तर्राष्ट्रिय पर्यवेक्षक झिकाउने बन्दोबस्तसमेत मिलाइहाल्नु प¥यो ।
Leave a Reply